arrow

ट्रम्प–किम दोस्रो शिखर बैठकको मिति तय

logo
सिन्ह्वा,
प्रकाशित २०७५ माघ २६ शनिबार
trump-kim21.jpg

वासिङटन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीचको दोस्रो शिखर बैठक यही फेब्रुअरी २७ र २८ तारिखमा हुने भएको छ। भियतनामको हनोइमा किमलाई भेट्ने मिति तय भएको बारेमा ट्रम्पले शुक्रबार जानकारी दिएका हुन्। “मेरा प्रतिनिधि भर्खरै मात्र महत्वपूर्ण उपलब्धिका साथ उत्तर कोरियाबाट स्वदेश फर्किदै छन्, उनीहरुले दोस्रो शिखर बैठकको स्थान र मितिको टुङ्गो लगाएका छन्,” ट्रम्पले ट्वीटरमा लेखेका छन्।

उत्तर कोरियाका लागि आफ्ना विषेश प्रतिनिधि स्टेफान बिएगनलाई उद्धृत गर्दै उनले दोस्रो शिखर बैठक भियतनामको हनोइमा यही फेब्रुअरी २७ र २८ तारिखमा हुने जानकारी सामाजिक सञ्जालमार्फत् दिएका हुन्। उनले अर्को ट्वीटमा लेखेका छन्, “नेता किम जोङ् उनको नेतृत्वमा उत्तर कोरिया आर्थिक शक्तिराष्ट्र बन्ने छ।”

ट्रम्पले किम कति क्षमतावान छन् भन्ने बारेमा आफूले राम्रोसँग थाहा पाएको बताए। लामो समयदेखि एक अर्कालाई कठोर शत्रुका रुपमा हेर्दै आएका उत्तर कोरिया, संयुक्तराज्य अमेरिकाबीचको सम्बन्धमा गत वर्षबाट सुधार भएको हो। अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता उनबीच यसअघि गत जुनमा सिंगापुरमा पहिलो शिखर बैठक भएको थियो।

गत मङ्गलबार संसदलाई सम्बोधन गर्दा पनि राष्ट्रपति ट्रम्पले पहिलो शिखर बैठकपछिका उपलब्धिका बारेमा धेरै चर्चा गरेका थिए। उनले भने, “हाम्रा बन्दी घर फर्किएका छन्, परमाणु परीक्षण रोकिएका छन्, गएको पन्ध्र महिनामा एउटा पनि क्षेप्यास्त्र प्रहार भएको छैन र यो ठूलो उपलब्धि हो।”

उनले यदि आफू अमेरिकाको राष्ट्रपतिमा निर्वाचित नभएको भए, अहिले अमेरिका र उत्तर कोरियाका बीचमा ठूलो युद्ध हुने दाबी गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ