arrow

वाईडबडी खरिदमा एक रुपैयाँपनि भ्रष्टाचार भएको छैन, नेताहरुले नबुझी टिप्पणी गरे : कंसकार

logo
प्रकाशित २०७५ पुष १२ बिहिबार
kansakar.jpg

काठमाडौं । नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसकारले वाईडबडी जहाज खरिदमा एक रुपैयाँपनि भ्रष्टाचार नभएको दाबी गरेका छन् । खरिद प्रक्रिया प्राविधिक विषय भएकोले शीर्ष नेताहरुले नबुझीकन किन प्रतिक्रिया दिएको भन्दै उनले प्रश्न पनि गरे । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै महाप्रबन्धक कंशकारले भने,‘यो त प्राविधिक विषय हो । शेरबहादुरजी र बाबुरामजीले किन कुरा उठाउनुभयो ? मलाई आश्चर्य लागेको छ । म यो विषयमा भेटेरै देउवाजीसँग कुरा गर्छु । उहाँले नबुझीकन कसरी बोल्नुभयो ?’

उनले भने,‘त्यो त उहाँहरुको कुरा हो । उहाँहरुको कुरा सुन्दा मलाई पनि अचम्म लाग्यो । सर्वोच्च अदालतले एउटा निर्णय दिईसकेको अवस्थामा, उहाँहरुले के कति कारणले त्यसो भन्या होला ? यसमा राजनीतिक कारणपनि हुनसक्छ ।’लेखा समितिबाट एउटा निचोड आएपछि नेताहरुले पनि ठीकै छ भनेर प्रतिक्रिया दिने उनले दाबी गरे । उनले भने,‘हामी त त्यही आश गरेर बस्ने हो ।’ उनले वाईडबडी खरिद प्रक्रियामा सर्वोच्च अदालतले खरिद प्रक्रिया नियम, कानुनअनुसार नै रहेको भनेर फैसला गरेको स्पष्ट पारे । उनले भने,‘सर्वोच्च अदालतले हामीले सबै प्रक्रिया पूरा गरेर नियम र ऐनअनुसार नै जहाज खरिद भएको हो भनेर २०७४ मंसिरमा निर्णय गरिसकेको छ ।’
 
२ वटा वाईडबडी खरिदको लागि पहिलो किस्ता पठाउनुअघि संसदको अन्तर्राष्ट्रिय समितिले मन्त्रीसहित आफूहरुलाई बोलाएको कुरा उल्लेख गर्दै उनले भने,‘त्यसपछि एकपटक सार्वजनिक लेखा समितिले पनि हामीलाई बोलायो । त्यतिनै बेला अख्तियारबाट १७ वटा प्रश्न राखेर पत्र आएको थियो । त्यसको पनि हामीले सम्पूर्ण जवाफ पठायौं । त्यसपछि हामीलाई तीन वटा निकायबाट यसो नगर, उसो नगर भनेर पत्र पनि आएन । त्यही भएर हामीले खुरुखुरु काम गर्यौं । विमान खरिद प्रक्रियापनि विकास निर्माणको काम हो ।’

कंसकारले वाईडबडी जहाज खरिदमा भ्रष्टाचार नभएको दावी गर्दै आफूले पदबाट राजिनामा नगर्ने पनि दाबी गरे । इतिहासमै सबैभन्दा कम मुल्यमा जहाज खरिद गरेको दावी गर्दै उनले बिरोध गर्नेहरुले कुरै नबुझेको बताएका छन् । कंशाकारले प्राबिधिक कुरा नबुझि हल्लाको पछि नलाग्न नेताहरुलाई सुझाव दिएका छन् । सर्बोच्च अदालतको आदेशभित्र रहेर बिमान खरिद गरिएको दावी गर्दै उनले संसदको लेखा समितीले पनि ‘क्लिन–चिट’ दिने विश्वास दिलाए । पत्रकारहरुको जिज्ञासामा कंशाकारले घुमाउरो पारामा बिरोध गर्नेहरुको वास्तविकता आफुलाई थाहा भएको भन्दै समय आएपछि भित्रि कुरा बाहिरीने संकेत गरे ।

उनले निगमले १ हजार घण्टा उडान भरेको जहाज भित्र्याएको स्विकार गरेका थिए । यद्धपी उनले उक्त जहाज ‘ब्राण्ड–न्यू’ भएको पनि दाबी गरे  । उनले बिमानको भारहन क्षमता २४२ टनको भएपनि हाल २३० टन मात्रै रहेको पनि स्विकार गरेका छन् । वाईडबडी खरिद प्रक्रियाबारे अहिले विभिन्न टिकाटिप्पणी भैरहेको उल्लेख गर्दै उनले यो लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष भएको दाबी गरे । उनले भने,‘विमान खरिदको बोलपत्र प्रक्रिया ठिक छ भनेर सर्वोच्च अदालतले भनिसकेको छ ।’ अदालतको लिखित फैसला नै पत्रकारहरुसमक्ष पढेर उनले सुनाएका थिए । रविन्द्र अधिकारी मन्त्री भएर आएपछि १६ अर्ब रुपैयाँ पठाएको उनले दाबी गरे । उनले भने,‘२०७५ साल असार १३ गते ८ अर्ब र २०७५ साल साउन ९ गते ८ अर्ब गरी १६ अर्ब रकम गयो ।’

भुक्तानीको सवालमा महालेखापरीक्षकले आफूहरुसँग यो विषयमा अहिलेसम्म कुनै छलफल नै नभएको भनेर बोलिसक्नुभएको छ, यो विषयमा स्पष्ट पारिदिनुहोस त ? भनेर सोधेको अर्को प्रश्नमा उनले भने,‘मन्त्रीज्यूले चाहीँ यो विषयमा अस्ति बोल्नुभएको रैछ, मैले सुनेअनुसार होईन अब सरसल्लाहमा भुक्तानी भएको छ भनेर भनेजस्तो लाग्यो मलाई, तर त्यसमा के हो ? उहाँहरु दुई जनाको कुराको मैले यहाँ जवाफ दिन मिल्दैन । यो त ठूलो मान्छेहरुको विवाद हो । म त सानो मान्छे हुँ ।’

उनले भुक्तानी गर्नुअघि नेपाल वायु सेवा निगमले महालेखापरीक्षकलाई जानकारी भने नगराएको स्पष्ट पारे । उनले भने,‘जानकारी गराएको थिएनौं । तर, महालेखापरीक्षकले सोधेको दुई चार वटा प्रश्नमा हामीले जवाफ दिएका थियौं । तर, भुक्तानी दिने बेलामा महालेखालाई सोध्नुपर्छ भन्ने त छैन । सोध्न जरुरीपनि छैन ।’

वाईड बडी असफल बनाउने तत्वहरु रहेको र त्यसप्रति आफू जानकार रहेको पनि उनले स्पष्ट पारे । यद्धपी उनले कुन–कुन तत्व लागेको हो भनेर नाम भन्न नमिल्ने बताए । आफूलाई विमान खरिद प्रकरणमा ६ अर्बको भ्रष्टाचारको आरोप लागेपनि यसमा कुनै सत्यता नभएको पनि उनले जिकिर गरे । उनले भने,‘यो खरिदमा एक रुपैयाँपनि भ्रष्टाचार भएको छैन । शुन्य कमिशनमा खरिद गरिएको हो ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ