arrow

२२ अर्ब थप हुँदा मुलुक अझै ६३ अर्ब घाटामा, मूल्यबृद्धि बढ्यो

logo
प्रकाशित २०७५ फागुन १ बुधबार
nepal-rastra-bank.jpg.jpeg

काठमाडौं । मुलुक आजको दिनमा कूल ६३ अर्ब घाटामा रहेको छ । बुधबार नेपाल राष्ट्र बैंकले जारी गरेको आर्थिक वर्षको पहिलो ५ महिनाको आर्थिक स्थितीको विश्लेषण अनुसार मुलुक घाटामा गएको देखिएको हो । 

अघिल्लो महिनाको आर्थिक स्थितीको विश्लेषण सहितको रिपोर्टमा मुलुकको शोधनान्तर स्थिति रु.८५ अर्ब ३२ करोडले घाटामा रहेको थियो । यसमा यो महिनामा सरकारले १९ अर्बको शोधनान्तर बढाएर कूल ६३ अर्ब ६८ करोड घाटामा सीमित गराएको छ । यो अघिल्लो आर्थिक वर्षको यही समयको तुलनामा भने झण्डै ५७ अर्बले बढी हो । अघिल्लो आर्थिक वर्षको यही समयमा सरकार मात्रै झण्डै ६ अर्ब घाटामा थियो । 

राष्ट्र बैंकको सो तथ्यांक अनुसार २०७५ पुस महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति४.६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो
मुद्रास्फीति ४.० प्रतिशत रहेको थियो । यसलाई तुलना गर्दा यो वर्ष ०.६ प्रतिशतले मूल्य बृद्धि भएको छ । 

यो समीक्षा अवधिमा आयातको वृद्धिदर ३०.५ प्रतिशत र निर्यातको वृद्धिदर १०.३ प्रतिशत रहेको छ । अर्काे तर्फ विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ३०.२ प्रतिशत र अमेरिकी डलरमा १७.६ प्रतिशतले बढेकोछ भने बैंकिङ्ग कारोबारमा आधारित सरकारी खर्च ७.० प्रतिशतले घटेको र राजस्व संकलन २४.२ प्रतिशतले बढेको छ ।

विस्तृत मुद्राप्रदाय ६.४ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा विस्तृत मुद्राप्रदाय १९.१ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन ७.७ प्रतिशतले र निजी क्षेत्रतर्फको कर्जा १२.७ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर २०.२ प्रतिशत र कर्जाको वृद्धिदर २३.४ प्रतिशत रहेकोछ । 

यो महिनाको उपभोक्ता मुद्रास्फीति तर्फ काठमाडौं उपत्यकामा ५.२ प्रतिशत, पहाडमा ४.९ प्रतिशत, हिमालमा ४.५ प्रतिशत र तराईमा ४.० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति क्रमशः २.९ प्रतिशत, ४.४ प्रतिशत, ५.५ प्रतिशत र ४.४ प्रतिशत रहेको थियो ।  

वैदेशिक व्यापार तर्फ आर्थिक वर्ष २०७५÷७६ को ६ महिनामा कुल वस्तु निर्यात १०.३ प्रतिशतले वृद्धि भई रु.४५ अर्ब ४१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १३.५ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ १८.४ प्रतिशत र अन्य मुलुकतर्फ २.७ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फ २९.५ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा पोलिष्टर यार्न, जस्तापाता, जडीबुटी, ऊनी गलैंचा लगायतका वस्तुको निर्यात बढेको छ भने अलैची, रोजिन, छाला, जुत्ता तथा चप्पल, आयुर्वेदिक औषधीका सामान लगायतका वस्तुहरुको निर्यात घटेको छ । 

समीक्षा अवधिमा विप्रेषण आप्रवाह ३०.२ प्रतिशतले वृद्धि भई रु.४४३ अर्ब ३६ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.५ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ३.८ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा चालु खाता घाटा विस्तार भई रु.१५२ अर्ब १६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा रु.९७ अर्ब ७८ करोड रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको ६ महिनामा ९५ करोड रहेको चालु खाता घाटा समीक्षा अवधिमा १ अर्ब ३३ करोड ३६ लाख पुगेको छ । 

समीक्षा अवधिमा पूँजीगत ट्रान्सफर रु.६ अर्ब ८९ करोड र प्रत्यक्ष वैदेशिक लगानी रु.४ अर्ब ३६ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पूँजीगत ट्रान्सफर रु.१० अर्ब ७ करोड र प्रत्यक्ष वैदेशिक लगानी रु.१४ अर्ब ३३ करोड रहेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ