- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
बाजुरा । जिल्ला सदरमुकाम मार्तडीमा सुविधा सम्पन्न निर्माण हुन लागेको ५० शैयाको अस्पतालको कार्यमा अवरोध पुगेको निर्माण कम्पनीले बताएको छ । अस्पताल निर्माणका लागि बाउली खोलादेखि जिल्ला अस्पताल बाजुरासम्म आउने बाटो बडीमालिका नगरपालिकाका स्थानीयहरुले बन्द गरेपछि ५० शैयाको अस्पताल निर्माण गर्ने पहिलो कार्यमै अवरोध भएको पी एस कन्टक्सन कम्पनीका प्रतिनिधी हरिस मडैले जानकारी दिए।
उनले दिएको जानकारी अनुसार अस्पताल निर्माणका लागि आवश्यक सामग्री निर्माण कार्य सामग्री ल्याउन खोज्दा बाटो अवरुद्ध भएपछि अस्पताल निर्माण कार्यमा समस्या भएको मडैले बताए। पचास शैयाको अस्पतालका लागि सिमेन्ट,बालुवा,ढुंगा लगायतका सिरया समेत ढुवानी नहुँदा अस्पताल निर्माण कार्य ठप्प भएको मडैको भनाई रहेको छ ।
पीएस कन्ट्रक्सनका प्रतिनिधी मडैले एक महिना पहिले साफे मार्तडी सडक खण्डबाट ठगुन्नाको घर हुदै अस्पताल जोड्ने बाटो निर्माण गरी सामान ढुवानी गर्न सहज वातावरण बनाउने सर्वपक्षिय बैठकबाट पारित भएपनि त्यो कार्यान्वयन नहुँदा निर्माण कार्य अवरोध भएको बताए ।
जिल्लामा पहिलो पटक सुविधा सम्पन्न अस्पताल निर्माणका २९ करोडको लागतमा ४ वर्ष निर्माण सम्म सम्पन्न हुने गरी क्षेत्रीय स्वास्थ्य निर्देशनालयको आर्थिक सहयोगमा निर्माण हुन लागेको बताइएको छ । अस्पताल निर्माण कार्यमा अवरोध भएमा ६ वर्ष सम्म लाग्ने कम्पनीले जनाएको ।
यता प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जिल्लामा सुविधा सम्पन्न ५० शैयाको अस्पताल निर्माण हुन लागेकाले सबैले सहयोग गर्नूपर्ने बताए । अस्पताल निर्माणका लागि बाटो नै अवरोध गर्नु गैर कानुनी भएकाले तत्काल बाटो अवरोध गर्ने स्थानीयहरुसंग छलफल गरी समाधान गर्ने बताए ।
विकास निर्माण कार्यमा अवरोध पुर्याएमा प्रहरी समेत परिचालन गरी अवरोध बाटो संचालन गर्ने प्रमुख जिल्ला अधिकारी बरालको भनाई रहेको छ । बडीमालिका नगरपालिकाका स्थानीयहरुले भने अस्पताल बनाउने बाहाना छोटो बाटोबाट मार्तडी कोल्टी सडक संचालन गर्न खोजेको आरोप लगाउदै बाटो बन्द गरेको बताएका छन् । छोटो बाटो भन्दा बजार नै घुमेर सामान ल्याउन भए निर्माण कार्यलाई कुनै बाधा नपुर्याउने बताइएको छ ।