arrow

थाइल्याण्डकी राजकुमारीको प्रधानमन्त्री बन्ने सपना तुहियो, देशको संस्कृति विरुद्ध हुने निष्कर्ष

logo
प्रकाशित २०७५ माघ २७ आइतबार
thai-princess.jpg

काठमाडौं । थाइल्याण्डकी राजकुमारी उबोलरत्ना माहीदोलको प्रधानमन्त्री बन्ने सपना तुहिएको छ । निकै विवाद भएपछि पहिलो पटक राजसंस्थाबाट राजनीतिमा होमिने सपना चकनाचुर भएको हो । अहिलेसम्म कोही पनि राजसंस्थाबाट प्रधानमन्त्री भएका छैनन् । 

विवाद बढेपछि  राजकुमारी उबोलरत्नालाई आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी गरेको थाई रक्षा पार्टी आफ्नो निर्णयबाट पछि हटेको छ ।

थाइल्याण्डका राजा वाजिरालोङकोर्नले आगामी मार्चमा हुने प्रधानमन्त्री चुनावमा आफ्नी दिदीको अप्रत्याशित दावेदारीलाई अनुचित बताउँदै भर्त्सना गरेपछि थाई रक्षा पार्टी आफ्नो निर्णयबाट पछि हटेको हो ।

File image of Thai King Vajiralongkorn outside Bangkok's royal palace on May 14, 2018

राजदरबारबाट एक वक्तव्य सार्वजनिक गर्दै थाई राजाले आफ्नी दिदीले उम्मेदवारी दिए त्यो देशको संस्कृतिविरुद्ध हुने बताएका थिए ।

थाई रक्षा पार्टीले राजपरिवारको निर्देशनलाई मान्ने बताउँदै राजकुमारीलाई चुनावमा उठाउने निर्णयबाट पछि हटेको जानकारी दिएको छ । 

६७ वर्षीया राजकुमारी उबोलरत्ना माहीदोललाई पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राको सहयोगी पार्टीले उम्मेदवार बनाउने तयारी गरेको थियो ।

थाइल्याण्डको शाही परिवार राजनीतिबाट अलग रहने परम्परा रहँदै आएको छ । तत्कालिन राजा भूमिबोल अदुल्यादेज र रानी सिरिकितको जेठी सन्तान उबोलरतनालाई सन् १९७२ मा राजपदवी दिइएको थियो । 

उबोलरतनाले सन् १९७२ मा अमेरिकी नागरिक पिटर जेन्सेनसँग विवाह गरेपछि राजपदवी त्यागेकी थिइन् । तर जेन्सेनसँग उनको सम्बन्ध विच्छेद भएपछि थाइल्यान्ड फर्केकी थिइन् । त्यसपछि पनि उनलाई राजपरिवारकै सम्मानित सदस्यको सम्मान दिइएको छ । 

फेरी पनि राजपरिवारकै सदस्य भएको व्यक्ति दलिय राजनीतिमा संलग्न हुनु थाई संस्कृति र मान्यताअनुसार उपयुक्त नहुने राजाले शुक्रबार बेलुका बताएका थिए । 

शाही दरबारद्धारा जारी वक्तव्यमा राजपरिवारका सदस्यहरु राजनीतिमा सक्रिय हुनु संविधान, परम्परा, संस्कृति र संवैधानिक राजतन्त्रको मान्यता विपरित हुने उल्लेख गरिएको छ । 

आउदो मार्च २४ का दिन हुने आम निर्वाचनमा प्रधानमन्त्रीका लागि उम्मेदवारी दिने प्रस्तावलाई राजकुमारी उबोलरतनाले शुक्रबार स्विकार गरेकी थिइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ