arrow

यस्तो छ नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय यात्रा

logo
प्रकाशित २०७५ माघ १५ मंगलबार
nepal-crickete.JPG

काठमाडौँ । आइसिसीको सदस्यता पाएको झण्डै ३० वर्षपछि नेपालले गत वर्ष मात्र चार वर्षका लागि एकदिवसीय क्रिकेटको मान्यता पाएको थियो । सन् १९८८ मा आइसिसीको सदस्य बनेको नेपालले सन् १९९६ मा एसोसिएट राष्ट्रको मान्यता पाएको थियो थियो । नेपालले नामिवियामा अघिल्लो वर्ष सम्पन्न आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ को उपविजेता बन्दै एक दिवसीय मान्यता पाएको हो ।

२०७३ वैशाखमा क्यान निलम्बनमा परेपछि अहिलेसम्म नेपाली खेलाडीले अभिभावकबिनै ठूला प्रतियोगितामा सहभागिता जनाउँदै आएका छन् भने नेपाली क्रिकेटको व्यवस्थापकीय पक्ष सबै आइसिसीले हेर्दै आएको छ । निलम्बन फुकुवाको विषयमा लामो समयदेखि पहल शुरु भए पनि त्यसले सार्थकता पाउन सकेको छैन ।

आइसिसीले निलम्बन फुकुवाका लागि मार्ग प्रशस्त गर्न बारम्बार आग्रह गरेपछि निलम्बित नेपाल क्रिकेट सङ्घ (क्यान)ले राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई विपक्षी बनाएर सर्वोच्च अदालतमा दायर गरेको मुद्दा फिर्ता लिन निवेदन दर्ता गराएको छ । “आइसिसीले निलम्बन फुकुवाका लागि राखेको शर्त हामीले पूरा गरिसकेका छौँ, फेबु्रवरीमा आइसिसीको बोर्ड बैठक बस्दैछ, सोही बैठकले निलम्बन फुकुवा गर्नेमा हामी विश्वस्त छौँ”, निलम्बित क्यानका अध्यक्ष चतुरबहादुर चन्दले भने ।

वि सं. २०७२ मा राखेपले निर्वाचित क्यानलाई मान्यता नदिई रमेश सिलवालको नेतृत्वमा तदर्थ समिति गठन गरेसँगै क्यानका पदाधिकारीले सर्वोच्चमा मुद्दा दायर गरेका थिए । त्यसको चार महिनापछि २०७३ वैशाखमा क्रिकेटमा सरकारी हस्तक्षेप भएको भन्दै आइसीसीले नेपाली क्रिकेटलाई निलम्बन गरेको थियो ।

सीमित स्रोतसाधनमा नेपालमा क्रिकेट गतिविधि विस्तारै मौलाउने क्रममा २०४४ सालबाट शुरु भएको अन्तर्राष्ट्रिय सम्बन्धले देशभित्र यो खेल विस्तारमा थप योगदान गर्‍यो । पहिलोपल्ट २०५२ सालमा मलेशियाको क्वालालम्पुरमा सम्पन्न एसिसी ट्रफीमा नेपालले अन्तर्राष्ट्रिय सहभागिता जनायो ।

२०५५ सालमा नेपालले पहिलोपल्ट अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनाको अवसर पायो । त्यो वर्ष एसिसी ट्रफी आयोजना गर्दा नेपालले भौतिक पूर्वाधार निर्माणमा फड्को मार्यो । कीर्तिपुर र पुल्चोकको क्रिकेट मैदान त्यहीबेला बनाइएको हो । प्रतियोगितामा नेपाली टोलीले एउटै खेल जित्न नसके पनि दुई अन्तर्राष्ट्रियस्तरका मैदान बन्नु नेपाली क्रिकेटका लागि ठूलो उपलब्धि थियो ।

सन् २००२ मा सिङ्गापुरमा सम्पन्न एसिसी ट्रफीमा नेपाल उपविजेता बन्यो । उपाधि युएईले जित्यो । लगत्तैको वर्ष इमर्जिङ नेसन्स कप आयोजना गर्दा भुटान र माल्दिभ्सलाई सहजै हराएको नेपालले उपाधि नै जित्यो ।

त्यसयता लगातार अन्तर्राष्ट्रिय प्रतियोगितामा मिश्रित सफलता हासिल गर्दै अघि बढेको नेपाली टोलीले २००८ मा विश्व क्रिकेट लिग डिभिजन–५ खेल्न जर्सीको भ्रमण गर्‍यो । समूह ‘ए’ को शीर्ष टोली बनेर सेमिफाइनल पुगेको नेपाल अन्तिम चारमा अफगानिस्तानसँग पराजित भयो भने अमेरिकालाई प्लेअफमा हराउँदै तेस्रो स्थान हासिल गर्न सफल भयो ।

सन् २०१० को फेब्रुवरीमा काठमाडौँमा सम्पन्न डिभिजन–५ नेपालले जित्यो । अमेरिकालाई फाइनलमा हराएर जितेको त्यो नेपालको पहिलो उपाधि थियो । त्यही वर्ष भएको डिभिजन–४ मा नेपाल तेस्रो हुँदै ‘रेलिगेसन’बाट जोगियो । सन् २०१२ मा डिभिजन–४ जितेर डिभिजन–३ मा उक्लिएको नेपाल सन् २०१३ को मार्चमा सम्पन्न डिभिजन–३ मा पनि विजेता बन्दै डिभिजन–२ मा उक्लियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ