arrow

विवेकशील नेपालीको प्रदेश ३ समिति चयन

logo
प्रकाशित २०७५ माघ २० आइतबार
bibekshil-nepal.JPG

काठमाडौं । विवेकशील नेपाली दलले ३५ सदस्यीय प्रदेश समिति सर्वसम्मतिले चयन गरेको छ । प्रदेश ३ का सदस्यहरूको भेलाले ऐतिहासिक रूपमा प्रत्यक्ष तथा सहभागितामूलक लोकतन्त्रको अभ्यास गर्दै ३५ सदस्यीय प्रदेश समिति सर्वसम्मतिले चयन गरेको हो ।

काठमाडौँमा प्रदेश ३ का १३ ओटै जिल्लाका १२० भन्दा बढी सदस्य तथा शुभेच्छुकहरू उपस्थित भएर र मूल भेलामा उपस्थित हुन नसक्ने सदस्य विभिन्न जिल्लामा भेला भएका थिए ।  उक्त भेलाले काभ्रे जिल्लाकी कर्मा लामा तामाङको नेतृत्वमा उक्त समिति गठन गरिएको हो । समितिका उपाध्यक्ष, सचिव तथा कोषाध्यक्षमा क्रमशः ललितपुरकी अनुमा कोइराला, नुवाकोटका विमल तामाङ तथा धादिङका राम रेग्मी चयन भएका छन् ।

जर्मनीमा डेढ दशकदेखि कम्प्युटर विज्ञानकी विज्ञ भएर काम गरेकी दुई छोराछोरीकी आमा तथा प्रदेश ३ की नव निर्वाचित अध्यक्ष कर्माले उक्त भेलालाई सम्बोधन गर्दै भनिन्, "तपाईंहरू सबैले म तथा यस समितिलाई गर्नुभएको विश्वासप्रति समितिको तर्फबाट आभार व्यक्त गर्दछु । हामी सबैले मिलेर नै आगामी दिनको यात्रा तय गर्नेछौं जसको लागि तपाईंहरूको साथ तथा सहयोग पाइनेछ भन्नेमा हाम्रो समिति विश्वस्त रहेको छ ।"

समसामयिक राजनीति तथा नयाँ पार्टीको गठनको सम्बन्धमा उक्त भेलामा सदस्यहरूबाट उठेका प्रश्नहरूको जवाफ दलका अध्यक्ष उज्वल थापा, केन्द्रीय सदस्यहरू गोविन्द नारायण, रमेश पौड्याल, रन्जु दर्शना, सुबुना बस्नेत, आशुतोष तिवारीले दिएका थिए ।

यही हप्ताभित्र नै अन्य ६ प्रदेशमा पनि प्रादेशिक समितिको गठन गरिने लक्ष्य राखिएको पार्टीका केन्द्रीय सदस्य शशीविक्रम कार्कीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ