arrow

माघीमा पाहुनाले भरियो डल्ला होमस्टे

logo
मेनका चौधरी,
प्रकाशित २०७५ पुष ३० सोमबार
dalla.jpg

बर्दिया । माघीका अवसरमा विश्वसामु परिचित डल्ला होमस्टे (घरबास) भरिएका छ । बेलायतका राजकुमार हयारी, चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य लिवाहुवा, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत थुप्रै पाहुना सो घरबासमा आइसकेका छन् ।

डल्ला होमस्टे बर्दिया निकुञ्जसँग जोडिएको खाता जैविक मार्गमै छ जहाँ एकसिँगे गैँडा, पाटेबाघ, हात्ती र डोल्फिन एशियाकै ठूलो गजराज हात्ती( ११ फिट ८एन्ची अग्लो), गोही, जरायो, विश्वको दुर्लभ कृष्णसार, ताराताल र बढैयातालका तीन सय प्रकारका माछ, रातो कमल फुल्ने सत्खलुवा ताल अवलोकन गर्न पाइन्छ । पछिल्लो समय राष्ट्रिय समाचार समितिका अध्यक्ष श्यामल अधिकारी र महाप्रबन्धक ओप्रेन्द्र शर्मा, अन्य पत्रकार एवं कर्मचारीको टोलीले समेत डल्ला घरबासमा पाहुना बनी पर्यटकीय क्षेत्रको अवलोकन गरेको छ ।

माघीका अवसरमा दैनिक हजारौँ आन्तरिक पर्यटक यहाँ आउँछन् । वनभोज खाने आउनेको भीड पनि त्यत्तिकै छ । वन्यजन्तु, थारुहरुको पहिरन, गरगहना, गीत र नृत्य, थारुको जैविक खाना, घरबेटीको मीठो मुस्कानसहित आतिथ्य र सत्कार यहाँको विशेषता हो । घरबासमा माछा, स्थानीय कुखुरा, घोँगी, गँगटा, सुतही, अनदीको रोटी र रक्सी, बयरको अचार, परेवाको मासुलगायत थरिथरिका खाना पाहुनालाई खुवाइन्छ । डल्ला संरक्षित भएपछि निकुञ्जबाट निस्किएका वन्यजन्तु पनि सुरक्षित भररहेको नेकपाका नेता सुरेश पन्थले बताए।

गाउँ प्रवेश गर्नासाथ सडक र वरिपरि फोहोर देखिँदैन । यहाँ दिनहुँँ सरससफाइ चल्छ । घरबासमा बस्ने पाहुनाका लागि थारु समुदायले हुरदुगुवा नाच, लाठी , पैया नाच, मघौता नाच, बर्कीमारा नाचलगायत सास्ँकृतिक कार्यक्रम प्रस्तुत गरिन्छ । निकुञ्जको आसपास मधुवन नगरपालिकाको वडा नम्बर १ मा रहेको रमणीय गाउँका युवाहरुले खाता जैविक मार्गमा रहेको सो गाउँको संरक्षण गरेको तर प्रचारप्रसार अभावमा ओझेलमा परेको नगरपालिकाका प्रमुख गणेश केसीले बताए।

नेता पन्थले निकै सस्तो रकममा बास र पर्यटकलाई घुमाउनका लागि गाडीको व्यवस्था रहेको जानकारी दिए। निकुञ्जका बाघ, चित्तल, जङ्गली हात्ती, गैँडालगायत ३०० प्रकारका जनावरले त्यहाँको बाली खाएर सखाप पारेको गुनासो पनि उनले गए । अहिले वन्यजन्तु चोरी शिकार नियन्त्रण गर्न युवाको दस्ताले रातदिन गस्ती गरिरहेको छ । यहाँका संरक्षणकर्मीको सक्रियतामा निकुञ्जको समेत संरक्षणमा थप टेवा पुगेको पन्थले बताए।

घरबासका रुपमा गाउँभरिका प्रायः घर छन् । डल्ला घरबास सञ्चालन समितिका अध्यक्ष तथा १ नं का वडाध्यक्ष परशुराम योगी थारुले अचेल होमस्टे भरिभराउ रहेको बताए । माघीमा ठाकुरबाबा मन्दिरको दर्शन गर्न नेपालको पूर्वदेखि पश्चिमसम्मका थारु आउने र बास बस्ने गर्छन् । डल्ला क्षेत्रलाई पर्यटकीय केन्द्रका रुपमा विकसित गर्न नगर मधुवन नगर परिषद्ले चालु आवमा रु दुई लाख बजेट छुट्याएको छ । डल्ला क्षेत्रको विकासका लागि सडक स्तरोन्नति, सौर्यबत्ती, टेलिफोन टावर, इण्टरनेटको आवश्यकता रहेको अध्यक्ष योगीले बताए। विश्वमा परिचित डल्लामा देशविदेशका पर्यटक आकर्षण गर्नका लागि पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने योजना रहेको मधुवन नगरपालिकाका उपप्रमुख शुभरानी थारुले जानकारी दिइन्। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ