ताइवान विमानस्थलमा १२५ दिनसम्म अलपत्र परेका चिनियाँलाई अस्थायी भिसा
एएफपी,
प्रकाशित २०७५ माघ १७ बिहिबार
542
Shares
ताइपेइ। ताइवानको एक विमानस्थलमा चार महिनाभन्दा बढी समय अलपत्र परेका दुई जना चिनियाँ नागरिकलाई ताइवान सरकारले देशभित्र प्रवेश गर्ने अस्थायी अनुमति दिएको छ। ताइवानको ताओयुन विमानस्थलको प्रतीक्षास्थलमा अलपत्र परेकाहरुमा ६४ वर्षीय लिउ झिङलियान र ४४ वर्षीय यान केफेन रहेका छन्। उनीरु दुबै चीनका मानव अधिकार अभियन्ता रहेको बताइएको छ।
उनीहरु गत वर्ष सेप्टेम्बरमा थाइल्यान्डको बैंककबाट ताइवान आइपुगेका थिए। राजनीतिक कारणबाट उनीहरु चीनबाट भागेको बताइएको छ। थाइल्यान्डमा रहँदा उनीहरुले राष्ट्रसङ्घ मार्फत शरणार्थीको मान्यता पाएका थिए। तर थाइल्यान्डमा प्रहरीले पटकपटक उनीहरुसँग सोधपुछ गर्ने गरेको तथा कतिपय अवस्थामा त्यस्ता व्यक्तिलाई चीन फर्काइदिने गरेका कारण आफूहरु थाइल्यान्ड छाडेर ताइवान आइपुगेको उनीहरुले बताएका छन्।
ताइवानका अध्यागमन अधिकारीहरुले दुबैलाई ताइवान प्रवेश गर्न अनुमति दिएको थिएन। ताइवानको लोकतान्त्रिक सरकारले उनीहरुलाई चीन नै फर्काउन आनकानी गरिरहेको अवस्थामा अन्ततः मानवीय दृष्टिबाट अस्थायी अनुमती दिएको छ। उनीहरु दुबैले क्यानाडामा शरणार्थी हुन पनि आवेदन दिएका छन्।
लिउ र यानले आफूहरुलाई शरण दिएकामा ताइवान सरकारप्रति आभार व्यक्त गरेका छन्। तर उनीहरुले चीनका कारण ताइवानमाथि कुनै किसिमको समस्या निम्त्याउन नचाहेको पनि बताएका छन्।