पाँच गोल बर्साउँदै म्यानचेस्टर सिटी एफए कपको पाँचौ चरणमा
प्रकाशित २०७५ माघ १३ आइतबार
397
Shares
काठमाडौं । म्यानचेस्टर सिटी एफए कप फुटबलको पाँचौ चरणका प्रवेश गरेको छ । प्रिमियर लिग प्रतिद्धन्द्धी बर्नलीलाई ५–० को विशाल गोल अन्तरले पराजित गर्दै सिटी एफए कपको पाँचौ चरणमा पुग्न सफल भएको हो ।
घरेलु मैदान इतिहाद स्टेडियममा शनिबार राति भएको खेलमा सिटीलाई जिताउने क्रममा मध्यान्तरअघि एक र मध्यान्तरपछि चार गोल भएको थियो ।
२३औं मिनेटमा डानिलोको पासमा गाब्रियल जेससको गोलबाट सिटीले खेलमा अग्रता बनाएको थियो । ५२औं मिनेटमा केभिन डि ब्रुयनको पासमा बर्नाडो सिल्भाले गोल गर्दै सिटीको अग्रता दोब्बर बनायो ।
६१औं मिनेटमा केभिनले रियाद महारजेको पासमा गोल गर्दै सिटीलाई ३–० को अग्रता दिलाए ।
७३औं मिनेटमा केभिन लङले आत्मघाती गोल गरेपछि सिटीले खेलमा ४–० को अग्रता बनायो ।
खेल सकिन ५ मिनेट बाँकी रहँदा वैकल्पिक खेलाडीको रुपमा मैदानमा प्रवेश गरेका सर्जियो अग्विरोले पेनाल्टीमार्फ गोल गर्दै सिटीलाई ५–० को फराकिलो जित दिलाए ।