arrow

अमेरिकामा सरकारी खर्चको बाटो खुल्यो

logo
सिन्ह्वा,
प्रकाशित २०७५ माघ १२ शनिबार
America-2014.png.png

वासिङ्टन। अमेरिकामा लामो समयसम्म गतिरोध रहेको भनिएको सरकारी खर्चसम्बन्धी विवाद अहिलेका लागि अन्त्य भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यससम्बन्धी विधेयकमा हस्ताक्षर गरेका छन्। जसका कारण यहाँको बजेटसम्बन्धी गतिरोध हालका निम्ति अन्त्य भएको हो।

अमेरिकी इतिहासकै सबभन्दा लामो समयसम्म सरकारी खर्चका लागि समस्या उत्पन्न भएको थियो। त्यसको अन्त्य गर्न राष्ट्रपति डोनाल्ड ट्रम्प सहमत भएपछि आगामी तीन हप्ताका लागि बाटो खुलेको समाचारमा जनाइएको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले यससम्बन्धी विधेयकमा शुक्रबार अबेरतिर हस्ताक्षर गरेका हुन्। उनले सरकारी खर्चका लागि आगामी फेब्रुअरी १५ सम्म खर्च गर्न पाउनेगरी सो विधेयकमा हस्ताक्षर गरेका हुन्।

मेक्सिकोसँगको सिमानामा पर्खाल बनाउने बजेटको व्यवस्था गर्नुपर्ने भन्दै उनले अमेरिकी सिनेटसँग आफ्नो माग राख्दै आएका छन्। तर हिजो पारित गरिएको सो विधेयकमा पनि उनको सो मागका बारेमा भने केही उल्लेख छैन।

साथै उता संसदले पनि यस विषयमा बजेट दिने बारेमा कुनै पनि सहमति गरेको छैन। तर पनि फेडरल सरकारलाई खर्चका लागि निकै समस्या उत्पन्न भएपछि उनले यो विधेयक जारी गरेका हुन्।

यसअघि राष्ट्रपति ट्रम्पले संसदले सीमा पर्खालका लागि करिब पौने ६ अर्ब अमेरिकी डलर बजेट दिनुपर्ने अडान राखेका थिए। उनको सो अडान अहिले पनि कायमै छ।

उनले संसदले सो बजेटको व्यवस्था नगरेसम्मका लागि सरकारी खर्चसम्बन्धी प्रस्तावलाई रोक्दै आएका छन्। त्यो खर्चलाई सहजै अनुमति नदिने भन्दै उनले चेतावनी दिएका छन्।

शुक्रबार अमेरिकी विपक्षी दलका नेताहरूसँगको छलफलपछि सिनेटमा एकमतले सरकारी निकायहरूलाई आगामी तीन साताका लागि मात्र खर्चको कोष दिने सहमति भएको थियो र त्यसैबमोजिम कानुन पनि पारित भएको हो।

तर राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको सो सीमा सुरक्षाबारेको कुराकानी भने जारी नै रहने सहमति कायम भएको पनि समाचारमा बताइएको छ। मेरिकाको सत्तारुड र विपक्षी दलकाबीचमा भएको पछिल्लो सहमति अनुसार अमेरिकी संघीय सरकारलाई आगामी तीन हप्तासम्म सरकारी कोष उपलब्ध हुनेछ र त्यसबाट खर्चको अनुमति हुनेछ।

अमेरिकामा छिर्दै आएका भनिएका अवैध आप्रवासीलाई रोक्न अमेरिका र मेक्सिकोको सिमानामा पर्खाल बनाउन आवश्यक भएको राष्ट्रपति ट्रम्पको अडान रही आएको छ। विपक्षी दलले सो प्रस्ताव सम्भव नरहेको बताइरहेको छ।

उक्त कानुनमा राष्ट्रपतिले ट्रम्पले शुक्रबार अबेरतिर हस्ताक्षर गर्नुभएको र यसका कारण संघीय सरकार र यसका निकायले खर्च गर्ने अधिकार खुला भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएको बताइएको छ।

अमेरिकामा गएको ३५ दिन देखि सरकारी खर्च ठप्प हुन पुगेको थियो। यस अवधिमा संघीय निकायका करिब आठ लाख कर्मचारीहरूले विना तलब काम गरिरहेका थिए।

राष्ट्रपति ट्रम्पको यो पर्खालसम्बन्धी मागलाई तल्लो सदनमा निर्णायक हैसियतमा रही आएको विपक्षी डेमोक्र्याट पार्टीले अस्वीकार गर्दै आएको छ। सोही कारणले यसको बदलास्वरुप राष्ट्रपति ट्रम्पले पनि खर्च गर्ने अनुमति राकिदिएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ