आर्सनल गोलकिपर चेकद्धारा सन्यासको घोषणा, चेल्सी भित्र्याउन तयार
प्रकाशित २०७५ माघ २ बुधबार
477
Shares
काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबल क्लब आर्सनलका गोलकिपर एवं पूर्व चेक खेलाडी पेट्र चेकले सन्यासको घोषणा गरेका छन् । यो सिजनको अन्त्यसँगै उनले सन्यास लिने घोषणा गरेका हुन् । ३६ वर्षका पेट्र सन् २०१५ को जुनमा चेल्सीबाट आर्सनल आएका हुन् । त्यसअघि उनले चेल्सीमा ११ वर्ष बिताएका थिए ।
उनले १५ वर्षको प्रिमियर लिग यात्रा र सम्भव भएका ट्रफी जिते पनि आफूले सबै पाएजस्तो लागेको बताएका छन् ।
व्यवसायिक खेलाडीका रुपमा २० औँ सिजन खेलिरहेका उनी सन् २००४ को जुलाईमा फ्रेन्च क्लब रेनबाट चेल्सी आएका थिए । चेल्सीबाट उनले एकपटक च्याम्पियन्स लिग, चारपटक प्रिमियर लिगसहित १३ वटा ट्रफी जिते ।
यस्तै उनले चेल्सीबाट खेलेका २२८ खेलमा गोल खाएनन् र कीर्तिमान बनाए । आर्सनललाई सन् २०१७ मा एफए कपको उपाधि दिलाउनमा उनको महत्वपूर्ण भूमिका रह्यो । प्रिमियर लिगमा उनले चेल्सीबाट ३३३ र आर्सनलबाट अहिलेसम्म ११० खेल खेलेका छन् ।
यसैबीच चेल्सीले फेरि पेट्रलाई भित्र्याउन तयार रहेको बताएको छ । चेल्सीले उनलाई भित्र्याउन तयार रहेको बताएको हो । चेल्सीले भनेको छ, ‘स्टामफोर्ड ब्रिजको घरमा फेरि ल्याउन चेल्सी तयार छ ।’
पेट्रले भने सिजनको अन्तिममै अर्को स्टेपबारे निर्णय लिने बताएका छन् ।