कुनैबेला ल्याटिन अमेरिकाकै धनी मुलुक भेनेजुयला किन भोग्दैछ चरम आर्थिक संकट ?
प्रकाशित २०७५ माघ १२ शनिबार
979
Shares
काठमाडौं। भेनेजुयला कुनै समय ल्याटिन अमेरिकाको सबैभन्दा धनी मुलुक थियो। यो मुलुकसँग साउदी अरेबियाभन्दा पनि धेरै तेल छ। त्यसका साथै सुन र हीराको खजाना पनि रहेको छ। यद्यपि पूरा अर्थतन्त्र तेलमा निर्भर रहेको छ। सरकारको ९५ प्रतिशतको आम्दानीको तेलले ओगटेको छ।
१९९८ मा मुलुकको राष्ट्रपति बनेका ह्युगो चाभेजले लामो समयसम्म सत्तामा रहनका लागि मुलुकको सबै प्रणालीमा उल्लेख्य बदलाव गरे। सरकारी र राजनीतिक बदलावका साथै चाभेजले सबै उद्योगलाई सरकारीकराण गरे। निजी क्षेत्रविरुद्धका योजना ल्याए। जहाँ खर्च अपुग भयो, त्यहाँ उल्लेख्य ऋण लिए। यो नीतिको कारण बिस्तारै मुलुक ऋणमा चुर्लुम्म भयो। तेल कम्पनीलाई आवश्यक रकम दिनाले चाभेज मुलुकको शासक त बने तर भेनेजुयलाको अर्थतन्त्र डुब्दै गयो।
सन् २०१३ मा निकोलस मादुरोलाई चाभेजले आफ्नो उत्तराधिकारी चयन गरेका थिए। जतिबेला भेनेजुयलाको अर्थतन्त्र कमजोर बन्दै गइरहेको छ। विशेषगरी त्यतिबेला तेलको मूल्यमा निरन्तर कमी आइरहेको थियो। यसले मुलुकको आम्दानी घट्न पुग्यो र गरिबी बढ्न थाल्यो। मादुरोले मुद्राको मूल्य घटाउँदै समस्या समाधानको योजना ल्याए। यो योजनाले केही राम्रो भएन, बदलामा मूल्यवृद्धिको मार थपियो।
भेनेजुयलाको सबैभन्दा ठूलो समस्या
मुद्राको मूल्य घट्नु, बिजुली कटौती तथा आवश्यक सामग्री महँगो हुनु भेनेजुयलाको सबैभन्दा समस्या हो। भेनेजुयलामा जलविद्युत्को अत्यधिक प्रयोग हुने गरेको छ। सन् २०१५ को सुख्खापनको कारण भेनेजुयलाको बिजुली उत्पादनमा कमी आयो।
बिजुलीको संकट यति धेरै बढ्यो कि अप्रिलमा सरकारले सरकारी कार्यालय सोमबार मात्र खुला रहने घोषणा गर्यो। गत एक वर्षमा भेनेजुलाको मुद्रास्फीतिदर १ लाख ३० हजार प्रतिशत पुगेको छ। यो मुद्रास्फीतिदरले महँगी कति बढ्यो भन्ने कुराको केवल कल्पनामात्र गर्न सकिन्छ। २०१७ सम्ममा नै भेनेजुयलाको विदेशी ऋण १ खर्ब ४० अर्ब अमेरिकी डलर पुगेको थियो। भेनेजुयलासँग साउदीभन्दा धेरै तेल भएता पनि प्रशोधनको खर्च धेरै पनि धेरै छ। यहाँ तेल कम्पनी सरकारी भएका छन् तर उत्पादन कम हुँदै गएको छ। जसले रोजगारी र आम्दानीको प्रश्न पनि उत्पन्न भएको छ।
सर्वसाधारणको अवस्था कस्तो छ ?
तेलबाट पैसा आउँदासम्म अनुत्पादक क्षेत्रमा चाभेजले खर्च बढाउँदै गए। अहिले भेनेजुयलाको अवस्था यति खराब भएको छ कि एक किलो मासुको लागि ३ लाख बोलिभर खर्च गर्नुपर्ने अवस्था छ। महिलाहरु पैसाको लागि कपाल बेच्दै आएका छन्। प्रत्येक ३५ दिनमा सामग्रीको मूल्य दोब्बर भइरहेको छ। अहिले यहाँ ५ मध्ये ४ जना मानिसहरु गरिब छन्। खानेकुरा किन्नका लागि पैसा नभएका मानिसहरु लुटपाट मच्चाइरहेका छन्।
सन् २०१४ देखि अहिलेसम्म २३ लाख मानिहरुले मुलुक छाडिसकेका छन्। बुधबार र बिहीबार मादुरोको विरुद्धमा भेनेजुयलामा प्रदर्शन भयो, जसमा १४ जना मानिसको ज्यान गएको थियो। २०१४ देखि अहिलेसम्म भेनेजुयलामा पेट्रोलको मूल्य ६ हजार प्रतिशतले बढिसकेको छ। तेलको उत्पादन पनि ३० लाख ब्यारेलबाट घटेर अढाइ लाखमा झरेको छ। प्रत्येक २१ मिनेटमा एक हत्या हुने गरेको छ।
अब के होला ?
भेनेजुयलाको भविष्य रुस, अमेरिका र चीनजस्ता मुलुकले आफ्नो इज्जत बनाएसँगै यी मुलुककमा निर्भर रहेको छ। यस्तोमा अमेरिकाले भेनेजुयलामाथि तेलमा प्रतिन्बन्ध लगाउन सक्छ। साथै चीन र रुससँग भेनेजुयलाको उल्लेख्य ऋण पनि रहेको छ। यस्तोमा भेनेुजयलाले आफ्नो ऋण तिर्न धनी मुलुकसँग आग्रह गर्ने र उनीहरुले सहयोग दिने सम्भावना पनि रहेको छ।