सीएमसीबाट नेपाली निर्माण व्यवसायीले भुक्तानी पाएनन्
प्रकाशित २०७५ माघ २१ सोमबार
119
Shares
काठमाडौँ । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना निर्माणको अन्तिम चरणमा पुगेर अवरुद्ध भएको र भुक्तानी समेत रोकिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको नेपाल निर्माण व्यवसायी महासङ्घले जनाएको छ ।
सम्झौता अनुसार समयमा काम गरेपछि त्यसको भुक्तानी दिनु आयोजनाको दायित्व भएपनि आयोजना निर्माणका क्रममा नेपाली सहायक निर्माण व्यवसायी, आपूर्तिकर्ता र कामदारले मुख्य निर्माण व्यवसायी इटालियाली कम्पनी सीएमसीबाट अर्बौं रूपैयाँ भुक्तानी लिन बाँकी रहेको महासङ्घले जनाएको हो ।
महासङ्घका महासचिव रोशन दाहालले वक्तव्य जारी गरी विदेशी कम्पनीले नेपालीको भुक्तानी नदिँदा स्वदेशी निर्माण व्यवसायीलाई ठूलो मार परेको उल्लेख गनुभएको छ । त्यस्तै निर्माण सामग्री आपूर्तिकर्ता, मजदुर तथा स्थानीय व्यापारीले लिएको बैंकको ऋण हर्जाना र साहुको ऋण तिर्न नसकी घरबार लिलामीमा जाने अवस्था सिर्जना भएको महासङ्घको भनाइ छ ।
सरकारले अभिभावकको भूमिका निर्वाह गरी सीएमसी कम्पनी वा अन्य स्रोतबाट भुक्तानीको प्रत्याभूति गराउन महासङ्घले विज्ञप्तिमार्फत माग गरेको छ । नेपाली निर्माण कम्पनीलाई बेवास्ता गर्दै विदेशी निर्माण कम्पनीबाट सञ्चालित ठूला निर्माण आयोजना बीचमै अलपत्र परेकाले यसबाट पाठ सिक्दै भविष्यमा यस्ता आयोजनाको काम गराउँदा स्वदेशी निर्माण व्यवसायीलाई संलग्न गराउन पनि महासङ्घले आग्रह गरेको छ ।