arrow

शतिघाटमा पुट्टार र डमरा जोड्ने झोलुङ्गे पुल बन्दै

logo
सीता डोटेल,
प्रकाशित २०७५ फागुन ५ आइतबार
kaligandaki.jpg

पाल्पा । गण्डकी प्रदेश र ५ नम्बर प्रदेश जोड्ने गरि कालीगण्डकी नदीको तनहुँ पुट्टार र पाल्पा नवलपरासी पूर्व खण्डको संगमस्थल डमरमा झोलुङ्गे पुल निर्माण हुने भएको छ । तनहुँको घिरिङ्गसुन्धारा १ पुट्टार र पाल्पाको निस्दी १ बाकामलाङ्ग डमरा जोड्ने गरि बन्ने पुलको प्राविधिक सहितको टोलीले स्थलगत अबलोकन अनुगमन गरेको छ ।

तनहुँको दुर्गम गाउँपालिका घिरिङ्गसुन्धारालाई बजार उन्मुख गराउन यस पुलले महत्वपुर्ण भुमिका खेल्नेछ । हिराचन-डि.एल.टी. जे.भी. निर्माण कम्पनीले जिम्मा पाएको यो पुलको सम्झौता यही महिना हुनेछ । भ्याट बाहेक २ करोड ९ लाखको लगानीमा निर्माण हुन लागेको झोलुङे पुल ३ सय १९ मिटर लम्वाईको हुनेछ ।

पहाडको समथर भाग रामपुर–पुट्टार संभावना बोकेको ठाउँ हो,नेपाल सरकारका पूर्व सचिव शान्त बहादुर श्रेष्ठले भने–कालीगण्डकी उपत्यकाको एकीकरण र स्वास्थ्य, शिक्षा मार्फत यस क्षेत्रका बस्तीलाई यो पुलले जोड्नेछ । छिमेकीको सम्बन्ध बनेको डमरा पुट्टारका बासिन्दालाई नदी वारिपारी गर्न घण्टौं हिडेर स्याउलीबजारबाट जानुपर्ने बाध्यता छ ।  

स्थानीय विकास मन्त्रालय अन्तर्गत रहेको सस्पेन्सन ब्रिज डभिजन कार्यालयसँग निर्माण कम्पनीले सम्झौता गरेपछि तत्काल पुल निर्माणको काम शुरु हुने श्रेष्ठले बताए।  डि.एल.टी. कन्ट्रक्सन प्रा.लि.का सञ्चालक तिर्खाराम खड्काका अनुसार अब २ हप्ताभित्र पुल निर्माण सम्झौता भई निर्माण कार्य थालिनेछ । प्राविधिक सहितको टोलीले अध्ययन गरेको छ,खड्काले भने–असहज छैन हामी सम्झौतासँगै कामलाई अगाडी बढाउनेछौ ।

कालीगण्डकीको मनमोहक समथर फाँट रहेको पुट्टारको यही पुल नजिकै काठमाडौं युनिर्भसिटी धुलिखेल सँगको समन्वयमा कोरियाली सहयोग नियोग (कोइका)को प्राविधिक सहयोगमा शिक्षण अस्पताल आउट सेन्टर निर्माणको प्रक्रिया अगाडी बढेको छ । त्यसैगरि सिटीईभिटी अन्तर्गत बन बिज्ञान डिप्लोमा अध्ययनको पढाई यसैबर्षदेखि पुट्टारमा सञ्चालित छ । पर्यटन मन्त्रालयको सहकार्यमा कालीगण्डकी नदीको राम्दी–देवघाट र्‍याफ्टिङको विश्राम स्थलका रुपमा लिइएको पुट्टारमा दरै समुदायको होमस्टे विकासले पनि यहाँको महत्व बढाएको छ । यहाँका दरै समुदायले पर्यटन प्रर्बद्धन र आफ्ना मौलिकता झल्काउन दरैं होमस्टे सञ्चालनमा ल्याउने तयारी गरेका छन् ।
 
गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र घिरिङ्गसुन्धारा गाउँपालिकाको समन्वयमा पुट्टारको आवासीय क्षेत्रलाई जग्गा एकीकरणको माध्यमबाट व्यवस्थित बस्ती विकास अन्तर्गत नमुना वस्ती निर्माण थालिएको गाउँपालिकाका अध्यक्ष रण बहादुर रानाले बताए । प्रदेश र कालीगण्डकी उपत्यकामा व्यवस्थित बस्ती विकास अबधारणा ल्याउने यो पहिलो स्थानीय तह हो । घिरिङ्गसुन्धारा गाउँपालिकाले यसको अध्ययनको लागि ५ लाख रुपँया बिनियोजन समेत गरेको छ । पुट्टारको माथिल्लो क्षेत्र जोड्ने गरि रामपुर नगरपालिका १ स्याउलीबजारमा डवल लेनको मोटरेवल पुलको निर्माण कार्य शुरु भैसकेको छ । बिजुली बत्ती पनि नपुगेको पुट्टारमा शिक्षा, स्वास्थ्य र पर्यटन हवको रुपमा विकास हुदै गएको छ । यस क्षेत्रको विकासले एकीकृत रामपुर उपत्यकाको अबधारणामा टेवा पुग्नेछ ।

धार्मिक, पुरातात्विक, ऐतिहासिक र पर्यटकीय कालीगण्डकी नदी किनारको नगर उन्मुख  कालीगण्डकी उपत्यकाको समग्र विकासमा यस्ता विकास निर्माणले निकै महत्व दिने निस्दी गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष पुर्ण बहादुर खाँणले बताए । शिक्षा, स्वास्थ्य देखि लिएर प्राविधिक पढाई हुने र नदीले छुट्याएको वारिपारी भुभागलाई यस्ता पुल र विकास निर्माणले छोएमा दु्रत गतिमा यस भु-भागको विकास हुने खाँणले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ