चार दशकपछि त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको पूर्णरुपमा मर्मत सुरु हुदै, चार अर्ब २७ करोड खर्चने तयारी
चिनियाँ कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इन्जिनीयरिङलाई ठेक्का
प्रकाशित २०७५ फागुन १५ बुधबार
988
Shares
काठमाडौ। सरकारले आउने चैत १८ गतेदेखि मुलुकको एक मात्र त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको पूर्णरुपमा मर्मत गर्नका लागि चार अर्ब २७ करोड खर्चने भएको छ। चार दशकदेखि सामान्य मर्मत गरेर सञ्चालनमा ल्याई राखिएको विमानस्थलको धावनमार्गको कालोपत्र पूर्णरुपमा फेरेर नयाँ बनाउनका लागि चार अर्ब २७ करोड खर्चने संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयले जनाएको छ। यस कार्यका लागि चिनियाँ कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इन्जिनीयरिङलाई ठेक्का दिइएको छ।
चिनियाँ कम्पनीले चार अर्ब २७ करोड लागतमा विमानस्थलको धावनमार्ग मर्मतको जिम्मा पाएको हो। करीब ७० प्रतिशतभन्दा बढी निर्माण सामग्री जम्मा भएपछि नयाँ कालोपत्रको काम शुरु हुनेछ। धावनमार्गको कालोपत्र सामान्य रुपमा उप्कदासमेत हवाइजहाज उडान तथा अवतरणमा समस्या हुँदै आएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले मुलुकको प्रतिष्ठासग जोडिएको विमानस्थललाई समस्यारहित बनाउने लक्ष्यका साथ सरकारले पूर्णरुपमा मर्मत गर्न लागेको बताए।
मन्त्रालयले तयार पारेको कार्यतालिकाअनुसार चैत १८ गतेदेखि धावनमार्गको स्तरोन्नतिका लागि नयाँ कालोपत्रको काम शुरु गरी जेठमा सम्पन्न गर्ने लक्ष्य लिएको छ। ठेकेदार कम्पनीले करीब ९० दिनभित्र पूर्णरुपमा नयाँ कालोपत्र गरिसक्ने जनाएको छ। विमानस्थल मर्मतको काम असाध्यै जोखिमपूर्ण काम भएकाले दैनिक दश घण्टा मात्रै सञ्चालनमा ल्याइनेछ। दश घण्टा विमानस्थल बन्द गरेर मर्मत गरिनेछ।
विशेषगरी रातको समयमा धावनमार्ग भत्काएर मर्मत गर्ने र विमान उडानका लागि योग्य बनाइनेछ। गएको जेठ ७ गतेदेखि दैनिक २१ घण्टा सञ्चालनमा आएको हो। विशेषगरी जहाज अवतरण हुने मुख्य विन्दु कोटेश्वरतर्फको धावनमार्गमा बढी समस्या देखिएकोले यसै स्थानमा पहिले मर्मत गर्ने योजना बनाइएको छ।
विमानस्थलमा हाल दैनिक एक सय भन्दा बढी अन्तर्रा्ष्ट्रियसहित सरदर चार सय उडान हुने गरेको छ। विमानस्थलमा समस्या आउदा लामो समय जहाज आकाशमा ‘होल्ड’ गर्नुपर्ने र इन्धनको नाश तथा यात्रुले समेत तनाव भोग्न परेको छ।
गौचरण विमानस्थलको नामबाट विसं २००६ देखि नागरिक उड्डयन सेवा शुरु गरेको हो। विसं २०१२ मा तत्कालीन राजा महेन्द्रले आफ्ना पिता त्रिभुवनको नामबाट विमानस्थलको नाम राख्न लगाएको जानकारहरु बताउछन।