arrow

एमएमसी अर्थात् कीर्तिमानधारी नेपाल च्याम्पियन क्लब

अजब टिमको गजब कीर्तिमान

logo
प्रकाशित २०७५ पुष १४ शनिबार
mmc.jpg

काठमाडौँ । मनाङ–मस्र्याङ्दी क्लब अर्थात् एमएमसी । नेपालको एक कीर्तिमानधारी क्लब । जसका उपमा नै धेरै छन् । त्यस्तो क्लब यदि अनुशासन पनि खेलाडीदेखि पदाधिकारीसम्म भइदिने हो भने यसलाई नेपालको अरु कुनै पनि क्लबले हराउन सक्दैन । 

यदि खेलाडीहरु आफ्नो मर्यादाभित्र बस्न जान्ने हो भने राष्ट्रिय टिममा पनि आधाभन्दा बढी खेलाडी पर्ने थिए । त्यतिमात्र होइन पदाधिकारीमात्रैले पनि यदि अखिल नेपाल फुटबल संघ एन्फासंग राम्रो सम्बन्ध बनाउन जान्ने हो भने वाहीवाहीमा कहींकतै चुक्ने थिएन । 

एमएमसीले अहिलेसम्म नेपालमा भएका आठ वटा शहीद स्मारक ए डिभिजन लिग फुटबल जितेको छ । एमएमसीले जब खेल्न थाल्छ उसले त्यो समयमा रेकर्डमात्र तोड्छ । इतिहास त्यसै भन्छ ।

एमएमसी अधिकांश समय त आन्तरिक किचलोमा फस्छ । कसले नेतृत्व सम्हाल्नेदेखि लिएर प्रूशिक्षक कसलाई सुम्पने सम्मको तनाव एमएमसीले खेप्छ । तर ती कुराबाट मुक्त भयो भने एमएमसीले उपाधि नै जित्छ । फुटबल नै खेल्छ । 

मनाङको इतिहास धेरै लामो नभए पनि जबदेखि खेल्न थाल्यो तहल्कै मच्यायो । २०३८ सालमा मात्र यसको स्थापना भएको थियो । डी डिभिजनबाट खेल्न थालेको यो क्लबले निरन्तर डी, सी, बी र ए डिभिजन नै लगातार जित्यो । अर्थात् २०४२–४३ मा पहिलो पटक ए डिभिजन खेलेको मनाङले उपाधि नै जितिदियो । 

मनाङले त्यसपछि पछाडि फर्कन जानेन । रेलिगेशन हुनु त परै जावस् शीर्ष भित्रै पर्यो । डेब्यू उपाधिपछि संगसंगै अर्को उपाधि निरन्तर जित्यो । अर्थात् २०४३–४४ को उपाधि पनि मनाङले जित्यो । 

बीचमा एक पटक जित्न नसकेको मनाङले २०४६ सालको उपाधि पनि उचाल्यो । अहिलेसम्म मनाङले आठ पटक उपाधि जितिसकेको छ । २०५७, २०६०, २०६२, २०७० र २०७५ । 

मनाङको इतिहास गज्जबको छ । मनाङले डीदेखि ए डिभिजन हरेक वर्ष खेल्यो । सबैमा च्याम्पियन पनि भयो । सोही समयमा सीबाट बी र बीबाट एमा आउने बेलामा उसले एक गोल पनि खाएन । सबै खेल जितेर आयो । 
पहिलो ए डिभिजनमा सबै खेल जित्यो । जम्मा दुई गोलमात्र खायो । थ्रीस्टार र संकटा क्लबले मात्र एक एक गोल हानेका थिए । मनाङको खेल स्तर विश्वस्तरकै छ । अर्थात् पदाधिकारी र प्रशिक्षक मिलेका दिन खेलाडीले पनि साथ दिन्छन् । अनि गोलकिपरदेखि फरवार्डसम्म एक ढिक्का हुन्छन् । 

मनाङका फ्यान पनि त्यस्तै छन् । फुटबलका लागि भनेपछि ज्यान दिन तयार । मोफसलमा हुने फुटबलमा पनि उनीहरु सवारी रिजर्भ गरेर होस् वा निजी गाडी जम्मा गरेर होस् कुँदिहाल्छन् । १२ औं खेलाडीको बल निकै राम्रो छ मनाङको । 

पहिले ठमेलको सबै समूह नै मनाङको फ्यान । अहिले त झन् फेसबुकले फ्यान क्लब अझ बढी सशक्त बनेको छ । क्लबका लागि दिलो ज्यान दिन तयार । उरन्ठेउलो पनि । महिला फ्यान झनै बढी । 

२०७५ को लिग लेखाजोखा 
पाँच वर्षपछि भएको ए डिभिजनमा डिफेन्डिङ च्याम्पियनले सजिलै लिग जित्यो । अहिलेसम्म भएका सबै ११ खेल जितेर दुई खेलअघि नै मनाङले लिग जितेको हो । 

मनाङले दावेदार क्लबहरुलाई झनै सजिलै हरायो । ११औँ चरणको खेलमा मनाङले सङ्कटा क्लबलाई ३–१ गोलअन्तरले हरायो । जबकि सङ्कटा दोस्रो स्थानमा थियो । यसअघि मनाङले अर्को प्रतिद्धन्द्धी थ्रीस्टार क्लबलाई पनि पाखा लगाएको थियो । 

मनाङले पहिलो खेलमा ब्रिगेड ब्वाइजविरुद्ध ३–१, दोस्रोमा एनआरटीविरुद्ध २–०, तेस्रोमा थ्री स्टारविरुद्ध २–१, चौथोमा सशस्त्र प्रहरीको एपिएफविरुद्ध २–१, पाँचौमा सरस्वती युथविरुद्ध २–०, छैटौँमा जावलाखेल युथविरुद्ध १–०, सातौँमा मच्छिन्द्रविरुद्ध १–०, आठौँमा त्रिभुवन आर्मीविरुद्ध १–०, नवौँमा च्यासल युथविरुद्ध ३–१, दशौँ चरणमा नेपाल पुलिसविरुद्ध १–० र एघारौँ चरणमा सङ्कटाविरुद्ध ३–१ को जित निकालेको छ । 

मनाङले २१ गोल गर्दा ५ गोलमात्र खाएको छ । मनाङले धेरै गोल अन्तरको जित भने गरेको छैन । सर्वाधिक भनेको ३ गोल नै हो । तर गोल पनि कुनै क्लबबाट १ भन्दा बढी खाएको छैन । 

मनाङले १२ औँ चरणमा जनवरी १ तारिखमा हिमालयन शेर्पा क्लबसंग खेल्दैछ । त्यसैगरी अन्तिम खेलमा फ्रेण्ड्स क्लबविरुद्ध खेल्नेछ । अबका प्रतिद्धन्द्धी सजिला भएकाले मनाङको सत्प्रतिशत खेल प्रदर्शन हुनेमा दुईमत देखिँदैन । 

खेल उत्कृष्ट, अनुशासन शून्य
यसपटक मनाङले खेल उत्कृष्ट खेलेको छ । यस्तो खेलेको छ कि यसअघिको सत्प्रतिशत नतिजामा यसपटक पनि गर्ने सम्भावना सत्प्रतिशत नै छ । योभन्दा राम्रो एक क्लबका लागि के हुन सक्छ ? 

तर दुर्भाग्य खेलाडी, प्रशिक्षक र पदाधिकारीको अनुशासन सत्प्रतिशत हुन सकेको भए मनाङ सुनमा सुगन्ध हैन हीरा नै हीरा हुन्थ्यो । त्यो भाग भने खड्किएको छ । मनाङको स्थापनादेखि ए डिभिजनसम्म खेलेर कीर्तिमान रचेका एक खेलाडी भन्छन् – हाम्रो जमानामा ज्यान फालेर खेल्थ्यौं डर पनि हुन्थ्यो आजकल सेवा सुविधा पाएर पनि त्यस्तो पाइँदैन ।’

यसपटक प्रशिक्षकले अझ बढी चलाखी गरे । एमएमसीका प्रशिक्षक सुमन श्रेष्ठले पछिपछिका खेलमा आइसकेपछि क्लबले हार्ने डर हो वा के हो एउटै कुरा दोहोर्याए ‘सेटिङ’ को । 

पोष्टम्याच कन्फ्रेन्समा उनले सेटिङको कुरा गर्दा प्रश्न गर्ने ठाउँ पनि आयो । उनले अनुशासन तोडेको ठाडै पाइन्थ्यो । तर एन्फा नै पूर्णअनुशासित संस्था नहुँदा कार्वाहीका लागि अलमल देखियो । 

किनकि एक जिम्मेवार क्लबको प्रशिक्षकले हरेक खेलपछि ‘सेटिङ’ किन भनिरहेको छ । अनुशासन कमिटीले सोध्ने आँटसम्म पनि गर्न सकेन । यो दुर्भाग्यको पक्ष हो । उनले आर्मीसंगको खेलपछि त ‘जित्नेमा विश्वस्त छु तर हाम्रोविरुद्ध सेटिङ हुनसक्छ । एक खेलाडी केही भयो भने...’ भनेका थिए । 

उनी न पदाधिकारी र न खेलाडी कसैसंग पनि विश्वस्त छैनन् । उनी आफू चाहि बिक्रीमा छन् वा कसैले कुनै प्रस्ताव राख्यो वा राखेन केही बोलेनन् । यसरी उनले बोलिरहँदा भने कतै लिगमा ‘सेटिङ’ वर्षौंदेखि चल्दै आइरहेको एक ‘प्रथा’ जस्तै पो हो कि ! होइन भने अनुशासन कमिटी के हेरेर बसेको छ ?

यी चलखेलका कुरा थाँती राख्ने हो भने पहिले मस्र्याङ्दी मनाङ भनेर चिनिने क्लबको नाम पछि परिवर्तन गरी मनाङ मस्र्याङ्दी राखियो । क्लबको नाम अघिपछि जे जे राखे पनि चार्म घटेको छैन । फ्यान घटेको छैन । फुटबलको जय भएकै छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ