arrow

नेपाल–भारत विज्ञ समूह पञ्चेश्वरमा सहमति जुटाउन असफल

logo
प्रकाशित २०७५ फागुन १७ शुक्रबार
pancheshwor.JPG

काठमाडौं । नेपाल–भारतको विज्ञ समूह पञ्चेश्वर बहुद्देश्यीय जलविद्युत् आयोजना निर्माणका सम्बन्धमा रहेका विवाद टुंगो लगाउन असफल भएको छ ।

विज्ञ समूहको दुई दिनसम्म राजधानीमा बसेको बैठकले पानीको उपलब्धता र उपयोग, आयोजनाको क्षमता निर्धारण लगायतका विषयमा सहमति जुटाउन नसकेको हो ।

विस्तृत परियोजना प्रतिवेदन डिपिआर निर्माणका क्रममा रहेका कूल १६८ विवादमध्ये ६४ विषयमा सहमति भए पनि प्रमुख ठानिएका विषयमा अझै छलफल जरुरी भएको भन्दै निर्णयमा पुग्न नसकिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता प्रविणराज अर्यालले जानकारी दिए । 

बैठकमा नेपालले पानीको उपयोग, बाँडफाँट, आयोजनामा हुने लगानी, विद्युत् उत्पादन क्षमता, सिँचाइ, बाढी नियन्त्रणलगायतका विषयमा थप छलफल जरुरी रहेको भन्दै निर्णयमा पुग्न नसकिएको बताइन्छ ।

नेपालले दोधारा र चाँदनीमा महाकाली सन्धिअनुसार नै पानी उपलब्ध गराउनुपर्ने विषयमा आफ्नो धारणा राखेको थियो । भारतीय पक्षले भने सो विषयलाई आयोजना निर्माणपछिको अवस्थामा उपलब्ध गराउने बताएको थियो । 

सन् २०१७ मा विवादका प्रमुख विषयमा सहमति खोज्न विज्ञ समूह गठन भएको थियो । विगतमा छलफल भए पनि कुनै निर्णयमा पुग्न सकिएको थिएन । विगतमा थाती रहेका प्रमुख विषय यसपटक पनि थाती नै रहेको छ ।

आगामी बैठकमा विवादका प्रमुख विषयलाई थप छलफलका आधारमा सम्बोधन गर्ने निर्णयमा पुगिएको सहभागीले जानकारी दिएका छन् । लामो समयदेखि डिपिआरमै अल्झिएको आयोजनामा देखिएका समस्या समाधान गरी अघि बढाउने प्रयासस्वरुप विज्ञ समूहबीच छलफल भएको हो । 

छलफलमा दुवै देशका १५–१५ जनाको सहभागिता थियो । जल तथा ऊर्जा आयोगको सचिवालयको आयोजनामा भएको तेस्रो बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व देवेन्द्र कार्की र भारतकोतर्फबाट विज्ञ समूहका प्रमुख महसुस हुसेनले गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ