arrow

के के हुन् सरकारी आम्दानीका स्रोतहरु र करका विशेषता ?

logo
प्रकाशित २०७५ फागुन १ बुधबार
value-added-tax-image-001.jpg

काठमाडौं । विभिन्न देशहरुमा सरकारी आम्दानीका स्रोतहरु सीमित हुन्छन् । तर, देश अनुसार सरकारी आम्दानीको किसिम भने मुलुकको अर्थ व्यवस्था र आर्थिक नीति अनुसार भिन्न भिन्न हुने गर्दछ । सामान्य तथा हरेक मुलुकमा सरकारी आम्दानीको मूल स्रोत भनेको दुईवटा नै हुन्छ एउटा कर राजश्व र अर्काे गैर कर राजश्व । 

सरकारी आम्दानीलाई अर्थशास्त्रीय भाषामा सार्वजनिक आयले चिन्ने गरिन्छ । सार्वजनिक आयको प्रमुख स्रोत मध्ये कर एउटा प्रमुख स्रोत हो । कुनैपनि देशका नागरिकहरुले सरकारलाई कुनैपनि प्रतिफल वा प्रत्यक्ष लाभको आशा नराखी गर्ने अनिवार्य भुक्तानी नै कर हो । यसमा केही प्रतिफलको आशा त राखिएको हुन्छ तर त्यो प्रतिफल प्रत्यक्ष नभई अप्रत्यक्ष हुन्छ । यसै विषयमा अमेरिकी अर्थशास्त्री सेलिगमेनले भनेका छन् कि कर जनताद्वारा सरकारलाई तिरिएको त्यो अनिवार्य भुक्तानी हो । जसबाट करदाताले कुनै प्रत्यक्ष लाभको आशा गरेको हुँदैन । 

कर र गैरकरको विषयमा प्रवेश गर्नु पहिले करका विशेषताहरु के के हुन्छन् भन्नेबारे जानकारी राख्नु सान्दर्भिक हुनसक्छ । मुलुकमा जति पनि ठूला ठूला विवादहरु सिर्जना हुने गरेका छन् ती अधिकांश विवादहरु करका कारणले नै सिर्जित भएका हुन्छन् । आफूले कमाएको सीमित हिस्सा सरकारलाई अनिवार्य तिर्नुपर्नेमा त्यो हिस्सा नतिरेरै पनि धेरै व्यवसायीहरु मालामाल भएको यथार्थ पनि हाम्रा सामु स्पष्टै छन् । यस्तै करको विषयमा गरिएका विभिन्न परिभाषाहरुका अनुसार हामी भन्न सक्छौं कि कर एउटा अनिवार्य योगदान हो, कर तिर्नु व्यक्तिगत दायित्व हो, कर तिर्ने व्यक्तिको सरकारी सेवासँग कुनै सम्बन्ध हुँदैन अर्थात् कर निर्धारणको क्रममा सरकारले कुनै व्यक्ति विशेषको लागि कानून बनाउँँदैन र यसरी जनताबाट उठाईएको कर कसैको विलासिताको लागि भन्दा पनि समाजको हितमा लगाईन्छ । 

यसरी सैद्धान्तिक रुपमा करको प्रयोग समाजको हितमा लगाईन्छ भन्ने विशेषता रहेको भएपनि व्यवहारिक रुपमा भने यस्तो देखिँदैन । त्यसैले प्रशासकहरुले गरेका हरेक पदको दुरुपयोग सम्बन्धी विषयले चर्चा पाउने गर्दछ । उदाहरणको लागि विलासी गाडी खरीद, बढी सुविधा उपभोग जस्ता विषयहरु सैद्धान्तिक रुपमा गलत रहेकोले पनि यस्ता समाचारहरुले समाजमा प्राथमिकता पाउने गर्दछन् । 

सरकारको कर राजश्व शीर्षक अन्तर्गत् सरकारले उठाउने मूल्य अभिबृद्धि कर, अन्तशुल्क, आयकर, भन्सार शुल्क जस्ता शुल्कहरु पर्दछ भने गैरकर राजश्व शीर्षकमा धेरै शीर्षकहरु रहेका हुन्छन् । 

गैरकर राजश्वमा कुन् कुन् स्रोत पर्दछ ?
सरकारले हरेक वर्ष कर राजश्व र गैरकर राजश्व गरी दुई किसिमका राजश्वहरु संकलन गर्ने गरेको छ । गैरकर राजश्व तर्फ सरकारले आफैं उत्पादित बस्तु तथा सेवाको मूल्यद्वारा प्राप्त रकम गैरकर राजश्व शीर्षकमा पर्दछ । यसलाई गैरकर भित्र यसलाई व्यवसायिक आम्दानीको शीर्षकमा व्याख्या गर्ने गरिएको छ । यो शीर्षकमा सरकारले दिएको सेवाको शुल्क, विल तथा विजकहरु आदि व्यवसायिक आम्दानी अन्तर्गत् पर्दछ । 

शुल्क या दस्तुर 
सार्वजनिक भलाईका लागि सरकारले प्रदान गर्ने विभिन्न सेवाबाट शुल्क या दस्तुर उठाउने गर्दछ । जस्तै सरकारी काममा हुने विभिन्न सिफारिसहरुको लागि सरकारले सीमित शुल्क उठाउने गर्दछ । त्यस्ता शुल्क तथा दस्तुरहरु यो शीर्षकमा पर्दछ । यसका अलावा लाईसेन्स शुल्क, अस्पताल आदिमा सेवा दिँदा उठाईने शुल्क पनि यही शीर्षकमा पर्दछ । 

उपहार तथा अनुदान 
कुनैपनि महामारी, युद्ध र संकटकालमा जनताले सरकारलाई विभिन्न अनुदान तथा उपहार दिने गर्दछ । जस्तो कि २०७२ सालमा आएको विनाशकारी भूकम्पको समयमा जनताबाट प्रधानमन्त्री राहत तथा उद्दार कोषमा जनताले सहयोग गरेका थिए । सो पनि सरकारको गैरकर राजश्वको स्रोत हो । 

दण्ड तथा जरीवाना
सरकारले शान्ति सुरक्षा कायम गर्ने समयमा विभिन्न दण्ड तथा जरिवानाहरु लगाउने गरेको छ। त्यस्तै, भ्रष्टाचारको आरोपीहरुले तिर्ने धरौटीको जफत या अन्य धरौटीको जफत, विभिन्न सेवा प्रदायक कम्पनीहरुलाई तिराईने दण्ड जरिवाना समेत यही शीर्षकमा पर्दछ । 

सार्वजनिक ऋण 
सरकारले कहिलेकाहीँ आफ्नो आम्दानीको स्रोत सार्वजनिक ऋणलाई पनि बनाउने गर्दछ । वास्तवमा सार्वजनिक ऋणलाई सार्वजनिक आयको रुपमा परिभाषित त गरिँदैन । तर, सरकारले बजेट तयार पार्ने क्रममा सार्वजनिक ऋणलाई समेत सार्वजनिक आम्दानीको रुपमा विश्लेषण गर्ने गर्दछ । सार्वजनिक ऋण अन्तर्गत् सरकारले आन्तरिक तथा बाह्य दुबै किसिमका ऋण यो शीर्षकमा पर्दछ । वाह्य ऋण अन्तर्गत् विभिन्न देशहरुसँग लिने ऋण र विश्व बैंक, अन्तराष्ट्रिय मुद्रा कोष आदिबाट उठाईने ऋण यो शीर्षकमा पर्दछ । आन्तरिक ऋण तर्फ भने ऐच्छिक या अनिवार्य ऋण समेत उठाउन सक्छ । 

पत्र मुद्रा 
मुद्रा तीन किसिमको हुन्छ । एउटा सिक्का मुद्रा, दोस्रो पत्र मुद्रा र तेस्रोमा बैंक मुद्रा । सिक्काको प्रयोगबाट पैसाको कारोबार हुने मुद्रा सिक्का मुद्रा हो भने नोटको माध्यमबाट कारोबार हुने पत्र मुद्रा हो । सरकारले निश्चित विधि पुर्याएर पत्र मुद्रा जारी गरिन्छ भने त्यो पनि सरकारको आय अन्तर्गत् पर्दछ । 

प्राकृतिक साधनहरु 
पर्यटकहरुको आगमनबाट प्राप्त हुने आय लाई यस शीर्षकमा राखिन्छ । पर्वतारोहण, नदी नाला, खनिज पदार्थ आदिको दृश्ष्यावलोकन आदिबाट कमाईहुने पैसा पनि गैरकर राजश्व अन्तर्गत् पर्दछ ।

सरकारी सम्पत्ति 
सरकारको नाममा रहेका विभिन्न सम्पत्तिहरुको विक्रीबाट आउने रकम पनि सरकारको गैरकर राजश्व शीर्षकमा प्राप्त हुन्छ । यस्ता आम्दनी अन्तर्गत् सार्वजनिक संस्थान, सार्वजनिक जग्गा र सरकारी सम्पत्तिहरु रहने गर्दछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ