राष्ट्रिय सभाका अध्यक्षले एयरपोर्टमै बाँडे १०–१० हजार
प्रकाशित २०७५ माघ २२ मंगलबार
515
Shares
काठमाडौं । नेपाली क्रिकेट खेलाडीहरुले यसपटक अहिलेसम्मकै राम्रो सफलता दिलाए एक दिवसीय र टी–२० मा । नेपालले अहिलेसम्म हासिल नगरेको सफलता हासिल गर्यो । दुवै शैलीको क्रिकेटमा नेपालले सिरिज जितेर फर्कियो ।
युएईविरुद्धको खेलमा सफलता पाएपछि नेपाली टिम सोमबार स्वदेश फर्केको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना नै एयरपोर्ट गएर खेलाडीलाई स्वागत गरे ।
त्यतिमात्र होइन उनले खेलाडीहरुलाई अजबको सम्मान गरे । टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर स्वागत गर्दै उनले २१ खेलाडीलाई प्रोत्साहनस्वरूप जनही १० हजारका दरले पुरस्कृत गरे ।
तिमिल्सिनाका प्रेस संयोजक अशोक पौडेलका अनुसार उनले खेलाडीलाई थप सफलता प्राप्त गर्न हौसला स्वरुप व्यक्तिगत रुपमा उक्त प्रोत्साहन रकम उपलब्ध गराएका रहेछन् ।
त्यसैगरी राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केसवकुमार विष्टले विमानस्थलमै खेलाडीहरुलाई जनही पाँच लाख रुपैयाँ उपलब्ध गराउन सिफारिस गर्ने पत्रकारहरुलाई बताएका थिए । खेल जितेपछि पैसा बाँड्न सरकारलाई हतार भएजस्तो मात्र ।
दुई वर्षदेखि खेलाडीलाई तलव खोइ ?
राखेप सदस्यसचिव विष्टले दुई वर्षदेखि खेलाडीले तलव नपाएको बारेमा उल्लेख गरेनन् । उनलाई यसबारे अवगत नै छ । नेपाल क्रिकेट संघ निलम्बनमा परेपछि राखेप अन्तर्गत नै चलिरहेको छ नेपाली क्रिकेट टीम ।
सन् २०१६ को डिसेम्बरमा खेलाडीहरुले तलव पाएका थिए । त्यसपछि पाउन सकेका छैनन् । नेपाली राष्ट्रिय क्रिकेट टिमका म्यानेजर तथा क्रिकेट एनालिष्ट रमन शिवाकोटीले दुई वर्षदेखि खेलाडीहरुले तलव नपाएको बताए ।
एयरपोर्टमै मुख्य प्रशिक्षक जगत टमाटाले भनेका थिए –खेलाडीहरुले समयमा तलव पाउनु पर्यो । उनीहरुले तलव नपाएको थुप्रै भइसक्यो । खेलाडीको मनोबल बढाउनु पर्यो । खेलाडीले कसरी खेलिरहेको छ भनेर थाहा पाउनु पर्यो ।’
क्रिकेट संघ निलम्बन पार्नमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता टंक आङबोहाङको ठूलो हात छ । उनी क्यानको अध्यक्ष भएका बेलामा काँग्रेसको नेतृत्वमा क्यान जाने भयो भन्दै अवरोध गरे । सदस्यसचिव विष्टले राखेपबाट प्रतिनिधि नै पठाएनन् चुनावका बेलामा ।
काँग्रेस निकट चतुरबहादुर चन्दले चुनाव जितेका थिए । राखेपले बैध नबताएपछि विभिन्न चरणपछि आइसीसीले क्यान निलम्बन गर्यो । अहिलेसम्म फुुकुवा भएको छैन ।
खेलाडीलाई तलव दिन पहल गर्न नसक्नेहरु अहिले आएर चर्चामा आउन पुरस्कारको घोषणा गरेको भन्दै खेलाडीहरुले पनि आक्रोश पोखेका छन् । एक खेलाडीले भने, ‘हामीलाई नेताले युज गर्छन् ।’