arrow

आरविआईले भारु प्रतिबन्ध फुकाउन मानेन, नेपाली व्यवसायीहरुलाई यस्तो समस्या

logo
प्रकाशित २०७५ फागुन १२ आइतबार
NRB_RBI.jpg

काठमाडौं । भारतीय केन्द्रीय बैंक आरविआईले १०० भन्दा माथिको भारतीय रुपैयाँमा लगाएको प्रतिबन्ध हटाउनको लागि नेपाल राष्ट्र बैंकले गरेको आग्रहलाई बेवास्ता गरेको छ । एक महिना अघि नेपालको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले सो प्रतिबन्ध फुकुवा गर्न आग्रह गर्दै पठाएको पत्रको अहिलेसम्म कुनैपनि जवाफ नआएको हो । 

बैंकका विदेशी विनिमय विभागका प्रमुद भीष्मराज ढुंगानाले एक महिना अघि पठाएको पत्रको कुनैपनि जवाफ नआएको प्रतिक्रिया दिए । उनले सो प्रतिबन्ध फुकुवाको आग्रह गरि पठाईएको पत्रको कुनैपनि प्रतिक्रिया नआएको बताएको छ । तर, आरविआईका अधिकारीहरुले भने यस विषयमा कुराकानी गर्दा यो केन्द्रीय बैंकको बोर्ड बैंठकले निर्णय गरेपछि मात्रै फुकुवा हुने भन्दै यो फुकुवाको बारेमा अहिले नै केही बताउन नसक्ने प्रतिक्रिया दिएका छन् । 

यसरी भारतीय ठूला नोटहरुको प्रतिबन्धले व्यवसायीहरु भने मर्कामा परेका छन् । भारतीय पर्यटकहरुको सेवा दिने होटल तथा भारतीय पर्यटकहरुले सामान खरीद गर्दा भारतीय नोट नै दिने र त्यसको विकल्पमा नेपाली नोट नरहेको बताउँदा होटलहरुलाई समस्या भएको हो । कतिपय होटलहरुले भने यस विषयमा राष्ट्र बैंकका अधिकारीहरुसँग गुनासो समेत गर्ने गरेको बैंकका अधिकारीहरु बताउँछन् । 

लामो समयदेखि नेपालमा भारु नोट चलिरहेकोले नेपाल आउने पर्यटकहरुले भारु नै बोकेर आउने गरेका छन् । नेपालीहरुलाई भारु नोटको प्रतिबन्धबारे जानकारी भएपनि नेपाल आउने भारतीय पर्यटकहरुले यस बारेमा जानकारी नपाउँदा उनीहरु भारु मात्रै बोकेर आउने गर्दछन् । विशेषगरी होटलमा बसेर पछि भुक्तानी गर्ने बेलामा भारतीय रुपैयाँमात्रै देखाउँदा आफूहरु समस्यामा पर्ने गरेको होटल व्यवसायीहरु बताउँछन् । 

राजनीतिक स्वार्थ पूर्तिको लागि भारतले लगाएको यो प्रतिबन्ध राष्ट्र बैंक मात्रैको पहलले भने खुल्ने सम्भावना नरहेको अधिकारीहरु बताउँछन् । गत माघ ६ गते नेपाल राष्ट्र बैंकले १०० भन्दा माथिका नोटहरु कारोबार र ओसार पसारमा समेत प्रतिबन्ध लगाएको छ । आईतबार जारी गरेको एक परिपत्रमा भारतीय रुपैयाँ २००, ५०० र २००० को नोटको कारोबार, ओसारपसार र साथमा राख्न समेत नपाउने व्यवस्था गरेको हो । 

भारतीय रिजर्भ बैंकले नेपाल राष्ट्र बैंकसँग १०० भन्दा माथिका नोटहरु सटही नगर्ने निर्णय गरेपछि मंसिर २४ गते बसेको मन्त्रिपरिषद बैठकले २ सय, ५ सय र २ हजार दरका भारतीय नोटको कारोबारमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । 

त्यसयता पनि राष्ट्र बैंकले भारतीय रिजर्भ बैंकसँग पटक पटक यस विषयमा छलफल गरेको भएपनि आरविआईले त्यो प्रतिबन्ध नहटाएपछि नेपाल राष्ट्र बैंकले पनि विहीबार बैंक तथा वित्तीय संस्थाहरुलाई परिपत्र जारी गरि यस्तो ठूला नोटका भारु प्रतिबन्ध लगाउन भनेको हो । 

राष्ट्र बैंकको विदेशी विनिमय विभागका प्रमुख भिष्मराज ढुंगानाले जारी गरेको परिपत्रमा एकीकृत इ।प्रा। परिपत्र १र२०७४ को बुँदा १।१ अन्तर्गत १।११।६ को खण्ड क संशोधन गरी त्यस्तो व्यवस्था गर्दै यस्तो व्यवस्था गरेको जनाएको हो । सो नियम अनुसार २००, ५०० र २००० दरका नोटहरु नेपालमा अवैध हुने ठहर गरेको हो । 

उता, सुदूर पश्चिमका सीमा क्षेत्रका मानिसहरु भने रोजगारीबाट कमाएर ल्याएको पैसा साँट्नको लागि भारतीय बजारमा नै जान बाध्य भएका छन् । पाँचसय र दुई हजारका भारतीय नोट जिल्लामा नसाटिदा यहाँका बासिन्दा भारतका विभिन्न शहर जाने गरेका छन् । भारतबाट मजदुरी गरी फर्केकाहरु दुई हजार र ५०० भारतीय नोट नसाटिदा मारमा परेका छन् । “भारु नोट भारतमै गएर साट्ने योजना बनाएको छु,” केआइसिंह गाउँपालिका– ५ रानागाउँका सुरेन्द्रविक्रम शाहीले भने।

गाउँघरमा भारु दुई हजारको नेपाली दुई हजार रुपैयाँका दरले व्यापारीले साट्ने गरेका छन् । लाखौँ भारतीय रुपैयाँ साट्न स्थानीयवासी भारत जाने गरेका छन् । साथमा उनीहरुले सामान कारोबार समेत सीमाको भारतीय बजारबाट गर्ने गर्दा व्यापार समेत सीमा पारी नै मौलाउने गरेको छ । पैसाको स्रोत र गाउँपालिकाको सफिारिश बोकेर नोट साट्न भारत जाने गरेको जोरायल गाउँपालिका– ५ गड्सेराका खेम पातलीले भने।सहायक प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले भारतमा भारु साट्न जाँदैछु भनेर कसैले पनि सिफारिशका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन नदिएको बताए । उनले भने, “सिफारिश कसैले मागेको छैन, निवेदन आएमा नियमसङ्गत गरेर पठाउँछौँ ।”
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ