arrow

सहयोगी हातले धानेको बृद्धाश्रम

बृद्धाश्रमलाई सहयोगको ओइरो

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७५ माघ ७ सोमबार
bidrashram.jpg

स्याङ्जा । गल्याङ् नगरपालिका १ मा रहेको बृद्धाश्रममा बसेका जेष्ठ नागरिकलाई सहयोगको ओइरो नै लाग्न थालेको छ । कसैको जन्म दिनमा होस वा विभिन्न सामाजिक संघसंस्थाले विभिन्न सामाग्री सहित सहयोगी हातहरु बढ्न थालेका छन् । 

२२ जना साहार विहिन जेष्ठ नागरिकहरु बस्दै आएको बृद्धाश्रममा सरकारी चासो नभए पनि सामाजिक संघसंस्थाहरुले भने सहयोग गर्दै आएको शिव पार्वती बृद्धाश्रम तथा बहुउदेश्य संस्थाका सदस्य सचिव सुनिल श्रेष्ठले बताए । धार्मिक तिर्थ स्थलका रुपमा समेत परिचित रामनदी धाममा २०६५ सालमा महायज्ञ गरी बृद्धाश्रम निर्माण गरिएको थियो । सरकारी चासो नहुनु र साहार विहिन जेष्ठ नागरिकको दैनिकी कहालि लाग्दो देखेर बृद्धाश्रम निर्माण प्रक्रिया अगाडी बढाएको संस्थाका पुर्व अध्यक्ष अनन्तराज गैहै्रले बताए ।

वालिङ १० भकुण्डेका स्थानीयहरुको पहलमा निर्माणाधिन हाल एकतले सुविधा सम्पन्न भवन निर्माण भईसकेको छ । बस्न सुविधा भएपनि खानका लागि भने जेष्ठ नागरिकलाई निकै कठिन छ । यो समस्या बाहिर आउन थालेपछि विभिन्न संघसंस्था र व्याक्तिगत रुपमा खाद्यन्न, लत्ता कपडा, भाडावर्तन सहयोग गर्नेहरुको अहिले ओइरो नै लागेको छ । समस्याको पहिचान गरी सहयोग गर्ने सामाजिक संघसंस्थाहरुले सहयोग गर्ने गरेको वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेलले बताए ।

कालीगण्डकी किनारमा रहेको बृद्धाश्रम जाडो समयमा अत्यन्तै चिसो हुने भएकाले चिसो मौसममा जेष्ठ नागरिकले निकै कष्टकर सहन बाध्य भएका छन् । भवन निर्माण भएपनि हरेक झ्याल ढोकामा पर्दा नहुँदा चिसोले सताउने र बृद्धबृद्धाहरु बिरामी हुने गरेपछि वालिङ ९ ठाडो लाईन टोल सुधार आमा समुहले करिव १ लाख ५० हजार बराबरको स्तरीय पर्दा सहयोग गरेको संस्थाकी अध्यक्ष शेमला काफ्लेले बताईन् ।

९२ बर्षिय जेष्ठ नागरिक ललिता देवकोटालाई पर्दा हस्तान्तरण गरि सहयोग गरेको काफ्लेलेको भनाई छ । जेष्ठ नागरिक हाम्रा सम्पति हुन अध्यक्ष काफ्लेले भनिन्,“हामी पनि भोली बृद्ध बन्छौ भन्ने भावना बुझेर सबैले सहयोग गर्नु आवश्यक छ ।” उनीहरुको सम्मान र संरक्षण गर्नु हामी सबैको दायीत्व हो उनले भनिन् । बृद्धाश्रममा बस्ने जेष्ठ नागरिकको बेला बेलामा स्वास्थ्य शिविर राखेर उनीहरुको स्वास्थ्य परिक्षण, खाद्यन्न, चिसो तातोको व्यवस्था लगायतमा सरकारले चासो दिनु पर्ने आवश्यकता रहेको छ । अहिले सम्म उनीहरुको लालन पोषण सहयोगी हातहरुले नै धानेको छ । स्थानीय सरकारले समेत सो बृद्धाश्रमलाई अहिलेसम्म कुनै सहयोग नगरेको गुनासो उनीहरुको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ