arrow

पार्टी भ्रष्ट भएको भन्दै नेकपा छोड्नेहरु बढे, पाल्पा रिब्दीकोटमा १ सय २० जना कांग्रेसमा प्रवेश

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७५ फागुन ६ सोमबार
palpa-congress-party-prabesh-samman.jpg

पाल्पा । सत्तारुढ दल नेकपा भ्रष्ट भएको भन्दै सो दलमा क्रियाशिल कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस पाल्पाले सञ्चालन गरेको क्रियाशिल सदस्यता वितरण तथा संगठन विस्तार अभियानमा नेकपा सहित विभिन्न पार्टीबाट काँग्रेसमा प्रवेश गर्नेहरु बढेका हुन्। 

नेपाली कांग्रेस रिब्दीकोटले सञ्चालन गरेको पहिलो चरणको अभियानको समापनमा १ सय २० जना व्यक्तिहरु नेकपा, राप्रपा लगायतका पार्टीहरुबाट कांग्रेसमा प्रवेश गरेको अभियानका संयोजक तथा महासमिति सदस्य हिमालदत्त श्रेष्ठले जानकारी दिए । 

जनतामा भरोसा र आश्वासन दिएर सत्तामा पुगेपनि जनताको लागि नभएर केहि थान भ्रष्टहरुका लागि मात्र कामगरेको भन्दै नेकपाका कार्यकर्ताहरुले असन्तुष्टी जनाए । राप्रपा लगायतका पार्टीले पनि भरोसा दिलाउन नसकेपछि ति पार्टीमा क्रियाशिलहरु काँग्रेसमा प्रवेश गरेका श्रेष्ठले बताए । 

काँग्रेसले माघ १ गते देखि सञ्चालन गरेको अभियानमा पार्टीमा लामो समयसम्म योगदान गरेका, पार्टीका पूर्व सभापति, ७० वर्ष माथिका पुराना नेताहरुलाई समेत सम्मान गरेको छ । 

वडा १ ख्यामा एक कार्यक्रमको आयोजना गरी काँग्रेसले चार सय जना व्यक्तिहरुलाई सम्मान गरेको हो । सोही अवसरमा पार्टी प्रवेश गर्नेहरुलाई प्रदेश सांसद तथा नेकाका जिल्ला सभापति वीरबहादुर रानाले स्वागत गरेका छन् । 

कार्यक्रममा स्वागत गर्दै सांसद रानाले कम्युनिष्टहरुको काम जनता ढाट्ने, छल्ने, मिठा मिठा सपना देखाउने भएकाले अब जनताले कम्युनिष्टलाई राम्रैसँग चिनेको बताए । उनले दुई तिहाईको कम्युनिष्ट सरकार भएपनि जनचाहना, जनअपेक्षा अनुसार काम नभएको, अरवौ रुपैयामा भष्ट्राचार बढेको, केन्द्रदेखी प्रदेशसम्म कमिशनतन्त्र बढेकाले अब काँग्रेस पार्टी रोज्नुको विकल्प नरहेको बताए । 

कार्यक्रममा नेकाका क्षेत्रीय सभापति रामबहादुर कार्की, प्रदेश सभाका उम्मेदवारहरु राम कार्की, माधव नेपाल, विद्यार्थी विभाग प्रमुख सचिन विष्ट, नेकाका रिब्दीकोट सभापति रामचन्द्र पाण्डे, सचिव इन्द्र पाण्डे, तरुण दलका जिल्ला सचिव गोपाल गैरे, महिला संघकी कान्त अधिकारी,वडा अध्यक्ष लक्ष्मी गैरे लगायतले आ आफ्ना धारणा राखेका थिए । 

काँग्रेस पाल्पाले गाउँ प्रशिक्षण, आम भेला, पुराना नेता तथा कार्यकर्ताहरुलाई सम्मान गर्दै, युवाहरुलाई जागरुक अभियान सञ्चालन गरेको छ । अब गाउँ, गाउँ, घर घरमा कांग्रेस, टोल टोल टोलमा कांग्रेसको कार्यालय, चोक चोकमा कांग्रेसका गतिविधि जस्ता अभियान लिएर पाल्पाका १० गाउँपालिकाको ८१ वटै वडामा नेपाली कांग्रेस पाल्पाले गतिविधीलाई सक्रिय बनाएको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ