- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली काङ्ग्रेसकी महासमिति सदस्य लक्ष्मी खतिवडाले नेतृत्व गर्न तिघ्रा कमाउनेले पार्टी छाड्नुपर्ने बताएकी छिन् । नेपाली काङ्ग्रेसको जारी महासमिति बैठकमा बोल्दै उनले पार्टी नेतृत्व नसच्चिए कार्यकर्ताको शिर ठाडो नहुने बताइन् ।
सुनसरी क्षेत्र नं १ की महासमिति सदस्य खतिवडाले नेताहरूप्रति खबरदारी गर्दै भनिन, ‘जँघार तर्नेले खुट्टा कमाउन हुँदैन । तिघ्रा कमाउने हो भने नेतृत्व छाड्नुपर्छ । केपी ओली नेतृत्वको सरकारलाई हाराबारा तोरी खेलाउन काङ्ग्रेसका हरेक कार्यकर्ता सक्षम छन् ।’
एउटा सामान्य कार्यकर्तादेखि पार्टी सभापतिसम्म विधानले बाँधिनुपर्ने भन्दै उनले विधानको विरुद्धमा पार्टी अगाडि बढे सङ्कट आइपर्ने बताइन् । नेताहरू संयमित भएनन् र नेताहरूको कद घट्यो भने आफ्नो पनि कद घट्ने भन्दै कार्यकर्ताको लागि भए पनि नेतालाई संयमित भएर काम गर्न उनले आग्रह गरिन् ।
भातृ संस्थाहरू निस्क्रिय भइरहेको बेला भातृसंस्थालाई सक्रिय बनाएर सरकारको विरुद्धमा खबरदारी गर्न लगाउन उनले आग्रह गरिन् ।
निर्मलाका निम्ति न्यायको आन्दोलनमा हातमा चोट लागेको स्मरण गराउँदै उनले भनिन्, ‘भ्रातृसंस्थालाई सडकमा उतार्नुस् हामी रगत बगाउन तयार छौँ । बढ्दो महङ्गी र भ्रष्टाचारका विरुद्ध भातृ संस्था परिचालन गर्नुस् त्यसको लागि हामी तयार छौं ।’