arrow

प्रकाशनमा अब्बल राष्ट्र बैंक

logo
अश्रु किरण,
प्रकाशित २०७५ पुष २९ आइतबार
nepal-ratra-bank_copy.jpg

काठमाडौं । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिमा सूचना लिन जाँदा त्यहाँ झण्झट र सास्ती समेत बेहोर्न बाध्य भईन्छ । बढुवाको चक्कर र जागिर टिकाउन उच्च पदस्थ कर्मचारीहरु व्यस्त रहँदा एउटा सामान्य सूचना पाउन पनि बीमा समितिमा निकै कष्ट बेहोर्नुपर्ने हुन्छ । समितिले सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५९३० बमोजिम प्रत्येक ३ महिनामा एउटा सूचना प्रकाशित गर्ने गरेको छ । तर, त्यसमा पर्याप्त जानकारीहरु भन्दा पनि झारा टार्ने काम मात्रै गरेको स्पष्ट देखिन्छ । 

बीमा समितिको तुलनामा अर्काे नियामक निकाय धितोपत्र बोर्डमा सूचना र प्रकाशन प्रणाली केही समृद्ध छ । त्यहाँ वार्षिक प्रतिवेदन, वेभसाईटमा नै सूचना र प्रेस विज्ञप्तीहरु प्रकाशन गरिने, दुई दुई महिनामा नेपाल धितोपत्र बोर्ड समाचार नामक बुकलेट, न्युजलेटर, त्रैमासिक विवरणहरु लगायतका प्रकाशनहरु वेभसाईटमा नै प्रकाशन गरेर धितोपत्र बोर्डले पनि आफ्नो प्रकाशन क्षेत्रलाई केही उचाईमा पुर्याउने प्रयास गरिरहेको छ । 

बैंक तथा वित्तीय क्षेत्र बाहिर गएर हेर्ने हो भने मेडिकल काउन्सिल र नेपाल दूरसञ्चार प्राधिकरण पनि नियामक निकाय नै हुन्। सूचना प्रणालीको सहजताको हिसावले हेर्दा मेडिकल काउन्सिल बीमा समिति भन्दा पनि कमजोर रहेको आरोप लाग्ने गरेको छ । त्यहाँको सूचना प्रणाली नै त्यस्तै छ । तर, नेपाल दूरसञ्चार प्राधिकरण भने सूचना प्रणालीको हिसावले नेपाल राष्ट्र बैंक जत्तिको अब्बल बन्न नसकेको भएपनि यहाँको सूचना प्रणाली पनि उत्कृष्ट नै रहेको मान्न सक्दछौं ।  

नेपाल सरकारको वित्तीय सल्लाहकार समेत रहेको बैंकहरुको नियामक निकाय र राज्यको मौद्रिक नीति तयार पार्ने केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकको सूचना प्रकाशन क्षेत्रलाई हेर्ने हो भने यी चारवटै नियामक निकायको भन्दा पनि अब्बल र दू्रत अद्यावधिक गर्ने नियामक निकाय हो भन्दा पनि फरक नपर्ला । 

नेपाल राष्ट्र बैंकले त्रैमासिक, चौमासिक मौद्रिक नीतिको समीक्षा, देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको विश्लेषण हरेक महिना राष्ट्र बैंकबाट प्रकाशन हुन्छ । यस्तो प्रकाशन पाउनको लागि कोही पनि बालुवाटारको राष्ट्र बैंकको कार्यालय धाउने र त्यहाँ पनि भौतारिँदै कोठा कोठा धाउँदै हिँड्नु पर्ने बाध्यता हुँदैन । त्यति मात्रै होईन । राष्ट्र बैंकले प्रकाशन गर्ने यस्ता प्रकाशनहरु केही विशेष बाहेक पत्रकार सम्मेलन नै गरेर सार्वजनिक समेत गर्ने गरिएको छैन । यस्ता प्रकाशनहरु सीधै वेभसाईटमा प्रकाशन गर्ने गरिएको छ । जसले अनावश्यक आर्थिक भार कम गर्न समेत मद्दत गरेको छ ।

हरेक वर्ष दुई अंकमा प्रकाशित गरिने माक्रो मोडलिङ प्राक्टिसेस एट राष्ट्र बैंक भन्ने अध्ययन प्रतिवेदन राष्ट्र बैंकको अनुसन्धान विभागले प्रकाशन गर्ने गरेको छ । सन् १९८७ देखि सुरु भएको सो प्रकाशन २०११ को २३ औं अंकसम्म प्रत्येक वर्ष एक एक पटक मात्रै प्रकाशित गरिएको थियो भने २३ औं अंकदेखि प्रत्येक वर्ष २ अंकको दरमा प्रकाशन हुन थाल्यो । 

त्यस्तै, राष्ट्र बैंकले त्रैमासिक आर्थिक बुलेटिन पनि निकाल्ने गरेको छ । यसमा मौद्रिक सर्वेक्षण, मुद्रा प्रवाह जस्ता अर्थतन्त्रका सबै सूचकहरुको बारेमा अद्यावधिक विवरण पेश गर्ने गरिएको छ । यसको २०१८ सम्म आईपुग्दा ५२ खण्ड नियमित प्रकाशित भईसकेको छ भने २०१८ मा मात्रै अन्तिम ३ अंक प्रकाशित भईसकेको छ । यो वर्षको अन्तिम अंक भने प्रकाशन हुन बाँकी छ । 

त्यस्तै, राष्ट्र बैंकले राष्ट्र बैंक समाचारको नामबाट एउटा वार्षिक पत्रिका निकाल्ने गरेको छ । यो राष्ट्र बैंकको हरेक गतिविधि र वित्तीय क्षेत्रसँग जोडिएका महत्वपूर्ण लेखहरु समेत प्रकाशन गरी राष्ट्र बैंकले समाचार नामक पत्रिका प्रकाशन गर्ने गरेको हो । प्रत्येक महिनामा ८ पृष्ठको समाचार नामक बुकलेट प्रकाशित हुन्छ भने वर्षको एक पटक पुस्तक आकारमा वार्षिक पत्रिका सार्वजनिक हुने गरेको छ । 

त्यस्तै, नेपाल राष्ट्र बैंकको कार्य प्रगतिको बारेमा पनि प्रकाशन प्रकाशित हुने गरेको छ । त्यस्तो प्रकाशन अहिलेसम्म ४४ वटा प्रकाशित भईसकेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकको वेभसाईटमा नै २०३७ सालदेखि अहिलेसम्मका गवर्नरहरुले विभिन्न स्थानमा दिएको बक्तव्यको समेत लिखित दस्तावेज समेत राखिएको छ । यसले पनि राष्ट्र बैंकको पारदर्शिताको वर्णनमा थप मद्दत पुर्याउन सक्छ । 

यस बाहेक राष्ट्र बैंकले मूल्यबृद्धिको बारेमा गरिएका अध्ययन रिपोर्टहरु, राष्ट्र बैंकले नियमित प्रकाशन गर्ने भनिएको दस्तावेज जस्ता सबै दस्तावेजहरु सजिलै पाउने गरी बैंकको आधिकारिक वेभसाईटमा भेट्न सकिन्छ । बैंकले आफ्नो तर्फबाट प्रकाशन गर्ने सूचनाहरुमध्ये वाणिज्य बैंकहरुलाई जारी गरिने परिपत्र, उनीहरुमाथि भएको कारबाहीको विवरण जस्ता विषयहरु समेत वेभसाईटमार्फत् सार्वजनिक गर्ने गरेको छ । 

कर्मचारी संगठनहरुको समेत सक्रियता 
यसरी राष्ट्र बैंकको पहलमा प्रकाशन हुने दर्जनौं प्रकाशनहरुसँगै कर्मचारी संगठनहरुले समेत मुलुकको आर्थिक स्थितीको विश्लेषण गर्दै भिन्दा भिन्दै स्मारिकाहरु प्रकाशन गर्ने गरेका छन् । 

बैंक तथा वित्तीय क्षेत्रमा क्रियाशील ४५ वटा युनियनहरुको छाता संगठन नेपाल वित्तीय संस्था कर्मचारी संघले वित्तीय दर्पण नामक स्मारिका प्रकाशन गर्ने गरेका ेछ । नियमित १३ अंक प्रकाशन गरिसकेको यो संस्थाले यो वर्षदेखि सो स्मारिकमा विविधता थप्न थालेको छ । यस अघिसम्म नित्तान्त आफ्ना वार्षिक गतिविधि र सामान्य देख रचनाहरु छापेर सानो आकारमा छापिने गरेको वित्तीय दर्पण यो वर्षदेखि अर्थतन्त्रका विविध क्षेत्रहरु समेटेर पुस्तक आकारमा छाप्न थालिएको संघका अध्यक्ष पदमराज रेग्मीले जानकारी दिए । 

राष्ट्र बैंक आफैंमा प्रकाशन तर्फ अब्बल भईसकेको भन्दै कर्मचारी संगठनहरुबाट पनि यसमा ठूलो सहयोग रहेको रेग्मीले जानकारी दिए । संघका प्रकाशनहरु राष्ट्र बैंकसँग जोडिएका विषयमा मात्रै सीमित नभएको भन्दै बैंक तथा वित्तीय क्षेत्रका सबै जानकारहरुको रचना समावेश गरेर प्रकाशनहरुलाई मजबुत बनाउँदै लगिएको रेग्मीले जानकारी दिए । उनले वित्तीय दर्पणमा नित्तान्त ज्ञानमुलक र उत्कृष्ट लेखहरुमात्रै समावेश हुने गरेको जानकारी पनि दिए । 

त्यस्तै, नेपाल वित्तीय संस्था कर्मचारी संघ नेपाल राष्ट्र बैंक शाखाले पनि नियमित रुपमा आर्थिक मीमांसा नामक प्रकाशनहरु सार्वजनिक गर्दै आएको छ । यो राष्ट्र बैंक शाखाको मात्रै भएपनि यसमा पनि आर्थिक क्षेत्रका विविध क्षेत्रका जानकारहरुको लेख रचना पाउन सकिन्छ । 

त्यस्तै, अर्को नेपाल राष्ट्र बैंक कर्मचारी संघले पनि अरुणोदय नामक स्मारिका निकाल्ने गरेको छ । त्यो पुस्तक आकारको हिसावले वित्तीय दर्पण र आर्थिक मीमांसा भन्दा सानो आकारमा प्रकाशित हुन्छ भने यसले पनि आर्थिक क्षेत्रका यावत विषय सम्बन्धी लेखरचनालाई समेट्ने गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ