arrow

शीतभण्डार सञ्चालनमा आएपछि किसानलाई सहज

logo
प्रकाशित २०७५ पुष २ सोमबार
dang_district_map.png

लमही ।दाङको लमहीमा शीतभण्डार सञ्चालनमा आएपछि किसान खुशी भएका छन् । तरकारीका लागि लमही पकेट क्षेत्र भए पनि शीतभण्डार नहुँदा कुहिएर जाने अवस्थाको अन्त्य भएको लमहीका किसान शनिराम चौधरीले बताए। “हामीले योभन्दा पहिले धेरै तरकारी कुहिएर त्यसै फाल्नु परेको थियो”, उनले भने, “शीतभण्डार सञ्चालनमा आएपछि अब तरकारी कुहिने डर छैन ।” उनले अहिले शीतभण्डारमा चार हजार ७५० किलो आलु भण्डारण गरेका छन् ।

अब आफूले उत्पादन गरेको तरकारी र बीउलाई कुहिनबाट जोगाउन सहज भएको अर्का किसान खुशीराम चौधरीले बताए । “यसअघि धेरै तरकारी बिक्री नहुने र भण्डारण गर्ने ठाउँ नहुँदा कुहिएर फाल्नुपर्ने अवस्था थियो, बीउ पनि काठमाडौँबाट ल्याउनुपर्ने अवस्था थियो”, उनले भने, “अब भने त्यो अवस्थाको अन्त्य भएको छ ।”

लमही नगरपालिका–३ टिकुलीगढमा प्रदेश ५ कै सबैभन्दा धेरै भण्डारण क्षमता भएको शीतभण्डार सञ्चालनमा आएको हो । साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजना नेपालगञ्जको रु दुई करोड ९९ लाख ४२ हजार र राप्ती उद्यम प्रालिको संयुक्त गरी करीब रु नौ करोड ६८ लाख ५० हजार लगानीमा तीन हजार २०० मेट्रिकटन भण्डारण क्षमता भएको शीतभण्डार सञ्चालनमा आएको हो ।

राप्ती उद्यम प्रालिका अध्यक्ष देवानजङ्ग चौधरीका अनुसार अहिले परीक्षणका रुपमै शीतभण्डारबाट किसानलाई सेवा दिइएको छ । भण्डारमा तीनवटा मल्टिचेम्बर रहेको अध्यक्ष चौधरीले जानकारी दिए। उनका अनुसार गत फागुन महीनादेखि आलु, फलफूल तथा धान भण्डारण गरिएको छ ।

परीक्षणकै रुपमा १२३ मेट्रिकटन आलु सुरक्षित भण्डारण गरिएको हो । आउँदो माघ महीनादेखि दाङ, प्यूठान, सल्यान, रोल्पा, अर्घाखाँची तथा कपिलवस्तुका किसानको कृषिजन्य वस्तु भण्डारण गरिनेसमेत अध्यक्ष चौधरीको भनाइ छ । “हामीले प्रदेशकै सबैभन्दा बढी क्षमताको शीतभण्डार सञ्चालनमा ल्याएका छौँ”, उनले भने, “उक्त शीतभण्डारमा प्रदेशका सबै किसानको कृषिजन्यवस्तु भण्डारण गर्ने लक्ष्य लिएका छौँ ।”

शीतभण्डारमा बीउ आलुका लागि एक हजार ६०० मट्रिकटन, खाने आलुका लागि एक हजार मेट्रिकटन र तरकारी तथा फलफूलका लागि ६०० मेट्रिकटन क्षमता भएको अलगअलग चेम्बर रहेको अध्यक्ष चौधरीले बताए।

यसैबीच भण्डारको प्रदेससभा सदस्य रेवतीरमण शर्माले अवलोकनसमेत गरेका छन्। त्यसअवसरमा लमहीमा शीतभण्डार सञ्चालनमा आउनु राम्रो कुरा भएको भन्दै यसमा आफूले पनि प्रदेश सरकारबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । रासस

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ