arrow

के भारतले पाकिस्तानसंग क्रिकेट नखेल्ने नै हो त ? किन खेल–नीतिबाट टाढा ?

फेरि भारत र पाकिस्तानबीच किन बनेन सम्बन्ध ?

logo
हाम्राकुरा डेस्क,
प्रकाशित २०७५ फागुन ११ शनिबार
India-pakistan.jpeg

काठमाडौं। एउटा सिद्धान्त नै छ कि खेलकुदले विश्वलाई जोड्छ। खेलकै माध्यमबाट आपसमा भएका दुस्मनी मेटिन्छन्। देशहरुबीच आपसमा मारामार भए पनि खेलले गर्दा उनीरुलाई नजिक ल्याइदिन्छ। अर्थात् खेल राजनीतिले गर्र्दा बिग्रेको सम्बन्ध बनाउँछ। तर यो पुरानो फर्मुला कलियुगमा सत्प्रतिशत पूरा नहुने पनि हुन सक्छ । भएका उदाहरण धेरै छन्।

उत्तर र दक्षिण कोरियाबीचको टकरावका समयमा पनि ओलम्पिक, एसियाडजस्ता खेलमा सामेल हुन्थे। अमेरिका र रुसबीच जतिसुकै युद्धको स्थिति भए पनि खेलकुदका क्रममा आपसमा भिड्न चुकेनन्। अमेरिका र चीनबीचको सम्बन्धले पनि केही हदसम्म पानी बार्ने स्थिति रहँदासमेत जमेर खेल्दथे र मित्रभाव प्रकट गर्दथे। वास्तवमा खेलकुद खेलेर मात्र सकिँदैन। त्यसले जोड्ने शूत्र लामो समयसम्म टिकिरहन्छ। 

फेरि किन भारत र पाकिस्तानबीच बनेन सम्बन्ध ?
जम्मू–कश्मीरको पुलवामामा भएको आतंककारी आत्मघाती हमलामा ४६ भारतीय सुरक्षाकर्मी मारिएपछि भारतीयहरु निकै आक्रोशितमात्र भएका छैनन् भावनामा पनि डुब्न थालेका छन्। उनीहरुले कुनै पनि हालतमा भारत पाकिस्तानसंग क्रिकेट खेल्दै नखेल्ने स्थितिमा पुगेका छन्। खेलाडीहरुले नै कुनै पनि खेलसंग भारतको सम्बन्ध पाकिस्तानसंग जोडिन नहुनेमा छन्। पुलवामा घटनापछि एक दिवसीय विश्वकप क्रिकेटमा समेत भारतले पाकिस्तानसंग नखेल्ने जनाएको छ। 

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआइले त अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीसंग आतंक फैलाउने देशसंग क्रिकेट नभएको राम्रो भनिसकेको छ। यद्यपि बीसीसीआइले पाकिस्तानसंग खेल्ने–नखेल्ने बारेमा सरकारको सल्लाहपछिमात्र निर्णय लिने बताएको छ।

विश्वकपमा भारत पाकिस्तानसंग नखेल्दा के हुन्छ ? 
आगामी मे ३० देखि जुलाई १४ तारिखसम्म इंगल्याण्डमा विश्वकप हुँदैछ। १० टिमबीच हुने विश्वकपमा सबै टिमले आपसमा ९–९ खेल खेल्नेछन्। शीर्ष चारमा रहने टिम सेमिफाइनलमा पुग्नेछन्। यस्तोमा भारतले पाकिस्तानसंग नखेल्दा पनि सेमिफाइनलमा पुग्ने दावी भारतीयहरुको छ। भारतले ५ जुनमा पहिलो खेल दक्षिण अफ्रिकासंग खेल्दैछ। दोस्रो खेल ९ जुनमा अष्ट्रेलियासंग खेल्नेछ। तेस्रो खेल १३ जुनमा न्यूजिल्याण्डसंग, चौथो खेल २२ जुनमा अफगानिस्तानसंग, २७ जुनमा वेष्ट इन्डिजसंग, ३० जुनमा इंगल्याण्डसंग, २ जुनमा बंगलादेशसंग र ६ जुलाईमा श्रीलंकासंग खेल्नेछ। भारतीय विश्लेषकहरु भारतले पाकिस्तानसंग नखेले पनि सेमिफाइनलमा पुग्नसक्ने दावी गरिरहेका छन्।

पछिल्लो दुई वर्षको भारतको प्रदर्शन हेर्दा भारत सेमिफाइनलमा पुग्ने लगभग पक्का छ। पाकिस्तानसंग नखेल्दा पनि भारत सेमिफाइनलमा पुग्नेछ।आइसीसी र्याङ्किङ अनुसार इंगल्याण्ड पहिलो तथा भारत दोस्रो स्थानमा छ। पाकिस्तानसंग नखेले पनि आफूभन्दा तलका र्याङ्किङमा रहेका टिमलाई हराउँदा भारतको १४ अंक हुन्छ। तर रमाइलो त के भने यदि पाकिस्तानले पनि शीर्ष चारमा स्थान बनाए सेमिफाइनलमा भारतको भिडन्त पाकिस्तानसंगै हुन सक्नेछ। 

सेमिफाइनलमा पुग्न भारतलाई कम्तीमा १२ अंक चाहिन्छ। राउन्ड रोबिन लिगका आधारमा हुने खेलमा हरेक खेलको विजेताले २ अंक पाउने छ।शीर्ष चारमध्ये शीर्ष र चौथो स्थानमा रहने टिमले तथा दोस्रो र तेस्रो स्थानमा रहने टिमले सेमिफाइनलमा खेल्नेछन्।

खेल हुनु नै उत्तम 
भारत र पाकिस्तानबीचको खेल केवल खेलमात्र हैन राजनीति पनि हो। सिंगो विश्वका कान ठाडा हुने गर्दछन्। चासो बढी नै हुन्छ। यस्तोमा भारतले खेल छोड्नु भनेको उसका खेलाडीहरुको फ्यान फलोइङ पनि घट्नु हो। यहाँनेर क्रिकेटका भगवान सचिन तेन्दुलकरको भनाइ उपयुक्त हुन्छ। सचिनसंगै क्रिकेटका दिग्गज सुनील गवास्करले भारतले पाकिस्तानसंग खेलेर जित हासिल गर्नुपर्ने धारणा राखेका छन्। 

अर्थात् आक्रोशलाई जितमा बदल्नुपर्नेमा उनीहरुको जोड छ। तर सौरभ गांगुली, हर्भजन सिंह जस्ता क्रिकेटरहरुले भने पाकिस्तानसंग खेल्न नहुने बताइरहेका छन्। पाकिस्तानी क्रिकेटरहरु खासै बोलेका छैनन्। बीसीसीआइ बलियो छ। आइसीसीले बीसीसीआइलाई बाइपास गरेर जान सक्ने अवस्था देखिँदैन। 

तर पाकिस्तानले केही तलमाथि गर्यो भने आइसीसीले पाकिस्तानी क्रिकेट बोर्ड पीसीबीलाई निलम्बन गर्न सक्छ। तसर्थ पाकिस्तान यो विषयमा अहिलेसम्म मौन छ। तर जे भए पनि खेल त्याग्नुभन्दा हुनु नै वेश हो । क्रिकेटले भारत पाकिस्तानबीचको सम्बन्ध पुनः सुधारिएकै वेश हो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ