arrow

पहिलो ५ महिनाको अर्थतन्त्र : शोधनान्तर घाटा झनै चुलियो, मूल्यबृद्धि घट्यो

logo
प्रकाशित २०७५ माघ ३ बिहिबार
NRB.JPG

काठमाडौं । नेपाल राष्ट्र बैंकले पहिलो ५ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । बिहीबार सार्वजनिक गरेको सो तथ्यांकमा राष्ट्र बैंकले शोधनान्तर घाटाको दर चौथो त्रैमासिकमा भन्दा बढेको देखाएको छ भने मूल्यबृद्धिमा घटेको छ । 

राष्ट्र बैंकका अनुसार वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ३.७ प्रतिशत रहेको छ । २०७५ मंसिर महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ४.२ प्रतिशत रहेको थियो ।   

राष्ट्र बैंकको तथ्यांक अनुसार आयातको वृद्धिदर ३४.२ प्रतिशत र निर्यातको वृद्धिदर ११.२ प्रतिशत रहेको छ । विप्रेषण आप्रवाह तर्फ नेपाली रुपैयाँमा ३१.९ प्रतिशत र अमेरिकी डलरमा १९.२ प्रतिशतले बृद्धि भएको छ । शोधनान्तर स्थिति रु.८५ अर्ब ३२ करोडले घाटामा रहेको छ । जुन अघिल्लो महिना ५७ अर्ब ३३ करोड रुपैयाले शोधनान्तर घाटामा रहेको थियो । 

नगद प्रवाहमा आधारित सरकारी खर्च ६.८ प्रतिशतले र राजस्व संकलन २६.३ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । विस्तृत मुद्राप्रदाय ५.१ प्रतिशतले बढेको छ भने वार्षिक बिन्दुगत आधारमा विस्तृत मुद्राप्रदाय १९.४ प्रतिशतले बढेको छ ।

बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन ६.२ प्रतिशतले र निजी क्षेत्रतर्फको कर्जा १०.२ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १९.८ प्रतिशत र कर्जाको वृद्धिदर २४.१ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागले जनाएको छ । 

खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति सीमान्त रुपले मात्र बढेको कारण समग्र उपभोक्ता मुद्रास्फीति अघिल्लो वर्षको तुलनामा न्यून रहेको हो । २०७५ मंसिर महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ०.५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त समूहको मुद्रास्फीति २.८ प्रतिशत रहेको थियो। २०७४ मंसिरको तुलनामा तरकारी, दाल तथा दलहन र चिनी तथा चिनीजन्य पदार्थ उप–समूहका वस्तुहरूको मूल्य घटेका कारण समग्र खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति न्यून रहेको हो । 

आर्थिक वर्ष २०७५÷७६ को पाँच महिनामा कुल वस्तु निर्यात ११.२ प्रतिशतले वृद्धि भई रु.३७ अर्ब ५० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १०.१ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ २०.७ प्रतिशत र अन्य मुलुकतर्फ ३.० प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फ ३०.७ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा पोलिष्टर यार्न, जस्तापाता, कार्पेट, गेडागुडी, तयारी पोशाक, पश्मिना, जुटका सामान लगायतका वस्तुको निर्यात बढेको छ भने अलैची, रोजिन, छाला, जुत्ता र चप्पल लगायतका वस्तुहरुको निर्यात घटेको छ । 

समीक्षा अवधिमा विप्रेषण आप्रवाह ३१.९ प्रतिशतले वृद्धि भई रु.३७६ अर्ब ५९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.८ प्रतिशतले घटेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १९.२ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ३.२ प्रतिशतले बढेको थियो । 

कुल विदेशी विनिमय सञ्चिति २०७५ असार मसान्तको रु.११०२ अर्ब ५९ करोडबाट ३.३ प्रतिशतले कमी आई २०७५ मंसिर मसान्तमा रु.१०६५ अर्ब ८० करोड रहेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७५ असार मसान्तको १० अर्ब ८ करोडबाट ७.९ प्रतिशतले कमी आई २०७५ मंसिर मसान्तमा ९ अर्ब २९ करोड रहेको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ