शिखरको एकल सेल मेलामा दुई दिनमा दश हजार उपभोक्ता, अपत्यारिलो छुटमा जुत्ता चप्पल बिक्री हुँदै
प्रकाशित २०७५ पुष २१ शनिबार
583
Shares
काठमाडौं। धादिङ स्थायी घर भएका नवीन अर्याल हरेक वर्ष हिउँदको समयमा लाग्ने शिखर सुजको मेलाका नियमित ग्राहक हुन्। उनी हरेक वर्ष कम्तिमा पनि एक जोर जुत्ता फेर्नको लागि मेला कुरेरै बसेका हुन्छन्। एक वर्षमा एक जोर जुत्ता अनिवार्य रुपमा किन्ने गरेको बताउने उनी यो साल पनि शनिबार जुत्ता किन्न भृकुटी मण्डप आएका थिए।
आक्रामक विज्ञापन नहुँदा नहुँदै पनि मेलामा शुक्रबार र शनिबार मात्रै १० हजारभन्दा बढी उपभोक्ताहरुले भ्रमण गरिसकेको शिखर शुज व्यवस्थापनले जनाएको छ। शुक्रबारदेखि भृकुटीमण्डपमा सुरु भएको एकल सेल मेलाको यो चौथो संस्करण हो । संयुक्त मेला भन्दा पनि धेरै सुविधाहरु पाउने बताईएको सो मेलामा यो वर्ष मात्रै ५० वटा नयाँ उत्पादनहरु सार्वजनिक गरिएको छ । संयुक्त मेलामा भन्दा यो मेलामा भारी मात्रामा छुट दिईने पनि आयोजकले जनाएको छ।
यो एकल मेलामा शिखर सुजले उत्पादन गरेका सबै प्रकारका जुत्ताहरुको प्रदर्शनी गरिएको छ भने नयाँ मोडलका जुत्ताहरुमा पनि अपत्यारिलो छुट सुविधा दिईएको शिखर सुजका प्रवन्ध निर्देशक रामकृष्ण प्रसाईँले जानकारी दिए ।
शुक्रबार प्रदेश नम्बर ३ का आर्थिक मामिला मन्त्री कैलास ढुंगेलले मेलाको उद्घाटन गरे लगत्तै उपभोक्ताहरुका लागि समेत जुत्ता विक्री सुरु गरिएको थियो । मन्त्री ढुंगेलले स्वदेशी जुत्ता उद्योगलाई प्रदेश सरकारले संरक्षण गर्ने बताए। उनले नेपाली जुत्ता उपयोग गरेर नेपाली नागरिकले स्वदेशी उद्योगलाई प्रोत्साहन गर्नु पर्ने समेत बताए।
प्रवन्ध निर्देशक प्रसाईंले ग्राहकहरुको भीड देख्दा उपभोक्ताहरु वर्ष भरी नै मेलालाई कुरेर बस्ने गरेका रहेछन् कि भन्ने भान भएको प्रतिक्रिया दिए । उनका अनुसार मेलामा १७५ रुपैयाँ मूल्यदेखिका जुत्ताचप्पल उपलब्ध छन्। मेलामा हरेक जुत्ताचप्पलमा ग्राहकले कम्तीमा १५ प्रतिशत छुट पाउने छन्। मेलाको मूल विशेषता भनेकै सस्तोमा जुत्ता त्यसमा पनि भारी छुटका साथ नयाँ डिजाईनका जुत्ता पाईनु रहेको आयोजकले जनाएको छ । साथैै, शिखर सुजका सबै उत्पादनहरुको एकै ठाउँमा प्रदर्शनी हुने भएकोले पनि यो विशेष रहेको आयोजकले दाबी गरेको छ ।
अत्यन्त सस्तो दाममा उपलब्ध गराइने भएकाले उपभोक्ताले बर्षभरिका लागि चाहिने जुत्ताचप्पल यही मेलामा एकै पटक किन्न सक्नेछन्, प्रबन्ध निर्देशक प्रसाइले भने, राजधनीका ग्राहकलाई यस्तो अबसर फेरि नआउन सक्छ। मेलामा शिखरले उत्पादन गरेका सबै प्रकारका जुत्ता उपलब्ध हुनेछन्। नयाँदेखि स्टकमा रहेका जुत्ता क्लियरेन्स गर्ने गरी शिखरले मेलामा राखेको छ। स्टक क्लियरेन्स गर्ने जुत्ता सोलकै मोलमा उपलब्ध गराउने छौं, प्रसाईंले भने।
मेलामा महिलाका लागि समेत जुत्ताचप्पल उपलब्ध हुनेछन्। शिखरले पार्टी, स्पोर्टस, क्याजुअल, स्कुल, कलेज र कर्मचारीको युनिफर्मका जुत्ता, बुटलगायत उत्पादन गर्दै आएको छ।