arrow

आशाको त्यान्द्रो लिएर नेपाल कुवेतविरुद्ध मैदानमा 

logo
प्रकाशित २०७५ फागुन १५ बुधबार
nepal-woman-cricket.jpg

काठमाडौँ । अन्तर्राष्टिय क्रिकेट काउन्सिल आइसिसी टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत एशिया क्षेत्र छनोटमा नेपाल अघिल्लो चरणमा पुग्ने आशाको त्यान्द्रो लिएर बुधबार बिहान मैदानमा उत्रदै छ । नेपालको भिडन्त पुछारको कुवेतसंग हुँदैछ । तेस्रो स्थानको नेपालका लागि कुवेतमाथि जित हासिल गर्नु सामान्य नै हो । 

तर थाइल्याण्डमा जारी उक्त छनोट प्रतियोगिताको विजेता टोलीमात्र अघिल्लो चरणमा पुग्ने भएकाले नेपालले आफूले जितेरमात्र पुग्नै छैन ।  

प्रतियोगितामा पाँच खेल खेलेको नेपालले चार खेलमा जित तथा एउटा खेलमा हार ब्यहोर्दै आठ अङ्क जोडेर तालिकाको तेस्रो स्थानमा छ । आयोजक थाइल्याण्ड भने पाँचवटामै जित निकाल्दै १० अङ्कका साथ शीर्ष स्थानमा रहेको छ । 

नेपालका लागि थाइल्याण्डसँगको हार अघिल्लो चरण प्रवेशका लागि बाधक बन्ने देखिन्छ । ‘क्वालिफायर’मा युएईले पनि पाँच खेलमा चार खेल जित्दै आठ अङ्क जोडेको छ ।

नेपाल थाइल्याण्डसँग पराजित भएको थियो भने युएइ नेपालसँग पराजित भएको थियो । समान अङ्क भए पनि रनरेटको आधारमा युएई दोस्रो र नेपाल तेस्रो स्थानमा छन् । 

अब लिगको अन्तिम खेलमा थाइल्याण्ड र युएईबीच खेल हुनेछ । अब नेपाल छनोट हुने सम्भावना भनेको गणितीय हिसाबमा मात्र बाँकी छ ।

थाइल्याण्ड र युएईबीच हुने खेल युएईले झिनो अन्तरले जित्न सके र नेपालले कुवेतलाई फराकिलो अन्तरमा पराजित गर्नसके मात्र नेपाल अघिल्लो चरण पुग्नेछ । 

नेपालले कुवेतलाई फराकिलो अन्तरले पराजित गर्ने अनि थाइल्याण्डलाई पनि युएईले पराजित गरेमा तीन टोलीको समान १० अङ्क हुनेछ । यस्तो अवस्थामा राम्रो रनरेट हुने टोली पहिलो बन्दै टि–२० र ५० ओभर दुवैको ग्लोबल क्वालिफायरमा पुग्नेछ । 

यस्तो अवस्थामा नेपालले बुधबार हुने खेलमा कुवेतलाई फराकिलो अन्तरले हराउनेपर्ने हुन्छ भने थाइल्याण्डको हारको कामना पनि गर्नुपर्नेछ । 

छनोटमा नेपाल, थाइल्याण्ड, युएई, मलेशिया, कुवेत, चीन र हङकङले खेलिरहेका छन् । एशियाली राष्ट्रका लागि सन् २०२० मा हुने टि–२० विश्वकप र २०२१ मा हुने ५० ओभरको विश्वकपका लागि शुरुआती खुड्किलोको रूपमा रहेको यो प्रतियोगिता रहेको छ । 

नेपालले कुवेतसंग नेपाली समयअनुसार ८ः४५ बजे खेल्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ