arrow

गोपाल खड्काले अकूत सम्पत्ति कहाँ कहाँ लगानी गरे ? (विवरण सहित)

भ्रष्टाचारको पैसा आफन्तको खातामा !

logo
प्रकाशित २०७५ पुष २३ सोमबार
gopal-khadka-final-final.jpg

काठमाडौं । नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्का विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ करोड भन्दा बढी अकूत सम्पत्ति रहेको भनेर विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले अन्य ब्यक्तिको नाममा लुकाई राखेको ७ करोडभन्दा बढीको सम्पत्ति समेत जफतको मागदाबी र दशीको रूपमा ८९ लाख ८९ हजार रुपैयाँ नगदै अदालतमा दाखिल गरेको छ । 

नेपाल आयल निगम लिमिटेडका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्काले गैरकानूनी सम्पत्ति आर्जन गरेको भनी आयोगमा परेको उजुरीका सम्बन्धमा आयोगबाट गरिएको अनुसन्धानबाट निज गोपालबहादुर खड्का सार्वजनिक सेवा प्रवेशगरे पश्चातको समग्र आय र व्ययको विश्लेषण गर्दा उनले अकूत सम्पत्ति कमाएको भेटिएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए । 

सार्वजनिक सेवामा प्रवेश गरेपछि उनको आम्दानी विवरण
मिति २०६९ चैत २ देखि अनुसन्धान अवधिसम्ममा निजको पारिश्रमिकबाट जम्मा  ४० लाख ५७ हजार १ सय ५५ रुपैयाँ ४७ पैसा रहेको अख्तियारको ठहर छ । जग्गा बिक्रीबाट जम्मा ५८ लाख ७५ हजार, ऋण सापटीबाट जम्मा ५ लाख ३३ हजार ३६, घर भाडाबाट १३ लाख ५६ हजार, नोकरीबाट अवकाश हुँदा प्राप्त गरेको आर्थिक सुविधा २९ लाख २२ हजार ६ सय ९८ रुपैयाँ २८ पैसा, पेन्सनबाट १४ लाख ७८ हजार ४ सय ८२ रुपैयाँ २४ पैसा विप्रेषण आयबाट प्राप्त ८ लाख २६ हजार ९ सय १३, गाडी बिक्रीबाट ३५ लाख, निजको छोरा बुहारीको पारिश्रमिकबाट ११ लाख ४ हजार ३ रुपैयाँ, गरी जम्मा ७ करोड ४४ लाख ५६ हजार २ सय ५२ रुपैयाँ ५३ पैसाका साथै निजले सार्वजनिक सेवामा प्रवेश गरेदेखि मिति २०६९।१२।२ सम्ममा देखिएको विभिन्न शीर्षकको आय १ करोड २० लाख १३ हजार ४ सय ९९ समेत गरी ८ करोड ६४ लाख ६९ हजार ७ सय ५१ रुपैयाँ ५३ आय आर्जन गरेको देखिएको अख्तियारले जनाएको छ । 

निजको खर्च तथा लगानीतर्फ
मिति २०६९।१२।२ देखि अनुसन्धान अवधिसम्ममा निजले पुर्ख्यौली घर बाहेक नै ३ वटा घर निर्माण तथा खरिद गरिसकेको र २ वटा घर खरिदका लागि आंशिक भुक्तानीसमेत दिइसकेको र काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रे जिल्लाका विभिन्न स्थानमा ११ कित्ता जग्गा खरिद गरेको पाइयो । निजले घरजग्गा खरिदमा ११ करोड ६१ लाख ४३ हजार २ सय ६ रुपैयाँ ३१ पैसा  विभिन्न कम्पनीको शेयर खरिदमा  १ करोड ६ लाख, ४ हजार, ऋणको सावाँब्याज भुक्तानीमा ४ करोड २२ लाख ९६ हजार २ सय ३९, व्यक्तिगत रूपमा दिएको सापटी १ करोड २५ लाख ६० हजार रुपैयाँ, विभिन्न व्यक्ति तथा संस्थालाई दिएको चन्दा तथा सहयोग १ करोड १७ लाख ७५ हजार, छोराछोरीको अध्ययन र सामाजिक व्यवहारमा भएको खर्च २५ लाख १४ हजार ६ सय ९५ रुपैयाँ गाडी खरिदमा रु. १ करोड १७ लाख ४२ हजार, सुपरमार्केटहरूमा खर्च गरिएको समेतका रकम रु. १ करोड ८० लाख १६ हजार ४ सय ४६ रुपैयाँ ८२ र विभिन्न ५५ वटाभन्दा बढी बैंक वित्तीय संस्था तथा सहकारीमा जम्मा मौज्दात रु. २ करोड ७१ लाख ५३ हजार ४ सय २१ रुपैयाँ समेत गरी जम्मा रु.२५ करोड २८ लाख ०५ हजार ९ रुपैयाँ र निज सार्वजनिक सेवामा प्रवेश गरेदेखि मिति २०६९।१२।२ सम्ममा विभिन्न शीर्षकमा गरेको खर्च तथा लगानी २ करोड २ लाख ७० हजार ३ सय ७१ रुपैयाँ समेत गरी जम्मा २७ करोड ३० लाख ७५ हजार ३ सय ८० खर्च तथा लगानी गरेको देखिन आई सो लगानीमा निजको स्रोत खुलेको आय ८ करोड ६४ लाख ६९ हजार ७ सय ५१ घटाउँदा देखिन आउने १८ करोड ६६ लाख ०५ हजार ६ सय २९ बराबरको खर्च तथा लगानीको स्रोत खुल्न नआएको अख्तियारको आरोप छ ।  

खड्काले साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निज गोपालबहादुर खड्कालाई सो विगो कायम गरी साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५, दफा १६(ग) तथा दफा २९ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम सजाय हुन र निज गोपालबहादुर खड्का नेपाल सरकारको विशिष्ट श्रेणीको हैसियतको पदबाट अवकाश भएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजाय हुन र भ्रष्टाचार गरी गैरकानूनी रूपमा आर्जन गरेको चल अचल सम्पत्तिहरू साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ (ग) तथा दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२), दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ (ख) बमोजिम जफत हुन मागदाबी लिई आजै विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको हो ।

त्यसैगरी निजले आर्जन गरेको गैरकानूनी सम्पत्ति मध्ये जिल्ला तेह्रथुम साबिक जिरीखिम्ती गा.वि.स. वडा नं. २ घर भई का.जि. बूढानीलकण्ठ न.पा. वडा नम्बर ४ बस्ने कृष्णबहादुर लामाकी छोरी, दिपक सोदेम्बाकी श्रीमती अमिता लामा सोदेम्बा र निज गोपालबहादुर खड्काले आफ्नी श्रीमती शर्मिला खड्काको नाममा समेत लुकाई छिपाई राखेको देखिंदा निजहरूको नाममा रहेको चल अचल सम्पत्ति जफत गर्ने प्रयोजनका लागि साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६(ग) तथा दफा २९ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ (ख) बमोजिम जफत हुन मागदाबी लिने र जफत गर्ने प्रयोजनका लागि मात्र निजहरूलाई प्रतिवादी कायम गरी आरोपपत्र दायर गरिएकोछ ।

अमिता लामा सोदेम्बाको नाममा जम्मा रु. ७,५४,५७,८७५।- बराबरको देहाय बमोजिमको सम्पत्ति लुकाई राखेको अख्तियारको दाबी छ ।

१. जिल्ला काठमाडौं साबिक महांकाल गा.वि.स. वडा नं. ४ स्थित कित्ता नं. १९१ मा सि.जी. डेभलपर्सले निर्माण गरेको सि.जी. हिल्स हात्तीगौंडामा मूल्य रु. ३,२५,००,०००।- मा खरिद गरेको घर नं. ३२ ।
२. जिल्ला काठमाडौं साबिक बिष्णु बूढानीलकण्ठ गा.वि.स. वडा नं. ३ ख स्थित कित्ता नं.६८९, १४८२ र १५२० को मूल्य रु. ४०,११,८७५।- मा खरिद गरेको ८ आना जग्गा ।
३. मूल्य रु. ८४,४६,०००।- मा खरिद गरेको बा.१६च.८४८४ नं. को टक्सन गाडी । 
४. जिल्ला काठमाडौं साबिक महांकाल गा.वि.स. वडा नं. ४ स्थित कित्ता नं. ३५० मा सि.जी. डेभलपर्सले निर्माण गरेको घर नं. २२ खरिद गर्नका लागि भुक्तानी गरेको रु. ३,०५,००,०००।-
५. अमिता लामाको नाममा रहेको एनएमबी बैंक र सिटिजन बैंकको खाताहरूबाट गोपालबहादुर खड्काले नै कारोबार गर्ने गरेको देखिएको ।

दशी प्रमाणको रूपमा नगद दाखिला

जिल्ला काठमाडौं साबिक विष्णु बूढानीलकण्ठ गा.वि.स. वडा नं. ७ 'ग' मा रोडशो रियलस्टेट प्रा.लि.ले निर्माण गरेको घर खरिद गर्नको लागि बैना स्वरूप रू. ८९,८९,०००।- भुक्तानी दिएकोमा रोडशो रियलस्टेट प्रा.लि. ले पत्रसहित उक्त रकम बराबरको चेक आयोगमा दाखिला गरिदिएको हुँदा उक्त चेकको रकम रू. ८९,८९,०००।- जफत प्रयोजनका लागि दशीका रुपमा आरोपपत्र साथ सम्मानित अदालत समक्ष दाखिला गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ