arrow

ट्रेकिङको ठगीबाट आजीत बीमा कम्पनीले दिए २० दिनभित्र सेवा बन्द गर्ने चेतावनी

logo
न्युयोर्क टाइम्स
प्रकाशित २०७५ माघ १२ शनिबार
insurence_company.png

काठमाडौं । अन्तर्राष्ट्रिय इन्स्योरेन्स कम्पनीले शुक्रबार यदि सरकारले हेलिकोप्टरबाट उद्धारको योजनामा देखिएको ठगी बन्द नगरे आफ्नो सेवा बन्द गर्ने चेतावनी दिएका छन् । 

विदेशीहरुलाई ट्रेकिङको क्रममा सगरमाथा नजिकैबाट लेक लागेका व्यक्तिलाई हेलिकोप्टरबाट उद्धार गरिन्छ ।  गत वर्ष नेपाल सरकार र आयरल्याण्डको एक मेडिकल सहयोगी कम्पनीले गरेको अनुसन्धानमा केही ट्रेक सञ्चालक, गाइड, हेलिकोप्टर कम्पनी र डक्टर तथा हस्पिटलले पनि बीमा कम्पनीबाट लाखौं रकम ठगिरहेको खुलेको थियो । 

उनीहरुले सामान्य बिरामीका लागि पनि आपतकालीन सेवाको माग गर्दै ठगी गर्ने गरेको पाइएको थियो । जबकी त्यसका लागि सामान्य उपचार सेवा उपलब्ध हुन्छ । 

उनीहरुले बिरामी नपर्ने अवस्था भएपनि विभिन्न उपाय अपनाएर पर्यटकलाई बिरामी बनाई हेलिकप्टरबाट उद्दार गर्ने र सो बापत बीमा दाबी गरी व्यवसायीहरुले कमाउ धन्दा थालेको समेत खुलेको थियो । 

न्युयोर्क टाइम्सका अनुसार यहाँका गाइडहरु निकै खराब हुन्छन् । उनीहरु ट्रेकरलाई राम्रो सुविधा भएको गाउँको बाटो नलगी कुनै पनि सुविधा नमिल्ने स्थानमा लैजाने गर्छन् । भ्रमणकर्ताको खर्च बढाउन नियतवश यस्तो गरिने गरिएको पाइएको हो । 

त्यसका साथै बेकिङ सोडाको अत्यधिक प्रयोगले मानिसलाई वान्ता हुने पखाला लाग्नेजस्ता समस्या देखिन्छ। त्यसपछि उनीहरुले आपतकालीन उद्धारको लागि हेलिकोप्टर बोलाउने गर्छन् । 

यस किसिमको उद्धारको खर्च ४० हजार अमेरिकी डलरभन्दा बढी पर्ने गर्छ । इन्स्योरेन्स कम्पनीहरु यस किसिमको बिलबाट हैरान भएका छन् । ट्राभलर एसिस्ट कम्पनीका प्रबन्ध निर्देशक जोनाथल बानक्रफ्टले ठगी तथा कर छलीमा दोषी देखिएका १७ नेपाली कम्पनीलाई कारबाही गर्न नसक्नुको कारण माग गरेका छन् । 

शुक्रबार पर्यटनमन्त्रीलाई बुझाइएको पत्रमा बाक्राफ्टले यदि सरकारले उक्त कम्पनीहरुमाथि कुनै कारबाही नचलाएको खण्डमा इन्स्योरेन्स कम्पनीहरुले नेपालको व्यापार फेब्रुअरी १५ बाट बन्द गर्ने चेतावनी दिएका छन्। उनले नेपालको प्रतिष्ठाका साथै पर्यटन क्षेत्रमा पनि नकारात्मक असर पर्नसक्ने चेतावनी समेत दिएका छन् । 

अहिले उनको मातहतका २३ ट्राभल इन्स्योरेन्स कम्पनीले वार्षिक १ लाख मानिसहरुलाई सेवा प्रदान गरिरहेको छ । गत वर्ष केवल १० लाख पर्यटक नेपाल आएका थिए । जसमध्ये धेरैको शोख विकट ठाउँमा यात्रा गर्ने रहेको थियो । 

गत वर्षको अनुसन्धानमा चार अस्पताल र १३ हेलिकोप्टर कम्पनीले ठगी गरिरहेको पाइएको थियो । सन् २०१८ को ८ महिनामा १६ सय हेलिकोप्टरको उद्धारमा ३५ प्रतिशत ठगीको थियो । 

यसअघि विदेशी पर्यटकलाई  जानाजान  बिरामी बनाएर केहि ट्रेकिङ व्यवसायीहरुले कमाउ धन्दा गरिरहेको उजुरीबारे संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले छानबिन सुरु गरेको थियो । 

पर्यटकलाई लेक लाग्नेलगायतका स्वास्थ्य समस्या तथा अन्य विपदको उद्दारको नाममा ट्रेकिङ–ट्राभल्स कम्पनी, हेलिकप्टर सेवा प्रदायक संस्था र अस्पतालसमेतको मिलेमतोमा फर्जी विवरणहरु तयार गरी बीमा रकम दाबी गर्ने र ठगी हुने गरेको पाइएको थियो। 

विदेशी पर्यटकहरु नेपाल भित्रिएलगत्तै पर्वतारोहणमा आफ्नो गाइडलाई साथ लगाएर पुग्दै नपुगेको ठाउँमा पुगेको भनि बिरामी भएको बहानामा हेलिकप्टरमार्फत उद्दार गर्ने र आफैं सन्चालक रहेको स्वाकन इन्टरनेशनल अस्पतालमा भर्ना गराई उद्दार र उपचारको नाममा फर्जी बिल बनाएर बीमा भुक्तानी लिँदै आएको पनि अनुसन्धानमा खुलेको थियो । 

अनुसन्धानमा दोषी रहेको भनी १७ कम्पनीको नाम सार्वजनिक गरिएको थियो । यद्यपि, उक्त कम्पनीहरुमाथि कुनै कारबाही नभएपछि बीमा कम्पनीले नेपालमा व्यापार नगर्ने चेतावनी दिएका हुन् । यस विषयमा जानकारी माग्दा अधिकारीहरु भने एकअर्काको जिम्मेवारी रहेको भन्दै पन्छिने गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ