arrow

स्याउसँगै तरकारी खेती गर्दै रुकुम पूर्वका कृषक

logo
प्रकाशित २०७५ पुष २७ शुक्रबार
rukum_5province_district_map.png

रुकुम (पूर्व) ।  जिल्लाको भूमे गाउँपालिकाका–२ र ७ नं वडामा पर्ने मारिङमा स्याउसँगै तरकारी खेती समेत गर्न थालिएको छ ।

स्थानीय सरकारको पहल र अग्रसरतामा मारिङमा काउली, बन्दागोभी र रायो सागको खेती शुरु गरिएको हो । द्वन्द्वप्रभावित क्षेत्रको कार्यक्रम, जिल्ला कृषि विकास कार्यालय र जिल्ला भू–संरक्षण कार्यालयको सहयोगमा सो गाउँमा स्याउका लागि अवश्यक पानी जम्मा गर्न ठूलाठूला पोखरीसमेत निर्माण गरिएका छन् ।

गत साउनमा पहिलो पटक स्याउका बोटसँगै काउली, बन्दागोभी, प्याज, मुला, सीमी, केराउ, मार्फा जातको रायोको साग र निउरोकोडा जातको गाँजर लगाइएको गाउँपालिकाका अध्यक्ष रामसुर बुढामगरले बताए । “मारिङमा यस अघिनै स्याउ लगाइएको छ”, उनले भने, “तिनको संरक्षण जरुरी भयो र उचाइमा भएका कारण पनि फलफूल उच्च पहाडी तरकारी र वन अनुसन्धान केन्द्र बनाउनका लागि अनुसन्धान शुरु गरिएको छ । ”

नर्सरीमा तयार गरिएका बेर्ना अहिले अन्य ठाउँमा सारीइसकेको छ । हाल उक्त ठाउँ धेरै चिसो भएकाले अन्य जग्गामा खनजोतको मात्र काम भइरहेको छ । फागुनदेखि तातो मौसम शुरु हुने भएकाले त्यतिबेला खेती गर्ने गरी थप जग्गाको तयारी भइरहेको छ । स्याउको संरक्षण पनि हुने र अरु कृषि तथा वनको पनि अनुसन्धान हुने भएकाले गाउँपालिकाले प्राविधिकसमेत खटाएको छ । प्राविधिकले स्याउको हेरचाह सुरक्षा तथा तरकारी, फलफूल, वनको अनुसन्धानका लागि काम गरिरहेका छन् ।

सो क्षेत्रलाई कृषि र वनको अनुसन्धान थलोका रुपमा विकास गर्ने लक्ष्य लिइएको अध्यक्ष बुढामगरले बताए । वातावरणीय हावापानी र अन्य दृष्किोणले पनि मारिङ अनुसन्धान केन्द्र हुनलायक ठाउँ भएकाले सम्भाव्यता अध्यन भइरहेको उनले बताए ।

स्थानीय सरकार भएपछि उक्त ठाउँमा रु २० लाख खर्च भइसकेको र थप रु २५ लाख खर्च गर्ने तयारी भइराखेको छ । गत आर्थीक वर्षमा जलाधार, ट्याङ्की निर्माण, शौचालय, प्राविधिक बस्ने घर निर्माण, खानेपानी र सिँचाइलगायत काम गरिएको प्रमुख प्रशासकिय अधिकृत चन्द्रसिंङ श्रेष्ठले जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्षको बजेटले आधुनिक कृषि औजार खरिद, ज्यामी परिचालन, भवन निर्माण लगायतका काम गर्ने बताइएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ