arrow

सिमेन्ट उद्योगमा १९ अर्ब बराबरको लगानी प्रतिबद्धता

logo
रमेश लम्साल,
प्रकाशित २०७५ फागुन १२ आइतबार
hetuda-cement.jpg

काठमाडौं। चालु आर्थिक वर्षको सात महिनामा सिमेन्ट उद्योगमा मात्रै निजी क्षेत्रले रु १९ अर्ब ६६ करोड ४५ लाख १२ हजार ५०० बराबरको लगानी गर्ने प्रतिबद्धता जनाएका छन्। सरकारले अगाडि सारेको आर्थिक समृद्धिको नारालाई पूरा गर्ने र एक हजार ७५० जनालाई रोजगारी दिने लक्ष्यका साथ उद्योग स्थापनाको प्रतिबद्धता आएको हो।

उद्योग विभागमा दर्ता भएका उद्योगको आधारमा पछिल्लो समय निजी क्षेत्र सिमेन्ट उद्योग स्थापनाका लागि आकर्षित भएको र ठूलो मात्रामा लगानी गर्न तयार भएको देखिएको छ। खाना पकाउने ग्याँसको व्यवसाय गर्दै आएका उद्योगी शिवप्रसाद घिमिरेसहित नयाँ उद्योगीले समेत सिमेन्ट उद्योगमा लगानी गर्ने इच्छा देखाएका हुन्।

विभागको विवरण अनुसार पछिल्लो दिनमा झापाको तोपगाछीमा ए प्लस सिमेन्ट उद्योग स्थापना गर्ने भन्दै उद्योगी गुणराज खत्रीले आवेदन दिएका छन्। कूल पूँजी रु ४० करोड ८० लाख बराबरको लगानी गर्ने लक्ष्य राखिएको छ। सो उद्योगले छ हजार मेट्रिक टन पिपिसी र छ हजार मेट्रिक टन ओपिसी सिमेन्ट उत्पादन गर्ने र ६० जनालाई रोजगारी दिने छ।

यस्तै स्याङजाको वालिङ–१ मा अथर्व सिमेन्ट उद्योग स्थापना गर्ने गरी उद्योगी पिताम्बर गैरेले विभागमा उद्योग दर्ता गराएका छन्। उद्योगमा कूल पूँजी रु एक अर्ब ५० करोड बराबरको लगानी हुनेछ। सो उद्योगले २५० जनालाई रोजगारी दिनेछ। उद्योगले एक लाख ५० हजार मेट्रिक टन ओपिसी, एक लाख ५९ हजार मेट्रिक टन पिपिसी र ८८ हजार ९८० मेट्रिक टन क्लिङ्कर उत्पादन गर्ने छ।

कपिलवस्तुको शिवराज नपा–८ मा उद्योग स्थापना गर्ने गरी उद्योगी राहुलकुमार अग्रवालले सिनर्जी सिमेन्ट प्रालिले विभागमा उद्योग दर्ता गराएका छन्। सो उद्योगमा रु नौ अर्ब ७८ करोड ५८ लाख ९५ हजार बराबरको लगानी गरिनेछ। उद्योगले ३९९ जनालाई रोजगारी दिनेछ। विभागमा प्रस्तुत गरिएको विवरणअनुसार उद्योगले आठ लाख ३८ हजार २०० मेट्रिक टन ओपिसी र तीन लाख ३० हजार मेट्रिक टन पिपिसी सिमेन्ट उत्पादन गर्नेछ।

यस्तै हाल सञ्चालनमा रहेको मारुती सिमेन्ट उद्योगले सिरहा गोलबजार–९ मा सोही उद्योगको नयाँ शाखा उद्योग स्थापना गर्ने भएको छ। सो उद्योगले रु दुई अर्ब ५७ करोड ८८ लाख २५ हजार बराबरको लगानी गर्नेछ। उद्योगले ५८७ जनालाई रोजगारी दिनेछ। उद्योगबाट छ लाख ६० हजार मेट्रिक टन ओपिसी र १३ हजार २०० मेट्रिक टन क्लिङ्कर उत्पादन गर्नेछ।

यस्तै उद्योगी देवीप्रसाद मैनालीले काबेली सिमेन्ट इन्ड्रस्ट्रिज विभागमा दर्ता गराएका छन्। झापा हल्दिबारीमा उद्योग स्थापना गर्ने तयारी गरिएको छ। उद्योगले रु ५० करोड लगानी गर्ने भएको छ। कूल ७६ जनालाई रोजगारी दिने लक्ष्य राखेको उद्योगले एक लाख ५० हजार मेट्रिक टन ओपिसी र एक लाख मेट्रिक टन पिपिसी सिमेन्ट उत्पादन गर्नेछ।

यस्तै ग्याँस व्यवसायी शिवप्रसाद घिमिरेले पनि गरुड सिमेन्ट उद्योग स्थापना गर्ने तयारी गरेका छन्। कूल ३७८ जनालाई रोजगारी दिने लक्ष्यसहित सो उद्योगमा व्यवसायी घिमिरेले कूल पूँजी रु चार अर्ब ८९ करोड १७ लाख ९२ हजार ५०० बराबरको लगानी गर्ने तयारी गरेका छन्। उद्योगले छ लाख २३ हजार ७०० मेट्रिक टन ओपिसी सिमेन्ट उत्पादन गर्ने लक्ष्य राखिएको छ।

सरकारले लिएको नीतिका कारण नेपाल सिमेन्ट उत्पादनमा आत्मनिर्भर बनेको छ। सो उद्योगमा रु दुई खर्बको लगानी भएको र वार्षिक रु एक खर्ब ५० अर्बको कारोवार हुँदै आएको सिमेन्ट उत्पादनमा नेपाल यसै वर्षदेखि आत्मनिर्भर भएको हो। निजी क्षेत्र प्रवेश भएको झण्डै १६ वर्षको अन्तरालमा आत्मनिर्भरमा पुगेको बताउँदै नेपाल सिमेन्ट उत्पादक सङ्घका अध्यक्ष ध्रुवराज थापाले अर्को वर्षदेखि नेपाल सिमेन्ट निर्यात गर्ने अवस्थामा पुग्ने बताए।

संसारमा सन् १८४५ देखि सिमेन्ट उत्पादन शुरु भए पनि नेपालमा सन् १९६० देखि मात्रै उत्पादन शुरु गरिएको थियो। नेपालमा हिमाल सिमेन्टले पहिलो उत्पादन शुरु गरेको थियो। निजी क्षेत्रबाट भने १६ वर्ष पहिलेदेखि मात्रै लगानी शुरु गरिएको हो। नेपालमा हाल ५६ सिमेन्ट उद्योगले उत्पादन गर्दै आएका छन्। उदयपुर र हेटौँडा सिमेन्ट उद्योग सरकारी स्वामित्वको हो।

नेपालमा गत वर्ष ९० लाख टन सिमेन्ट उत्पादन भएको र झण्डै त्यति नै खपत भएको छ। नेपालका उद्योगको क्षमता भने एक करोड ३० लाख टन रहेको छ। विश्वमा सिमेन्टको कूल उत्पादन चार अर्ब २० करोड टन रहेकामा सबैभन्दा बढी चीनले सिमेन्ट उत्पादन गर्दै आएको छ। कूल उत्पादनको ५५ प्रतिशत चीनले उत्पादन गर्ने गरेको छ। खानी तथा भूगर्भ विभागका अनुसार १६८ उद्योगलाई उत्खनन अनुमति दिइएको र ४० वटालाई उत्खनन अनुमतिको प्रक्रियामा रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ