काठमाडौंबाट बाजुरा पुगेको संसदीय टोली घटनास्थल नपुगि बाटोबाटै फर्कियो
छाउपडीको व्यथा बुझ्न गएको पुगेको टोली खर्च गरेर मात्र फर्कियो
दयाराम पण्डित
प्रकाशित २०७५ माघ १९ शनिबार
520
Shares
बाजुरा । छाउपडी प्रथाबारे स्थलगत अध्ययनका लागि बाजुरा आएको प्रतिनिधिसभा सामाजिक विकास समितिका सांसदको टोली सम्वन्धीत क्षेत्रमा पुग्न नसकेरै फिर्ता भएको छ।
सांसद गणेश ठगुन्नाको नेतृत्वमा विहिवार मात्र जिल्ला सदरमुकाम मार्तडी पुगेको ६ जना प्रतिनिधिसभाका सदस्य सांसदहरुको टोली हिमपातका कारण यातायात अवरुद्ध भएपछि बडिमालिका नगरपालिकाको ढम्कने र रजातोलीमा अन्तर्क्रिया गरेर शनिवार फर्किएको छ।
अघिल्लो पौष महिनामा बुढीनन्दा नगरपालिका वडा नं ९ अंगाउपानीस्थित एक छाउगोठमा आमा छोरासहित ३ जनाको मृत्यु भएपछि प्रतिनिधिसभा सामाजिक विकास समितिले सो घटनाको स्थलगत अध्ययन गर्न सांसद ठगुन्नाको नेतृत्वमा ६ सदस्यीय टोली बाजुरा पठाएको प्रमुख जिल्ला अधिकारी चेतराज बरालले बताए।
घटनास्थलमा पुग्न नसके पनि टोलीले शनिवार पनि जिल्ला सदरमुकाम मार्तडीमा छलफल गरेको प्रमुख जिल्ला अधिकारी बरालले बताए। सामाजिक विकास समितिको टोली घटनास्थल नपुगेर जिल्ला सदरमुकामबाटै फर्किएपछि सामाजिक सञ्जालमा विरोध समेत भएको छ।
सो टोलीमा सांसदहरु गंगा चौधरी बाजुराबाट प्रतिनिधिसभाका सांसद लालबहादुर थापा, बिमला नेपाली, अम्रिता थापामगर लगायत थिए। गत पौष महिनामा छाउगोठमै आमा सहित दुइछोरा सहित धुँवाले निस्सासिएर मृत्य भएको थियो। घटनाबारे बुझ्न संसदीय समितको टोली विहिवार बाजुरा पुगेको थियो।सदरमुकाम मार्तडीबाट करिव २५ किलोमिटर दुरीमा बुढीनन्दा पाण्डसैन पर्छ।
बडिमालिका नगरपालिकको वडा नं ७ ढम्कने सम्म सानो गाडी जान्छ। त्यहाँबाट करिव १० किलोमिटर दुरीमा पाण्डुसैन पर्छ। यातायात सेवा सूचारु छैन यद्यपी मानिस आवागमन भने बन्द नभएको स्थानियले वताएका छन्। ढम्कने पुगेको संसदीय टोली लेक काट्ने हिम्मत नगर्दा वीचवाटै फर्केको हो। पाण्डुसैनका केही नागरिकलाई ढम्कने वोलाएर अन्तर्क्रिया गरेको जनेश भण्डारीको फेसबुक पेजमा उल्लेख गरिएको छ। संसदीय टोली युएनडिपीको सहयोगमा बाजुराको सदरमुकाम मार्तडी पुगेको बताईएको छ।