arrow

कतारी लाहुरे हुनुभन्दा बारीमा तरकारी फलाउनु फाईदा  

विदेशमा जानुभन्दा आफ्नै अधिनको जीवन जिउन युवाहरुलाई सुझाव

logo
दयाराम पण्डित,
प्रकाशित २०७५ माघ १९ शनिबार
foreign_employment-2.jpg

बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिका वडा नं एकका गोमा कार्कीको परिवारको दैनिकी आजभोली फेरिएको छ । विगत केहि बर्षदेखि तरकारी खेती गर्दै आएका कार्की परिवारले मनग्य आम्दानी गर्न थालेपछि अहिले दम्पती नै खटिएर लागेका छन्।

केहि बर्ष पहिला बेरोजगारी भएर बस्नु परेपछि गोमा कार्कीका श्रीमान खडक कार्की कतार समेत गए। कतारको ५५ डिग्री घाममा पसिना बगाउदा आफ्नै देशमा केहि गर्ने सोच बनाएर फर्किए लगतै केहि जग्गा किनेर तरकारी खेतीमा लागेको कार्कीको भनाई छ।

कार्की दम्पतीले घरवरिपरिकै बारीमा तरकारी खेतीगर्न थाले पछि अहिले छोराछोरी पढाउन, घरखर्च चलाउन मात्र नभई मिहेनत अनुसारको फलपनि प्राप्त हुदै गएको बताउँछन्। तरकारी खेती गरेरै तीन जना छोरा छोरीलाई बोडिङ स्कुलमा पढाई रहेका दम्पतीले विदेशमा जानुभन्दा आफ्नै देशमा केहि गर्न र आफ्नै अधिनको जीवन जिउन युवाहरुलाई सुझाव समेत दिए। 

गाउँमा टमाटर, प्याज, आलु, सागसब्जी लगायतका अर्गानिक तरकारी पाउन थालेपछि अरुलाई पनि सजिलो भएको छ भने आफूले पनि विक्रि गर्न वाहिर जानुपर्ने अवस्था नरहेको गोमा कार्कीले सुनाइन।ग्राहकलाई पुर्‍याउनै भ्याइ नभ्याई भएको बताउदै कार्कीले तरकारी खेती थप विस्तार गर्ने सोचमा रहेको सुनाइन।

तरकारी बारीमा कहिलेकाँहि किरा लाग्ने, पात पहेलो हुने र ढुसी लाग्ने समस्या भए पनि यसका लागि आफूहरुले गाईको गहुँतबाट घरेलु विषादी बनाएर छर्किने र प्राङगारिक मलको प्रयोग गर्नाले आफूले उत्पादन गरेको तरकारी स्वस्थ समेत भएको कार्की दम्पतीको भनाई छ।

कामको खोजीमा कतिपय युवाहरु भौतारी रहेका बेला बुढीनन्दा नगरपालिका वडा नं एक मटेलाका यी कार्की दम्पतीको जीवन थप सुधार हुँदैछ। तरकारी खेतीसंगै कुटानीपिसानी मिल समेत सञ्चालन गरेका कार्की दम्पतीको बार्षिक बचत डेढ लाख बढी हुने गरेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ