'आर्टिफिसियल इन्टेलिजेन्सले अमेरिकामा कल सेन्टरको एक लाख जागीर खोस्छ '
प्रकाशित २०७५ फागुन १३ सोमबार
892
Shares
काठमाडौं । पछिल्लो समय व्यापक मात्रामा कृत्रिम बौद्धिकता (एआई)मा विश्वका ठूला कम्पनीहरुले लगानी गरिरहेका छन् । अमेरिकाको चौथो सबैभन्दा ठूलो बैंक सिटीग्रुपले पनि वार्षिक ८ अर्ब डलर यो क्षेत्रमा लगानी गरिरहेको छ । यो बैंकको विश्वभर २ लाख ९ हजार कर्मचारी छन् ।
यो बैंकका सीईओ माइकल कार्बेट एआईको प्रयोगले आगामी दिनमा अमेरिकाको कल सेन्टरमा काम गर्ने एक लाख मानिसको रोजगारी जान सक्ने बताएका छन् ।
कार्बेटले एआईबाट कम्पनीको कामको तरिकामा पनि ठूलो फरक आउनसक्ने बताएका छन् । साथै उनले उपभोक्ताको अनुभव पनि निकै राम्रो बन्ने विश्वास व्यक्त गरे । यसबाट ग्राहकको धेरैजसो प्रश्नको उत्तर दिनु सजिलो हुन्छ । यसबाट मानव श्रमको आवश्यकता पनि निकै कम हुनेछ ।
उनले यसको अर्थ मानिसलाई निराश गर्नु भने नरहेको बताए । दुई वर्षअघि सिटिग्रुपका पूर्व सीईओ विक्रम पण्डितले पाँच वर्षमा एआईले सिटीग्रुपको एक तिहाइ रोजगारी खोस्ने बताएका थिए ।
यो अनुमान बैंकको १० वर्षको पूर्वानुमानमा आधारित थियो । एआईबाट रोजगारी खोसिनसक्ने भन्दै नडराउन विशेषज्ञले आग्रह गरेका छन् । उनीहरुले एआईले मानिसको जीवन सहज बनाउँदै लगेको बताएका छन् । उनीहरुका अनुसार मानिसको बुद्धिको स्थान एआईले लिन नसक्ने बताएका छन् ।
त्यसका साथै एआईको विस्तारले पनि केही क्षेत्रमा रोजगारी सिर्जना गरिरहेको विश्लेषकहरुले बताएका छन् ।