- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । चीनको सिन्चियाङ प्रान्तमा रहेको एक मुस्लिम शरणार्थीहरुको अवस्था भयावह रहेको एक प्रतिवेदन सार्वजनिक भएको छ । सीएनएनले एक प्रतिवेदन सार्वजनिक गर्दै चीनले युग्युर मुस्लिमहरुमाथि ज्यादती गरिरहेको दाबी गरेको हो ।
स्थलगत रिपोर्टिङको क्रममा त्यहाँका मुस्लिमहरु मर्नु न बाँच्नुको अवस्थामा रहेको सीएनएनको दाबी छ । यसबारेमा चीनको आधिकारिक विभागले भने यो प्रतिवेदनमा उल्लेख गरिएकोजस्तो अवस्था नरहेको बताएको छ । प्रतिवेदनमा यो क्षेत्रका ८ लाखदेखि २० लाखसम्म मुस्लिमहरुलाई हिरासतमा लिइएको उल्लेख छ ।
चिनियाँ विदेशमन्त्रालयले भने सीएनएनको प्रतिवेदन कुनै नियोजित उद्देश्यबाट प्रभावित रहेको आरोप लगाएको छ । साथै यो प्रतिवेदनका सबै तथ्यहरु झुटो रहेको बताएको छ । सीएनएनले टुर्सुन नाम गरेकी महिलाको आधारमा शरणार्थी क्याम्पमा चीनले ज्यादती गर्ने गरेको छ र उनको एक छोरा पनि चीनको अस्पतालमा मारिएको उल्लेख गरेकी थिइन् ।
यसबारे जवाफ दिँदै चिनियाँ विदेशमन्त्रालयका प्रवक्ताले उक्त महिना सन् २०१७ मा धर्मबारे घृणा फैलाउने काम गरेको आरोपमा २० दिन प्रहरी हिरासतमा रहेकी र त्यसपछि चीनमा स्वतन्त्रपूर्वक भ्रमण गरिरहेकी उल्लेख गरेको छ । उनको छोरा चिनियाँ अस्पतालमा मारिएको नभई उनले आफन्तहरुसँग टर्की पठाएको चीनको दाबी छ ।
लामो समयदेखि चीनमाथि युग्युर मुस्लिममाथि ज्यादती गर्दै आएको आरोप अन्तर्राष्ट्रिय समुदायले लगाउँदै आएका छन् । विशेषगरी अमेरिकाले मानवअधिकार बारे चीनमाथि प्रश्न उठाउँदै आएको छ । युग्युरको मानवअधिकारको विषयमा बोल्ने युग्युर ह्युमन राइट्स पोलिसी एक्टका अनुसार बाहिरबाट चीन पुगेका युग्युर मुस्लिमहरु चीनबाट हराइरहेको उल्लेख गरेको छ । जसमध्ये धेरैलाई चीनले हिरासतमा लिएर यातना दिने गरेको बताइएको छ ।
यो क्षेत्रमा २ करोड २० लाख युग्युर समुदायका मुस्लिमहरु रहेका छन् । यो समुदाय चीनको वास्तविक धर्मभन्दा पृथक् भएकोले उनीहरुमाथि चीनले यातना दिने गरेको अरोप लाग्दै आएको छ । चीनले आफू मानवअधिकारमा पूर्ण प्रतिबद्ध रहेको र आरोप लगाइएको जस्तै कुनै पनि गतिविधि नभएको दाबी गरेको छ ।
यसअघि अमेरिकाका शक्तिशाली दुई पार्टीका सांसदहरुले चीनको मानवअधिकारको विषयमा अमेरिकाको संसदमा कुरा उठाएका थिए । चीनको सिन्चियाङ प्रान्तको युग्युरका मुस्लिममाथि मानवअधिकार उलंघन भएको भन्दै उनीहरुले संसदमा कुरा उठाएका थिए । उनीहरुलाई जेलमा थुनेर श्रम शोषण गरिने गरिएको बताइएको थियो।
अमेरिकी संसदमा सांसदहरुले अमेरिकाले चीनको सरकार र कम्युनिष्ट पार्टीको विरुद्धमा कदम उठाउनुपर्ने माग गर्दै आएका छन्। चीनमा अल्पसंख्यक लाखौं मानिसहरुमाथि मानव अधिकारको उलंघन हुने गरेको विभिन्न विवरणहरुले देखाउँदै आएका छन् ।
अमेरिकामा चीनको मानव अधिकारको विषयमा अमेरिकाको स्पष्ट धारणा हुनुपर्ने माग गरिँदै आएको छ । अमेरिकामा चीनले मानव अधिकारको उलंघन गरेको भन्ने गुनासो व्यापक मात्रामा उठ्ने गरेको छ। केही समयअघि अमेरिकी विदेशमन्त्रीले पनि चीनको मानवअधिकारको विषयमा कुरा उठाएका थिए। चीनले भने आफूहरु मानव अधिकारमा प्रतिबद्ध रहेको र यो आफूहरुको आन्तरिक मामिला रहेको बताएको थियो।
साथै यसमा अन्य मुलुकहरुलाई हस्तक्षेप नगर्न पनि उसले चेतावनी दिएको थियो।