arrow

पारस पछि नेपाली क्रिकेटको सारथी बन्लान सन्दिप ?

logo
हाम्राकुरा डेस्क,
प्रकाशित २०७५ पुष १४ शनिबार
nepali-cricket-team-new-.jpg.jpeg.jpeg

काठमाडौं। नेपाली क्रिकेट भन्ने बित्तिकै पारस खड्का भनेर चिनिने समय फेरिंदै सन्दिप लामिछाने हुन थालेको छ। कुनै समय नेपाली क्रिकेट र पारस खड्का पर्यायवाची जस्ता थिए। पारसले नेपाली क्रिकेटमा दिएको योगदान अतुलनीय छ ।

पारसले क्रिकेटलाई नेपाली माझ चिनाउन ठुलो योगदान गरेका छन् भने सन्दिपले नेपाली क्रिकेटलाई विश्व माझ चिनाउँदै छन्। अष्ट्रेलियामा बिग ब्याश लिग खेलिरहेका सन्दिपले अन्तराष्ट्रीय ध्यान तानिरहेका छन्। उनले तीन खेलमा ७ वेकट लिईसकेका छन्। यो प्रदर्शन टि-२० क्रिकेटमा अति नै राम्रो मानिन्छ ।

उनको तारिफ गर्नेमा अष्ट्रेलियन पुर्व क्रिकेट कप्तान माईकल क्लार्क जहिल्यै अगाडी रहन्छन्। उनले सन्दिपलाई अन्तराष्ट्रीय मञ्चमा स्थापित हुन राम्रो सहयोग गरेका हुन्। गत बर्ष दिल्ली डेयर डेविल्समा आबद्ध हुन पनि क्लार्कले सहयोग गरेका थिए। त्यसपछि सन्दिपले पछाडी फर्केर हेर्नु परेको छैन।

सन्दिप अझै अगाडी बढ्नेछन र क्रिकेटको उच्चतम बिन्दुमा पुग्नेछन् भन्ने आशा गर्दा घरेलु क्रिकेटको निरासाजनक स्थिती सम्झिंदा उनले नेपाली क्रिकेटलाई दिने योगदान एक ठाउँमा छ भने उनले नेपाली क्रिकेटबाट के पाउँछन भन्ने प्रश्नले मथिंगल हल्लाउँछ । हामीसँग क्रिकेटलाई हेर्ने अंग नेपाल क्रिकेट संघ पनि प्रतिबन्धित छ । क्रिकेटका प्रशासकहरुको कब्जा र आफ्नो ‘ईगो’ वा ‘जुंगा’को लडाईका लागि ति प्रशासकहरुले क्रिकेट सँघलाई बन्दी बनाएका छन्।

पारस खड्का राम्रा कप्तान मात्र होईनन् । उनी एक कुशल अभिभावक पनि हुन् । उनको नेतृत्वमा नेपाली क्रिकेटमा नयाँ खेलाडीहरु आउने क्रम जारी रहेको छ। क्रिकेटको प्रशासन हेर्ने निकाय नहुँदा एउटा कप्तानको नेतृत्वमा खेलाडी छनौट हुँदा नयाँ खेलाडीहरुले मौका पाउनु भनेको पक्कै राम्रो कुरा हो ।

नेपाली क्रिकेटमा योगदानको कुरा गर्ने हो भने पारस खड्काको नाम स्वर्ण अक्षरले लेखिनेछ। उनले मैदानभित्र र बाहिर गरेको प्रदर्शनहरुले नेपाली क्रिकेट अहिलेको स्थितिमा आइपुगेको हो। यसमा सायद कसैले दुईमत नराख्ला।

यसैगरी नेपाली क्रिकेटमा योगदान दिएका खेलाडीहरुमा पवन अग्रवाल, राजु खड्का, विनोद दास, शक्ति गौचनलगायतलाई पनि बिर्सन सकिँदैन । अहिले नेपाली टोलीमा रहेका ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, सोमपाल कामी, बसन्त रेग्मीलगायतका खेलाडीको योगदान पनि अतुलनीय छ।

स्वदेशभित्र क्रिकेटलाई फैलाउन मदत गरेका खेलाडीहरुलाई सम्भवत राज्यले बिर्सिने छैन भन्ने आशा गर्न सकिन्छ तर क्रिकेट प्रेमीको मनबाट त कहिल्यै ती नामहरु हट्ने छैनन् भन्ने विश्वास लिन सकिन्छ ।

माथि नाम उल्लेखित खेलाडीहरुको योगदानले नै नेपालले अन्तर्राष्ट्रिय एकदिवसीय खेलको मान्यता पाएको छ भने सन्दीप टि–२० फर्म्याटमा विश्वका प्रमुख व्यावसायिक लिगहरु खेलिरहेका छन्।

क्रिकेटलाई नेपालीहरु माझ लैजाने र नेपाली क्रिकेटलाई उकालो चढाउने पारसले कति समय यो भुमिका निभाउन सक्लान् भन्ने प्रश्न प्रमुख हो । धेरै जिम्मेवारी लामो समयदेखि सम्हालिरहेका पारसको पनि आफ्ना सिमाहरु होलान्। त्यसैले बेलैमा क्रिकेटले आफ्नो बाटो बनाएन भने नेपाली क्रिकेट कुनै पनि समय दुर्घट्नामा पर्न सक्ने निश्चित छ।

पारसले एउटा स्तरमा पुर्‍याएको नेपाली क्रिकेटलाइ सन्दिपहरुले अर्को स्तरमा लिएर जानेछन् भन्ने विश्वास गर्न सकिन्छ तर नयाँ पुस्तामा पारसहरुको जस्तो लड्ने क्षमता छ त? भन्ने प्रश्न अगाडि तेर्सिएको छ। पारसहरुले मैदान भित्र र बाहिर दुवै स्थानमा कुसलता पुर्वक क्रिकेटका लागि लडेका छन्।

नेपाली क्रिकेटको रथका सारथि बन्लान त सन्दिप ? पारसले जस्तो कुसलतापुर्वक अगाडी बढाउन सक्लान त नेपाली क्रिकेटलाई ?

पारसहरुको लडाइलाई सन्दिपहरुले अगाडि लैजान्छन वा ब्यवसायीक क्रिकेटको झिलीमिलीमा हराउँछन् समयले बताउने नै छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ