arrow

आणविक कार्यक्रम विवरण खुलस्त पार्न अमेरिकी आग्रह

logo
योनहाप,
प्रकाशित २०७५ माघ १८ शुक्रबार
america-north-korea.jpg

स्टानफोर्ड, क्यालिफोर्निया। संयुक्तराज्य अमेरिका र उत्तर कोरियाबीच दोस्रो शिखर बैठक नजिकिँदै गर्दा उत्तर कोरियाका लागि अमेरिकी कुटनीतिज्ञले आणविक र क्षेप्यास्त्र कार्यक्रम बारे पूर्ण रुपमा जानकारी गराउन आग्रह गरेका छन्।

उत्तर कोरियासँग वार्ताको वातावरण तयार गर्न खटिएका अमेरिकी विशेष प्रतिनिधि स्टेफन बाइगनले आणविक निःशस्त्रीकरण कार्यक्रमलाई निष्कर्षमा पुर्‍याउन आणविक कार्यक्रमको विस्तृत विवरण आवश्यक पर्ने बताए।

स्टानफोर्ड विश्वविद्यालयमा आयोजित समारोहमा बोल्दै उनले भने, “आणविक निःशस्त्रीकरणलाई अन्तिम रुप दिनुअघि हामीले उत्तर कोरियासँग रहेका आमविनाशकारी क्षेप्यास्त्र कार्यक्रमको पूर्ण जानकारी चाहेका छौं।”

उनले वार्तामा प्रगति नभए अमेरिकासँग वैकल्पिक योजना रहेको समेत बताए, तर त्यसबारेमा उनले केही खुलाएनन्। उत्तर कोरियाले अमेरिकी मागलाई बेवास्ता गरिरहेको छ। अमेरिकालाई सबै कुरा बताए आफूहरु असुरक्षित हुने उत्तर कोरियाको भनाइ छ।

बाइगनले अमेरिकाले आणविक निःशस्त्रीकरण कार्यक्रमलाई प्रमाणयोग्य तरिकाबाट नष्ट गरेको विवरण चाहेको पनि बताए। “हामीले उत्तरका प्रमुख स्थलहरुमा अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम विज्ञहरुको पहुँच र अनुगमन संयन्त्र निर्माण गर्न चाहेका छौं। हामी उत्तर कोरियाले आणविक हतियार निर्माण गर्ने सामग्री, आणविक अस्त्र, क्षेप्यास्त्र, लन्चरहरु र अरु आम विनाशकारी हतियार नष्ट गरेको सुनिश्चित गर्न चाहन्छौं।”

संयुक्तराज्य अमेरिका र उत्तर कोरियाबीच गत वर्षको जुनमा सम्पन्न पहिलो शिखर बैठकमा आणविक निःशस्त्रीकरण सम्बन्धी अस्पष्ट सम्झौता भएको थियो। उक्त सम्झौतामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच हस्ताक्षर भएको थियो।

आगामी फेब्रुअरीको अन्त्यतिर अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता कीमबीच दोस्रो शिखर बैठक गर्ने तय भएको छ। सम्भवतः उक्त बैठक भियतनाममा हुनेछ। अर्को हप्ताको शुरुमै शिखर बैठकको मिति र स्थान घोषणा गरिने राष्ट्रपति ट्रम्पले बताएका छन्।

शिखर सम्मेलनको वातावरण तयार गर्न दक्षिण कोरियाका राष्ट्रपतिले उत्तरको औपचारिक भ्रमण गरेका छन्। उनले उत्तर कोरियाली नेता कीमलाई दक्षिण कोरिया भ्रमणका लागि औपचारिक आमन्त्रण गरिसकेका छन्।

अघिल्लो महिना उत्तर कोरियाली नेता कीम चार दिनको भ्रमणका लागि चीनको बेइजिङ आएका थिए। विश्लेषकहरुले अमेरिका–उत्तर कोरियाबीचको वार्तालाई ध्यानमा राखेर कीमले चीनको भ्रमण गरेको बातएका छन्। उक्त भ्रमणलाई दक्षिण कोरिया, जापान र अमेरिकाले पनि स्वागत गरेका छन्।

पछिल्ला दिनहरुमा दक्षिण र उत्तर कोरियाबीच अन्तर–कोरिया सम्बन्धमा विविध क्षेत्रमा सहयोगात्मक सम्बन्ध विस्तार हुन थालेको छ। दुबै कोरियाबीच रेल, सडक, हवाई र जल यातायात पुनः शुरु गर्ने सहमति भएको छ।

उत्तर कोरियाले आफूमाथि अमेरिकी अग्रसरतामा लागेका आर्थिक प्रतिबन्धहरु फुकुवा गर्न निरन्तर आग्रह गरिरहेको छ, तर त्यस्तो प्रतिबन्ध अझै फुकुवा भएका छैनन्। अमेरिकाले आणविक कार्यक्रममा सुनिश्चितता नहुँदासम्म प्रतिबन्ध फुकुवा नगर्ने अडान कायमै राखेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ