arrow

वित्तीय विश्लेषकहरु पनि संगठित भए, फाल्गुन ३ मा उद्घाटन

logo
प्रकाशित २०७५ माघ २९ मंगलबार
bishleshak_association.jpg

काठमाण्डौ । नेपालमा वित्तिय विश्लेषकहरु पनि संगठित भएका छन् । मंगलबार काठमाडौंमा भएको भेलाबाट विश्लेषकहरु एसोसियसन अफ इन्भेष्टमेन्ट प्रोफेसनल नामबाट संगठित हुने निर्णय गरेका हुन् । संस्थाले यो संस्थाको औपचारिक उद्घाटन भने फाल्गुन ३ गते एक विशेष कार्यक्रमकाबीच गर्ने निर्णय गरेको छ । सो संस्थाको उद्घाटन र हाल क्रियाशिल चार्टर फाइनान्सियल एनालिष्ट (सीएफए)हरुको सम्मेलन समेत सोही दिन गर्ने निर्णय भएको छ।

एशोसियसनका अध्यक्ष डा. मनोज शाहीले देश तथा विदेशमा रहेका वित्तीय विश्लेषकहरु, विभिन्न सरोकारवाला नियामक निकायका प्रतिनिधि, विद्यार्थी र अन्य प्रतिनिधिहरुको साथमा फाल्गुन ३ गते राजधानीमा सम्मेलन गर्ने जानकारी दिए । सम्मेलनमा १३० जना सहभागी रहने शाहीले दाब गरेका छन् । 

नेपालमा समग्र सामाजिक हितको लगानी  र पुँजी बजारमा नैतिक व्यावसायिकताको अध्ययन तथा अनुसन्धान गर्ने उदेश्यले खोलीएको एशोसियसनको औपचारिक उद्घाटन भने नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले गर्ने कार्यक्रम रहेको छ । उद्घाटन कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत लगायतका साथै विदेशी विज्ञहरु समेत सहभागी हुनेछन् ।

हाल यसमा सीएफए पूरा गरेका एनालिष्टहरु १२ जना मात्र छन् भने ३१७ विद्यार्थी अध्ययरत छन् । अन्र्तराष्ट्रिय क्षेत्रसँग सम्बन्ध राखेर वित्तीय विश्लेषण र यससँग सम्बन्धित विभिन्न कामहरु अघि बढाउन लागेको अध्यक्ष शाहीले जानकारी दिए । गत बर्षको अप्रिलमा दर्ता भएको एशोसियसन गैर नाफामुलक संस्था हो । संस्थामा चारवटा समिति रहेका छन् । 

एशोसियसनका अनुसार, पहिलो एडभोकेसी कमिटि हो जसले कानुन नीति नियम तर्जुमा गर्न सरोकारवालासँग छलफल गरेर नीति निर्माणकर्तालाई सुझाव दिनेछ भने दोस्रो युनिभर्सिटी आउटरिच हो, जसले सीएफए कार्यक्रम तथा विश्वविद्यालयको पाठ्यक्रमको समय सापेक्ष सुधार गर्दै अन्र्तराष्ट्रिय स्तरको बनाउने र स्थानीय वित्त व्यवस्थापनको अध्ययन अध्यापनको गुणस्तर बढाउँन नीतिगत वकालत तथा प्राविधिक सहायता हस्तान्तरण गर्न सघाउनेछ ।  

तेस्रो मेम्बर भ्यालु हो जसले सदस्यमा व्यावसायीक नैतिक आचरणको विकास गर्दै बजार विकासमा अग्रणी संस्थाको रुपमा सघाउँनेछ । यसले करियर काउन्सिलिङ र रोजगारदातामा व्यवसायिक महत्वको जानकारी अभिबृद्धि पनि गराउनेछ । सञ्चालन तथा बजेट जसले बार्षिक सञ्चालन र योजना निर्माण गरी संस्थाको नियमित सञ्चालनमा सघाउने एशोसियसनले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ