arrow

मार्मा विद्युत्‌को राष्ट्रिय प्रसारण लाइनमा

logo
प्रकाशित २०७५ पुष ५ बिहिबार
darchula.png

दार्चुला । विद्युत्‌को राष्ट्रिय प्रसारण लाइनमा नजोडिएको दार्चुलाको मार्मा गाउँपालिका पहिलोपटक विद्युत्को प्रसारण लाइनमा जोडिएको छ । दार्चुला वितरण केन्द्रअन्तर्गत शिखरको बलाँचदेखि मार्मा गाउँपालिकाको लटिनाथसम्मको ११ केभी प्रसारण लाइन जोडिएपछि मार्मा विद्युत्को राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो ।

गाउँपालिकाको विभिन्न क्षेत्रमा ग्रामीण विद्युतीकरण भएसँगै अहिले प्रसारण लाइनको परीक्षण भइरहेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र दार्चुलाले जनाएको छ ।

उक्त क्षेत्रमा पर्ने विद्युतीय उपकरणमा विद्युत् चार्ज प्रवाह भइरहेकाले पोल र तार नछुन विद्युत् प्राधिकरण दार्चुला वितरण केन्द्रले आग्रह गरेको छ । विद्युत्को राष्ट्रिय प्रसारण लाइनअन्तर्गत अहिले मार्मा गाउँपालिका–४ मा बिजुली बत्ती बालिएको दार्चुला वितरण केन्द्र प्रमुख दयाराम शाहले जानकारी दिए ।

चमेलिया जलविद्युत्बाट मार्मा गाउँपालिकासम्म अहिले एक मात्रै ट्रान्सर्फमर राखेर बत्तीको परीक्षण गरिएको छ । बत्ती पुगेको क्षेत्रमा केही दिनमै मिटर वितरण शुरु हुने शाहको भनाइ छ । अहिले सफलरुपमा प्रसारण लाइन जोडिएको छ, उनले भने, “मिटर सबैले लगाएपछि पहिलो चरणमा ५०-६० घरधुरीमा बत्ती दिइन्छ ।”

मार्मा गाउँपालिका–४ मर्मती, वडा नम्बर ६ शेरी, वडा नम्बर ३ को लटिनाथ बजार, रिल, बजानी, बिटुले, च्युरानी, गाउँपालिका कार्यालय र नालाबगडलगायतका स्थानमा विद्युतीकरणको काम अन्तिम चरणमा पुगेसँगै स्थानीय घर, पसलमा वायरिङ गर्न थालेका छन् ।

आर्थिक वर्ष २०७४-०७५ मा नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र दार्चुलासँग सम्झौता गरेर काम शुरु गरेको लटिनाथ एण्ड जोशी निर्माण सेवाले उक्त क्षेत्रमा विद्युतीकरणको काम गरेका थियो ।

अहिलेसम्म राष्ट्रिय प्रसारणको विद्युत् नपुगेको मार्मामा पछिल्लो समय विद्युतीकरणमा प्रगति भएर परीक्षणको कामसमेत हुँदा स्थानीयवासी खुशी भएका छन् स्थानीय देवसिंह महराले भन्नुभयो । ढिलै भए पनि विद्युत्को सफल परीक्षण भएको छ । गाउँपालिकाको लागि थप चार पाँच वटा ट्रान्सर्फमर राख्न सके सबैको घरमा बत्ती पुर्‍याउन सकिन्छ ।

चालू आवमा समेत मार्मा गाउँपालिकामा विद्युतीकरणका लागि रु एक करोड बजेट नियोजन भएको छ । अहिले मार्मा गाउँपालिकालगायत बजार क्षेत्रमा विद्युत् पुगेको मार्मा गाउँपालिकाका सव इञ्जिनीयर विक्रम जोशी बताउछन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ