arrow

एन्फाबाट मान्यता नपाएको दाफिन्स क्यामरुनले जित्यो तिलोत्तमा गोल्डकप, आधिकारिकता खोज्ने प्रयास जारी

उपाधिमै ह्याट्रिक, लगानी गरेका नेपाली क्लबहरु हेरेको हेर्यै 

logo
प्रकाशित २०७५ फागुन १४ मंगलबार
dafins-football-club.jpg

बुटवल । अखिल नेपाल फुटबल संघ एन्फाबाट मान्यता नपाएको दाफिन्स एफसी क्यामरुनले तिलोत्तमा गोल्डकप फुटबलको उपाधि जितेको छ ।

क्यामरुनबाटै आएको टिम नभए पनि नेपालमा उपलब्ध खेलाडीहरु भेला पारेर बनाइएको विदेशी खेलाडीहरु सम्मिलित क्लबले आधिकारिकता नपाए पनि उपाधि भने जित्दै आएको छ । 

वलिष्ठ खेलाडीहरुको जमात रहेको टिमले निरन्तर फुटबल खेलिरहेको छ । यसबारेमा केही दिनअघि एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले आफूहरुले यो क्लबलाई मान्यता नदिएको बताएका थिए । 

एन्फा प्रवक्ता किरण राईले हामकुरासंग भने, ‘बुझ्ने काम भइरहेको छ, हामीले क्यामरुन फुटबल संघलाई पनि चिठी लेखेका छौं, जवाफ आएपछि मात्र यसबारेमा भन्न सक्छौं, शंका लागेरै हामीले चिठी लेखेका हौं ।’

तर आधिकारिकताको पत्र बिना नै दाफिन्सले मोफसलका खेलहरुमा भने भाग लिँदै आएको छ । यस सिजनमा मात्र मनकामना, बुढासुब्बा गोल्डकप र तिलोत्तमा गोल्डकप जितिसकेको छ । 

उपाधिमाथि ह्याट्रिक गर्ने क्रममा दाफिन्स क्लबले सोमबार २१औँ संस्करणको तिलोत्तमा गोल्डकप जितेको हो । 

फाइनल खेलमा नेपाल पुलिस क्लबको टोलीलाई सडन डेथमा ६–५ ले पराजित गर्दै उपाधि चुम्न सफल भएको हो । 

देवीनगरस्थित फिफा टेक्निकल सेन्टरको मैदानमा भएको खेलमा निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसकेपछि ट्राइब्रेकरमा धकेलिएको थियो ।

ट्राइब्रेकरमा पनि खेल बराबरी भयो । पुलिसका तेज तामाङको प्रहारलाई दाफिन्सका गोलरक्षकले रोकेपछि ‘सडनडेथ’मा दाफिन्सले उपाधि जित्न सफल भएको हो । 

प्रतियोगितामा जीतसँगै विजयी टिम दाफिन्सले रु आठ लाख ८० हजार नगद, ट्रफी र सिल्ड हात पारेको छ भने उपविजेता पुलिस क्लबले रु पाँच लाख ५० हजारमा चित्त बुझाएको छ । 

 यसपालि खप्तड कप उचालेको पुलिस क्लबले लगातार दुई वर्ष दोस्रो स्थानमा चित्त बुझाउनु परेको छ । 

पुलिसका रबि पासवान बेस्ट फरवार्ड, हेम तामाङ बेस्ट मिड फिल्डर, विक्रम धिमाल बेस्ट डिफेण्डर, अनन्त थापाले उत्कृष्ट प्रशिक्षक र उत्कृष्ट गोलरक्षक दाफिन्सका प्रिसो घोषित भए । सबैले रु २५ हजारका दरले पुरस्कार पाए । 

यस्तै प्रतियोगितामा रुपन्देही–११ का आशिष गुरुङ ‘क्यान अफ द टुर्नामेन्ट’ घोषित भए । उनले एक थान स्कुटर पुरस्कार प्राप्त गरे ।

राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव केशवकुमार बिष्ट लगायतका अतिथिहरुले पुरस्कार, ट्रफी तथा प्रमाणपत्र प्रदान गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ