arrow

आकाशमा प्याराग्लाइडिङ र नदीमा र्‍याफ्टिङ

logo
प्रकाश सिलवाल / नवीनबाबु अधिकारी,
प्रकाशित २०७५ माघ ४ शुक्रबार
paragliding1.jpg.jpeg

फिक्कल (सिन्धुली) । नागबेली आकारमा बगेको सुनकोशी नदी । हरियाली धेरै नभए पनि सुन्दर डाँडाकाँडा । रमणीय हिमालको दृश्यसँगै आकाशमा प्याराग्लाइडिङ । नदीमा र्‍याफ्टिङ ।

भूगोल र प्राकृतिक सम्पदाको दृष्टिले पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना बोकेको सिन्धुलीमा सडक र अन्य पूर्वाधारको अपर्याप्तताका कारण विकासमा पछाडि परिरहेको बेला प्रथम फिक्कल महोत्सवले पर्यटकीय सम्भावना पहिल्याएको छ ।

मध्यपहाडी लोकमार्गले छोए पनि हालसम्म सञ्चार र बिजुलीको सेवा पाउने सुनिश्चिततासँगै खाङसाङ क्षेत्रले विकासको नयाँ सम्भावनालाई पहिल्याएको हो । यही माघ २ गतेदेखि शुरु भएर आगामी ७ गतेसम्म सञ्चालन हुने महोत्सवमा खाङसाङ क्षेत्रको सिन्धुलीको आकाशमा चरा झैँ प्याराग्लाइडिङ उडान शुरु भएपछि सहभागीको आकर्षण बढेको छ ।

प्याराग्लाइडिङसँगै सुनकोशी नदीमा जलयात्रा ‘र्‍याफ्टिङ’ समेत गरिएपछि स्थानीयवासी हौसिएका छन् । ओखलढुङ्गाको टोड्के डाँडोबाट परीक्षण उडान गरिएको प्याराग्लाइडिङ खाङसाङस्थित सुनकोशी किनारमा २० मिनेट उडेर सफल अवतरण भएसँगै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले महोत्सवको उद्घाटन गरेका थिए ।

महोत्सवका क्रममा सुनकोशी नदीका नवलपुरघाटदेखि खाङसाङसम्मको ७ किलोमिटरमा र्‍याफ्टिङ सञ्चालन गरिएको छ । सांसद गणेश पहाडीले विगत समयमा नै जिल्ला विकास समितिमार्फत् व्यावसायिक जलयात्रा सञ्चालनका लागि योजना अघि सारिएको र अब यसलाई कार्यान्वयनको चरणमा ल्याइएको बताए। कृषि, जडीबुटी, वन र पर्यटनलाई समृद्धिको मूल आधार बनाउन स्थानीय तहले थालनी गरेका कार्यक्रमलाई आफ्नोतर्फबाट साथ रहने उनले घोषणा गरे।

र्‍याफ्टिङ गराउने रिभर गाइड खुम रानामगरले सुनकोशी नदीलाई सफा र संरक्षित गर्दै पर्यटकलाई आकर्षित गराउन सकिने बताउछन् । प्याराग्लाइडिङ हेर्न साना बालबालिकादेखि वृद्धवृद्धासम्म नदी किनारमा झुम्मिएका थिए । उनीहरुका आँखा सिन्धुलीको सोल्पा, फिक्कललगाययतको आकाशमाथितिर फर्किएका थिए ।

“आकाशमा पँखेटा हालेर जता उड्न मन लाग्यो उतै उडेको देख्दा अचम्मित भइयो”, स्थानीय ठाकुरप्रसाद पहाडीले भने, “पोखरातिर आकाशमा मानिस उड्छन् भन्ने सुनेको थिएँ तर देखेको थिइनँ आज आफ्नै गाउँमा मान्छे उडेको देख्दा रमाइलो लागेको छ ।” ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–२ का दिलकुमार सुनुवारले फ्लाई हिमालयन प्याराग्लाइडिङ कम्पनीमार्फत विगत सात वर्षदेखि पर्यटकलाई आकाशमा उडाउँदै आएका छन् ।

परीक्षण सफल भएपछि उनि भन्छन् , “यस क्षेत्रमा पहिलोपटक प्याराग्लाइडिङ उडान गरेको हुँ, यहाँ सडकको सुविधा भए राम्रो उडान गर्न सकिने सम्भावना छ । टोड्केसम्म ट्र्याक्टरमा उकालो चढ्न पर्यटकलाई कठिन छ । पैदल जाँदा घण्टौँ लाग्छ ।”

प्याराग्लाइडिङ सिन्धुली, ओखलढुङ्गा र रामेछाप जिल्लामा उड्न सकिने र मौसम राम्रो हुँदा स्थानीय तहले व्यावसायिक सञ्चालनका लागि अनुमति दिन उचित हुने उनले बताए । सुनकोशीमा नियमित र्‍याफ्टिङ सञ्चालन गरिएमा सिन्धुली, ओखलढुङ्गा, उदयपुर र रामेछापलाई समेत पर्यटकीय विकासमा जोड्न सकिने देखिएको छ ।

फिक्कलडाँडा सिन्धुली जिल्लाकै सबैभन्दा अग्लो समुन्द्री सतहबाट सात हजार ७०७ फिटको उचाइमा पर्ने भएकाले यसलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने लक्ष्य लिइएको फिक्कल गाउँपालिकाका उपाध्यक्ष पार्वती सुनुवारले बताइन् । यस स्थलबाट सूर्योदय, सूर्यास्तजस्ता दृश्य देखिन सकिने भएकाले प्याराग्लाइडिङलाई प्राथमिकता दिइएको र यसबाट आन्तरिक तथा बाह्य पर्यटकमार्फत समृद्धिको यात्रा तय गरेको उनि बताउछिन्  ।

स्थानीय अर्गानिक कृषिउपजको व्यवस्थापन, व्यावसायिक कृषि, मगर र सुनुवार जातिका मौलिक संस्कृतिले पनि पर्यटकलाई आकर्षित गराउन सकिने भएकाले केही समयपछि होमस्टे (घरबास) सञ्चालनका लागि पनि योजना बनाउने उपाध्यक्ष सुनुवारले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ