सन् २०२० अमेरिकी राष्ट्रपतिका लागि वारेन इच्छुक, ट्रम्पले भने, 'वारेनका मनोरोग चिकित्सकलाई सोध्नुपर्छ'
एएफपी,
प्रकाशित २०७५ पुष १७ मंगलबार
241
Shares
वासिङटन। संयुक्तराज्य अमेरिकामा डेमोक्राटिक पार्टीकी प्रभावशाली नेतृ एवं सिनेटर एलिजाबेथ वारेनले अमेरिकी राष्ट्रपतिको सन् २०२० मा हुने चुनावका लागि उम्मेदवार हुने इच्छा व्यक्त गरेका छन्। उनी राष्ट्रपति डोनाल्ड ट्रम्पका कटु आलोचक मानिन्छन्।
वारेनले अमेरिकी राष्ट्रपतिका लागि प्रारम्भिक तयारी समिति गठन गरेको घोषणा गरेका छन्। डेमोक्राटिक पार्टीभित्र अति लोकप्रिय र खरो स्वभावकी वारेनले प्रारम्भिक चरणमा उम्मेदवारीका लागि पार्टीभित्रको अवस्था बुझ्ने छन्। उक्त घोषणापछि वारेनले चुनावी खर्च उठाउन पाउने छन् भने चुनावी अभियानका लागि आवश्यक कर्मचारी नियुक्ति गर्न पाउनेछन्। डेमोक्रेटिक पार्टीभित्र राष्ट्रपतिका लागि अन्य प्रभावशाली नेताहरुमध्ये उनी अग्रस्थानमा छन्।
अमेरिकाको आयोवा राज्यको प्रारम्भिक चरणको अभियान शुरु हुनुभन्दा झण्डै १३ महिना अघि वारेनको उम्मेदवारी घोषणा भएको हो। “अमेरिकाका मध्यम वर्गीय जनता चौतर्फी आक्रमणको शिकार भएका छन्,” वारेनले सार्वजनिक गरेको भिडियो सन्देशमा भनिएको छ। उनी म्यासाच्युसेट्स राज्यबाट सन् २०१३ देखि नै सिनेट सदस्यमा निर्वाचित हुँदै आएका छन्। उनी अमेरिकी आर्थिक रुपान्तरणका लागि निकै लोकप्रिय नेतृ छन्।
“भ्रष्टाचारले हाम्रो लोकतन्त्रलाई दूषित गरिरहेको छ,” उने भने, “नेताहरुको ध्यान अन्यत्रै छ। यता ठूला बीमा कम्पनीहरुले अति जरुरी जीवन रक्षक औषधोपचार पनि दिइरहेका छैनन्। ठूला बैंकहरुले उपभोक्तालाई ठगिरहेका छन् भने ठूला तेल कम्पनीहरुले हाम्रो पृथ्वी ग्रहलाई क्षतविक्षत पारिरहेका छन्।”
त्यही कारण, उनको भनाइमा, राष्ट्रपतिको उम्मेदवार हुन प्रारम्भिक तयारीका लागि एक समिति बनाएकी छु। सरकारी स्कुलकी पूर्व शिक्षिका एवं हार्वर्ड विश्वविद्यालयकी कानुन विषयकी प्राध्यापक वारेन उपभोक्ता र श्रमिक अधिकारकी प्रखर अधिवक्ता पनि हुन्। तर अमेरिकी जनताले राष्ट्रपति ट्रम्पसँग जुध्न वारेनका सीमामाथि ध्यान दिने सम्भावना छ। दुवै नेताबीचको रस्साकस्सीले मिश्रित प्रतिफल दिएको छ।
वारेनको पछिल्लो घोषणाप्रति अमेरिकी राष्ट्रपति ट्रम्पले प्रतिक्रिया दिँदै आफूलाई सन् २०२० मा राष्ट्रपतिबाट विस्थापन गर्न नसक्ने बताए। राष्ट्रपति ट्रम्पले वारेन उठ्ने विषयमा फक्स न्यूज च्यानललाई दिएको अन्तर्वार्तामा व्यङ्ग्यात्मक शैलीमा भने, “तपाइँले वारेनका मनोरोग चिकित्सकलाई सोध्नुपर्छ।”
राष्ट्रपति ट्रम्प नै सन् २०२० मा रिपब्लीकन पार्टीका तर्फबाट दोस्रो कार्यकालका लागि उम्मेदवार हुने सम्भावना छ। डेमोक्राट पार्टीबाट सन् २०२० को राष्ट्रपति चुनावमा जुलियन क्यास्ट्रो, जोन डिलानी र रिचार्ड ओजेडा समेतका तीन दर्जन उम्मेदवार हुने सम्भावना छ।