arrow

गोरखा दरबारका हेलिप्याडले न्याय पाएनन्, राजाका कुल देवता रिसाए !

logo
प्रकाशित २०७२ फागुन २६ बुधबार
gorkha-darbar.JPG.jpeg
गोरखा । तत्कालीन राजपरिवारलाई गोरखा दरबारस्थित कालिका मन्दिर दर्शन गर्न दरबार छेउमा बनाइएको दुईवटा हेलिप्याड राजतन्त्र हटेको नौ वर्ष बितिसक्दा पनि प्रयोगमा आएका छैनन् । राजाको कुलदेवता कालिका मन्दिर दर्शनका लागि बर्सेनी दुईपटक हेलिकप्टर चढेर सोही हेलिप्याडमा राजासहित परिवारका सदस्य अवतरण गर्दथे ।
 
बडादसैँको पञ्चमी र चैतदसैँको अष्टमीका दिन राजा गोरखा दरबार आउँदा मात्रै यी हेलिप्याड प्रयोग गरिन्थ्यो । माथिल्लो हेलिप्याडमा राजालाई अवतरण गरिन्थ्यो भने तल्लो हेलिप्याडमा नेपाली सेनाको हेलिकप्टर अवतरण हुँदै आएको थियो । प्रयोगविहीन रहेका दुईवटा मध्ये तल्लो हेलिप्याड  नागरिकका लागि खुल्ला गर्नुपर्ने आवाज उठ्न थालेको छ । 
 
“हेलिकप्टर चढेर गोरखा दरबार, कालिका मन्दिर र गोरखनाथ गुफा दर्शन गर्न आएका भक्तजनले हेलिप्याड प्रयोग गर्न पाएनन्”, स्थानीयवासी सबिन खड्काले भने, “दरबारमा अवतरण गर्न नपाएपछि रङ्गशालामा हेलिकप्टर अवतरण गरिरहनु परेको छ ।” दर्शनार्थी बोकेको मनाङ र फिस्टेल एअरका हेलिकप्टर दरबारमा ल्यान्ड गर्न नपाएर हालै रङ्गशालामा ल्यान्ड गरेको थियो । 
 
गोरखाको स्थानीय प्रशासन र दरबार हेरचाह अड्डाले ती हेलिप्याडमा हेलिकप्टर ल्यान्ड गर्ने अनुमति नदिएका हुन् । “रङ्गशालामा पनि अब हेलिकप्टर ल्यान्ड गर्न खेलकुद विकास समितिले रोक्ने गरेको छ”, खड्काले भने । नेपाली सेनाले प्रयोग गर्दै आएको ठिङ्गुरेस्वाँराको हेलिप्याड साँघुरो छ । त्यहाँ ओर्लेर दरबार आउन पायक पर्दैन । 
 
गत वैशाखमा गएको भूकम्पपछि दरबारको हेलिप्याड प्रयोगमा आएको छैन । उद्धार र राहतमा खटिएका हेलिकप्टर त्यसबेला ठिङ्गुरेस्वाँरा र सदरमुकाम वरपरका खेतमा ल्यान्ड भएका थिए । भूकम्पको त्रासले घरमा बस्न छाडेर सदरमुकामवासी रङ्गशालामा त्रिपाल टाँगेर बसेका थिए । 
 
“भूकम्पले दरबार हल्लाएको छ । झन् कच्ची बनाएको छ”, उनले भने,  “माथिल्लो हेलिप्याड प्रयोगमा ल्याउनु हुन्न । तल्लो हेलिप्याड प्रयोगमा ल्याउँदा केही असर पर्दैन ।” दरबार हेरचाह अड्डाले निश्चित रकम लिएर हेलिकप्टर ल्यान्ड गर्न दिनुपर्ने खड्काको भनाइ छ । 
 
गोरखा दरबारका मुख्य पुजारी प्रदीपनाथ योगीले मोटरबाटो खुलेकाले हेलिप्याडको प्रयोग नभएको हुनसक्ने अनुमान गरे । “इतिहासलाई तोडमोड गर्ने र भत्काउने गर्नु हुँदैन”, उनले भनेका छन् । राजाका पालामा बनेका संरचना द्वन्द्वकालमा भत्काइएकामा उनले आपत्ति जनाए । ती हेलिप्याड विसं २०४०–०४१ मा निर्माण भएका हुन् । 
 
गोरखा दरबार हेरचाह अड्डाका प्रमुख गणेशप्रसाद भट्टराईले माथिल्लो हेलिप्याड सञ्चालनमा ल्याउन नसकिने बताए । “रूख काटेर तल्लो हेलिप्याड सञ्चालनमा ल्याउन सकिन्छ । हेलिकप्टर ल्यान्ड गर्न पुरातत्व बिभाग र प्रमुख जिल्ला अधिकारीको सिफारिस चाहिन्छ,” उनले भने । भूकम्पका कारण माथिल्लो हेलिप्याडको एक छेउ चिरा परेको र हेलिकोप्टर बस्दा हावाले दरबारको छाना उडाउने उनको भनाई छ ।



नयाँ