काठमाडौं । स्पेनिश लिग ला लिगा फुटबलमा लियोनल मेस्सी सबैभन्दा परिचित नाम । मेस्सी बार्सिलोनाका कप्तान । उनले आइतबार राति ४०० गोल पनि पूरा गरे । मेस्सीले बार्सिलोनाबाट ४३५ खेलमा ४०० गोल पूरा गरेको कीर्तिमान बनाएका हुन् ।
स्पेनिश लिगमा एउटै खेलाडीले ४०० गोल गर्ने मेस्सी मात्रै हुन् । मेस्सीले १४ वर्षअघि पहिलो गोल गरेका थिए ।
बार्सिलोनाले आइतबार राति आइबरलाई ३–० ले हराउँदा मेस्सीले एक गोल गरे ।
बाँकी दुई गोल लुइस स्वारेजले गरे । यो निकै राम्रो जोडी बनेको छ । यी दुईले लिगमा सर्वाधिक साझेदारी गोल गरेका छन् ।
खेलको १९ औँ मिनेटमा स्वारेजको गोलबाट बार्सिलोनाले पहिलो हाफमा १–० को अग्रता लियो । मेस्सीले ५३ औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे ।
५९ औँ मिनेटमा स्वारेजले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोनाले ३–० को जित निश्चित गरेको हो ।
जितपछि शीर्षस्थानको बार्सिलोनाको १९ खेलबाट ४३ अंक भएको छ र दोस्रो स्थानको एथ्लेटिको मड्रिडसँग पाँच अंकको अग्रता कायम राखेको छ ।
आइतबार राति नै भएको खेलमा एथ्लेटिको मड्रिडले लेभान्तेलाई १–० ले हरायो । एथलेटिकोको १९ खेलबाट ३८ अंक भएको छ ।
तेस्रो स्थानको सेभियाको ३३ अंक छ । रियाल मड्रिड पनि ३३ अंकबाट चौथो स्थानमा छ । आइतबार राति रियालले रियाल बेटिसलाई २–१ ले हरायो ।