arrow

लगानी सम्मेलनको मुखमा लगानीकर्तालाई सशंकित बनाउने प्रयास

पठाओ र टुटलमाथिको कारबाहीले लगानी सम्मेलनलाई प्रभावित गराउँदैन : सिइओ अधिकारी

logo
सुदर्शन अर्याल,
प्रकाशित २०७५ माघ २ बुधबार
TOOTAL_INVESTMENT_PATHAO.jpg

काठमाडौं। यात्रुहरुलाई सहज र सस्तो सेवा दिंदै आएको सेवा ‘टुटल’ र ‘पठाओ’ कानुन बिपरित भएको भन्दै ट्राफिक प्रहरी महाशाखाले प्रतिबन्ध लगाएको छ। गत शनिवार दरवारमार्ग प्रहरीले यस्तो सेवा दिईरहेका सवारीलाई नियन्त्रणमा लिएर कारबाही गरेको हो ।

महाशाखाले यी सवारीहरुलाई यस्तो समयमा कारबाही गरेको छ जुन समयमा सरकार तीब्र रुपमा अन्तराष्ट्रिय लगानी सम्मेलनको तयारीमा जुटिरहेको छ ।  सरकारले यही चैत १५ र १६ गते अन्तराष्ट्रिय लगानी सम्मेलन गर्ने तयारी गरेको छ। यो लगानी सम्मेलन मुलुकमा पञ्चायती शासन अन्त्य भएपछिको तेस्रो लगानी सम्मेलन हो । वि सं २०४९ सालमा भएको लगानी सम्मेलन दोस्रो पटक २०७३ सालमा भएको थियो ।

लगानी सम्मेलनको तयारीमा जुटिरहेको सरकारले अन्तराष्ट्रिय लगानीको रुपमा आएको पठाओसँगै नेपाली लगानीमा चलेको टुटललाईसमेत कारबाही गरेको छ । यस्तो अवस्थामा अन्तराष्ट्रिय लगानीकर्ताहरुले यसलाई कुन् रुपमा लिन्छन् भन्ने चासो अहिले चर्चामा छ ।

लगानीको वातावरणलाई आधार मानेर विश्व बैंकले हरेक वर्ष जारी गर्ने रिपोर्टमा नेपाल २०१८ मा ५ स्थान तल झरेको छ । विश्वका लगानीकर्ताहरुले कुनैपनि देशमा लगानी गर्नु भन्दा पहिले त्यो देश डुइङ विजिनेस रिपोर्टमा कुन् स्थानमा छ ? त्यो हेर्ने गर्दछन् । विश्व बैंकले विभिन्न १० सूचकांकहरु हेरेर तयार पार्ने यो प्रतिवद्धताले नेपालमा लगानीको वातावरण अघिल्लो वर्ष भन्दा घटेको हो ।

यही रिपोर्टले देखाएको खोट पुर्नको लागि सरकार लगानी सम्मेलनको तयारीमा जुटेको हो । लगानी सम्मेलन लगानीकर्ताहरुलाई आकर्षित गर्नका लागि गरिने सम्मेलन हो । तर सरकार देशमा शुरु भएको नयाँ किसिमको वैदेशिक लगानीलाई निरुत्साहित गर्न अगाडि बढेको देख्दा यो सम्मेलनको औचित्यमाथि समेत प्रश्न चिन्ह खडा हुन थालेको छ ।

तर, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले लगानी सम्मेलनलाई यो कारबाहीले खासै असर नपर्ने प्रतिक्रिया दिए । उनले सबै कानूनको दायरामा आउनुपर्ने दाबी गर्दै यो कारबाही भन्दा पनि नियमन गरेर अघि बढ्नुपर्ने आफ्नो व्यक्तिगत धारणा रहेको प्रतिक्रिया दिए ।

टुटल नेपाली लगानीमा खुलेको कम्पनी हो भने पठाओ बंगलादेशी लगानीमा खुलेको कम्पनी हो । काठमाडौंको अस्तव्यस्त ठाउँमा सार्वजनिक सवारीमा यात्रा गर्न नसकिरहेकाहरुलाई सुविधासँगै धेरैलाई रोजगार दिईरहेको कम्पनी हो । यी कम्पनीहरुमाथिको कारबाहीले देशमा अन्तराष्ट्रिय लगानीको राम्रो वातावरण रहेको भन्ने सरकारी दाबीलाई नै विश्वास गर्न कठिन हुन थालेको छ ।

नेपालमा टुटलको सफलतापछि करिब ३ महिना अघि बंगलादेशी लगानीमा सुरु भएको कम्पनी हो पठाओ । बैदेशिक लगानी भित्रिएको ३ महिनामा नै कुनै कम्पनी बन्द गरिनुले नेपालमा अन्तराष्ट्रिय लगानीका लागि राम्रो संकेत नगर्ने चर्चा चल्न थालेको छ ।  

टुटल-पठाओलाई कारवाही

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ‘सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा निजी सवारीसाधनमा भाडाका यात्रु बोक्न अनुमति नभएको’ भन्दै शनिबारदेखि कारवाही थालेको हो।

प्रहरीले सोही ऐनको दफा ८ को उपदफा १ र २ मा भएको कानूनी व्यवस्था अनुसार कारवाही थालेको बताएको छ। उपदफा २ मा निजी सवारी यातायात सेवाका लागि प्रयोग गर्न नपाइने उल्लेख छ। यातायात व्यवस्था विभागसँग समन्वय बिना नै ट्राफिक प्रहरीले बंगलादेशी कम्पनी ‘पठाओ’ र नेपाली कम्पनी ‘टुटल’ लाई निजी नम्बर प्लेट भएका सवारीसाधनमा भाडाका यात्रु बोकेको भन्दै कारवाही गरेको हो।

टुटलका प्रमुख कार्यकारी अधिकृत शिक्षित भट्ट भने ‘राइड सेयरिङ’ सुविधाका लागि आफ्नो कम्पनीले मध्यस्थता मात्रै गरेकाले यातायात सेवा दिने कम्पनी नभएको बताउँछन् । उनी भन्छन्, ‘हाम्रो आफ्नो मोटरसाईकल छैनन्। जोसँग छ उनीहरुले आफू जानुपर्ने ठाउँसम्म अरुलाई पुर्‍याईदिने हो।‘

यस बिषयमा सामाजिक संजालमा बहश शुरु भएको छ। नियम छैन भने नयाँ र आवश्यक सेवा सुविधाहरुलाई कानुन बनाएर अगाडि बढाउनु पर्नेमा सरकार सेवा वन्द गराउन तर्फ नै आक्रामक हुनुले नयाँ सोच र नवीनतम कार्यहरुलाई सरकारले नरुचाएको भन्ने आरोप समेत लाग्न थालेको छ ।

लगानी सम्मेलन

पछिल्लो पटक २०७३ फाल्गुन १९ र २० गते भएको लगानी सम्मेलनमा प्रतिवद्धता जनाएका लगानीकर्ताहरुले अहिलेसम्म पनि प्रतिवद्धता अनुरुप लगानी गरेका छैनन् । प्रतिवद्धता गरेको अधिकांश लगानीकर्ताहरुले त्यसपछि वास्ता नै नगरेको समेत लगानी वोर्डले जनाएको छ । यही सन्दर्भमा सरकारले अर्को लगानी सम्मेलनको तयारी गरेको हो ।

यसअघि सरकारले २०७३ फागुन १९ र २० गते लगानी सम्मेलन गरेको थियो । उक्त सम्मेलनमा करिब १४ खर्ब रुपैयाँको ९१३।५२ विलिएन अमेरिकी डलर लगानी प्रतिबद्धता आएको थियो । लगानी बोर्डका अनुसार अहिलेसम्म प्रतिवद्धता अनुरुप ज्यादै न्यून रकम मात्रै लगानीको रुपमा आएको छ ।

लगानी बोर्डका सिइओ अधिकारीले २०७३ सालको लगानी सम्मेलन अघि ५ अर्ब ६० करोडको बैदेशिक लगानी आएको थियो भने सम्मेलनको वर्षमा १० अर्ब ६० करोड रुपैयाँ बैदेशिक लगानी आएको जानकारी दिए । यो लगानी सम्मेलनको लागि केही समय अघिदेखि नै तीब्र तयारी चलिरहेको भन्दै अघिल्लो पटकको सम्मेलनमा जस्तै २ दर्जनको हाराहारीमा देशहरु सम्मेलनमा सहभागी हुने बोर्डको विश्वास छ । अधिकारीले यसपटक स्थिर सरकार, कानूनमा देखिएका समस्याहरुको समाधान भएकोले पनि यसपटकको लगानी सम्मेलन सार्थक हुने विश्वास व्यक्त गरे ।

अधिकारीका अनुसार सम्मेलनपछिको वर्ष झण्डै १८ अर्बको वैदेशिक लगानी आएको थियो । बोर्डका अनुसार सो सम्मेलनमा प्रतिवद्धता जनाएकाहरुको लगानीकर्ताहरुको भिन्न सूची तयार पर्ने गरिएको छैन । जसले गर्दा प्रतिवद्धताको यति रकम उठ्यो भनेर भन्न सक्ने अवस्था छैन । यसको अर्थ जुन सामान्यतया आउने वैदेशिक लगानीभन्दा धेरै खासै लगानी नआएको मान्न सकिन्छ ।

प्रतिबद्धता र न्युन लगानी एवं अनुदार सरकार

पहिलेका लगानी सम्मेलनमा भएका प्रतिबद्धता अनुरुप धरै कम लगानी भित्र्याउन असफल भएको नेपालले नयाँ संभावनाहरु बोकेर आएका कम्पनीहरुलाई निरुत्साहित गर्दा कसरी लगानी सम्मेलन सफल होला ?

सरकारको यस्तो अनुदार रवैयाले किन र कस्ता लगानीकर्ता नेपाल भित्रिएलान् ? कुनै पनि लगानीकर्ताको प्रमुख उद्देश्य नाफा कमाउनु हुन्छ । नाफा हुनका लागि केही योजनाहरुका साथ लगानीकर्ताहरु भित्रिने गर्छन्। तर उनीहरुका योजना शुरु हुननपाई कानुनको लठ्ठी लगाउँदा कसरी लगानीकर्ताहरु आकर्षित होलान ?

टुटल र पठाओ प्रति देखाएको अनुदार ब्यवहारका समाचारहरु संसारभरी फैलिसकेका छन्। हरेक लगानीकर्ताहरु उक्त समाचारलाई पक्कै पनि पच्छ्याईरहेका छन्। यस्ता कार्यहरुले कुन आधारमा लगानी मैत्री बातावरण छ भनेर हामी भन्न सक्छौं ।  

नेपाल अहिले स्थिरता र विकासको पर्काईमा रहेको छ। यसरी यो अवस्थामा बिदेशी लगानी आकर्षित गर्नका निम्ती नयाँ कार्यहरुलाई रोक्दा अन्तराष्ट्रिय स्तरमा कस्तो सूचना गइरहेको छ त्यता ध्यान दिनु उचित हुने देखिन्छ । सरकारले अविलम्ब ‘टुटल-पठाओ’लाई बन्द गर्ने भन्दा पनि आवश्यक ऐन कानून निर्माण गरि नियमन गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ