arrow

पोलार भोर्टेक्सले अमेरिका तहसनहस, अझै जारी रहने 

logo
प्रकाशित २०७५ माघ १८ शुक्रबार
usa-cold.jpg

काठमाडौं ।अत्यधिक चिसो ‘पोलार भोर्टेक्स’ हावाका कारण संयुक्तराज्य अमेरिकाको मध्यपश्चिमी क्षेत्रमा जनजीवन अस्तव्यस्त भएको छ । त्यहाँको तापक्रम अन्टार्टिका ध्रुवीय क्षेत्रको भन्दा न्यून छ । हवाई सेवा अबरुद्ध छ भने विद्यालय र व्यवसाय बन्द भएका छन् । 

हुलाक सेवा स्थगित भएको छ भने झण्डै एक दर्जन राज्यका नागरिकलाई घरभित्रै बस्न सरकारले अनुरोध गरेको छ । धेरै वर्षपछि यति बढी चिसो अनुभव गरिएको हो । 

अमेरिकी सञ्चार माध्यमहरुले अत्यधिक चिसोका कारण कम्तीमा आठ जनाको मृत्यु भएको जनाएका छन् । आर्कटिक ध्रुवीय क्षेत्रबाट बहेको हिउँ आँधीका कारण अत्यधिक चिसो अनुभव भएको बताइएको छ । 

चिसोकै कारण अभूतपूर्व दृश्यहरु जताततै देखिएका छन् । जस्तै, मिसिगन तलाउको पानी जमेको छ भने अहोरात्र खस्ने नियागारा फल्सको पानी जमेर रोकिएको छ । 

अमेरिकाको तेस्रो ठूलो सहर सिकागोको मौसम आजसम्मकै सबैभन्दा चिसो छ । सिकागोमा गएराति नयाँ रेकर्ड कायम भएको छ, र यो अझ तल झर्ने अनुमान गरिएको छ । 

विल्डी सिटीको बिहानको तापक्रम माइनस २२ डिग्री सेल्सियस पुगेको छ । अति चिसो हावाका कारण त्यहाँ माइनस ५० डिग्री सेल्सियस तापक्रम पुगेसरह लाग्दछ । 

त्यहाँको तापक्रम अलास्काको राजधानीको भन्दा बढी छ र अन्टार्टिका भन्दा यहाँ बढी चिसो छ । 

सिकागोको ओहेयर बिमानस्थलमा पनि व्यवस्थापनको कार्य जटिल बनेको थियो । कर्मचारीलाई बाहिर १५ मिनेटभन्दा बढी समय काम गर्न सक्ने अवस्था थिएन । १८०० भन्दा बढी उडान रद्द गरिएका थिए । आम्ट्राक रेलसेवाले पनि रेलसेवा बन्द गर्नु परेको छ । 

अमेरिकी हुलाक सेवाले इन्डियाना, मिसिगन, इलेनोइस, ओहायो, आयोवा, डकोटा र नेब्रास्कामा चिठीपत्र र अरु सामान ढुवानी स्थगित गरेको छ । 

अमेरिकी राष्ट्रिय जलवायू सेवाले बिहीबारसम्म यस क्षेत्रको तापक्रम माइनस २५ देखि ४५ डिग्री सेल्सियससम्म रहने जनाएको छ । 

इलेनोइस, मिसिगन र विस्कन्सिन राज्यमा आपतकालीन उपायहरु घोषणा गरिएको छ । 

अत्यावश्यक बाहेकका अरु कर्मचारीलाई घरमै बस्न भनिएको छ । 

त्यहाँको मौसम विभागले चिसो अझै केही दिन रहने जनाएको छ । ३० करोड अमेरिकीले यसपटक पोलार भोर्टेक्सको अनुभव लिएको पनि समाचारमा जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ