arrow

महँगीको मारमा विद्यार्थी, ‘भन्छन्न् अड्कलेको खर्चले पुग्नै छाड्यो’

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७५ पुष ३ मंगलबार
mahangi_new.JPG

पाल्पा । रतानसेन ३ भगवतीटोलमा कोठा भाँडामा बस्दै आएकी स्मृति भट्टराईलाई महंगीले आक्रान्त पारेको छ । विगत दुई वर्षदेखि स्याङ्जाको मिर्मिबाट अध्ययनका लागि तानसेनमा बस्दै आएकी भट्टराई त्रिभुवन बहुमुखी क्याम्पस विएड दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी हुन् । उनी बजारमा भाउ अचाक्ली बढेको बताउँछिन् । घरबाट बुवा आमाले ६ महिनाका लागि भनेर अड्कलेर खर्च पठाइदिनुहुन्छ तर महंगीले गर्दा त्यो खर्चले तीन महिना पनि धान्न धौंधौं हुने गरेको भट्टराईले बताइन् ।

 उनी भन्छिन् ‘साँझ, बिहानको तरकारी किन्नकै लागि साथमा दुई सय रुपैयाँ नभएसम्म हुँदैन । यसरी बजारमा बसेर पढ्न नसक्ने अवस्था आयो ।’ भट्टराई मात्रै होइन अध्ययनका लागि घर छाडेर बजार आएका सामान्य परिवारका विद्यार्थीहरुलाई महंगीले सास्ती खेप्नु परेको छ । सरकारको बजेट भाषण कानमा नपर्दै बढेको बजार भाउले सामान्य आय हुने परिवारका विद्यार्थीहरुको ढाड सेकिएको हो । दैनिक भान्सामा चाहिने सामान किन्न बजार निस्कने हो भने, खल्ति मोटो नपारी सुखै छैन ।

व्यापारीले बजेट भाषण लगत्तै बढेको भाउमा सामान बेच्न थालिहाले । सरकारले कर बढाएको बहानामा गरिएकोे अस्वभाविक मूल्यवृद्धिलाई लिएर अहिले विद्यार्थीहरु र समान्य आय भएका उपभोक्ताहरु आक्रान्त छन् । बजेट लगत्तै चौतर्फी मूल्य वृद्धि भएपनि सरकारको सर्भेक्षणले उल्टै मूल्यवृद्धिको स्वागत गरेको छ । सरकारी अध्ययन तथा सर्भेक्षणले महँगी बढेको फेला पार्दै पारेन । बजार अनुगमन तथा मूल्य नियन्त्रण गर्ने जिम्मा पाएका जिल्ला प्रशासन, घरेलु कार्यालय, उद्योग वाणिज्य संघ र स्थानीय प्रशासनहरुले नै सामान्य मूल्य वृद्धि स्वभाविक भएको, मूल्यवृद्धिमा मौन समर्थन गरेका छन्  ।

अत्यावश्यक दाल, चामल, तरकारीजस्ता उपभोग्य वस्तुमा कर नबढेको भएपनि भाउ अचाक्ली बढेको कुरा जिल्लाका खुद्रा व्यापारीहरूनै स्वीर्काछन् । बजेटको बहानामा मनोमानी मूल्य वृद्धि गरे पनि सरकार उपभोक्ताको गुनासो सुन्न छोडेर उल्टै मूल्यवृद्धिको बचाउमा उत्रिएको छ । पाल्पा इन्जिनियरि· कलेजमा ओभरशेयर तेस्रो वर्ष पढ्दै गरेका कैलाली टीकापुरका रवि साउत बजारमा भाउ अत्याधिक बढेको बताउँछन् । उनी भन्छन् ‘खर्चको त कुरै नगरौँ । घरबाट अड्कलेर ल्याएको खर्चले महिना दिन पनि नपुग्दा तनाव हुन्छ । पढ्न भनेर किताब लिएर बसो पठाईमा भन्दा साँझ विहानका लागि खानकै चिन्ता हन्छ ।’

सनफ्लावर तेल पहिले एक सय ३७ रुपैयाँ थियो । अहिले एक सय ६० पर्न थाल्यो । जिरा मसिनो चामल २५ किलोको पहिले १६ सय रहेकोमा अहिले १८ सय ५० पुगेको छ, उनले सुनाए । दिनमा कति खर्च हुन्छ, उपभोग्य सामानमा मात्रै ? जवाफमा उनले भने ‘मोटामोटी पहिले दुई सयले एक जनालाई पुग्थ्यो भने । अहिले दोब्बर भयो । चार÷पाँच सय त चाहियो नै ।’ साउतले भने ‘आफ्नो कमाई नभए पछि घरकै खर्चमा आश्रित हुनुपर्दा तनाव हुँदो रहेछ । सरकारले भाउ बढाउन मात्रै जानेको छ । रोजगारी दिन जानेको छैन ।’

तानसेनको मखनटोलमा कपडा किन्दै गरेका गुल्मीका सागर न्यौपानेले भने, ‘पोहोर सालभन्दा त महँगी धेरै नै बढेको रहेछ । पोहोर साल किनेको जस्तो एउटा पाइन्ट किनौं भनेर भाउ सोधेको त ३–४ सय नै महँगो पर्न गयो । हामी जस्ता विद्यार्थी कसरी बजारमा बस्नु, महँगीले आकाश छोयो ।’ बजार महँगीनुमा सरकार नै दोषी रहेको उनको बुझाइ छ । तानसेनको कैलाशनगर बस्दै आएकी अर्की विद्यार्थी शर्मिला खत्री किराना पसलमा थिइन् ।

उनले पसलेसँग बार्गे्निङ गर्दै भनिन् ‘तीन महिना अघि एप्पल ब्राण्डको चामल २५ किलाको १२ सय ५० मा किनेको, किन अहिले १५ सय ५० रुपैयाँ ? उनले आश्चर्य प्रकट गर्दै पसलेसँग बार्गे्निङ गर्दै भनिन्, यसरी किलोमा १२ रुपैयाँ ? मिलाएर दिने भए लिन्छु नत्र लिंदिनँ ।’ दैनिक उपभोग्य सामाग्रीको मूल्य दिन–प्रतिदिन बढिरहेको छ । नुनदेखि सुनसम्म आयातमा निर्भर नेपाली बजार वर्षै्पिच्छे महँगिंदो छ । एकाएक मूल्य बढ्दा उपभोक्तासँगै व्यवसायी पनि आजित भएका छन् । नेपालीको महान् चाडपर्व दशैं, तिहार यता उपभोग्य सामग्रीको थोक मूल्य नै निकै वृद्धि भएको स्वयं व्यवसायी बताउँछन् । सरकारी निकायका अधिकारी निरन्तर बजार अनुगमन गरिरहेको दावी गर्छन् । तर अनुगमन नै कर्मकाण्डी जस्तो भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ